[Updated]
One person died and five were injured in a clash at Bafal, Kathmandu Metropolitan City. The clash erupted during the argument to build a shop at Tahachal near a Foreign Employment Office.
ताहचलको वैदेशिक रोजगार कार्यालको छेउमा पसल राख्नेसम्बन्धी विवादमा भएको ‘ग्याङफाइट’मा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । आक्रमणमा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको हो । ताहचलको वैदेशिक रोजगार कार्यालयमा श्रम भर्न जानेहरूका लागि बिमा गर्ने तथा फर्म भर्ने पसल सञ्चालन गर्ने तयारीमा थिए श्रेष्ठ । तर, साथीहरूले नै गत शुक्रबार बेलुका खुकुरी हानेर उनको हत्या गरे । योजनाबद्ध रूपमा भेट्न बोलाएर उनको हत्या भएको प्रहरीले जनाएको छ ।
घटनामा अन्य चारजना घाइते भएका छन् । घाइतेमध्ये विकास गुरुङ र विवेक खत्री अस्पतालमा उपचार गरारहेका छन् । अन्य दुईजना सामान्य घाइते भएका छन् ताहचलमा बिमाको एजेन्टका रूपमा काम गर्ने सागर सुवेदी ‘खैरे’को समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ । सुवेदी र उनका सहयोगीहरू राम दर्जी र लक्ष्मण दर्जीविरुद्ध मृतकका परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् । हत्यामा संलग्न तीनैजना फरार छन् ।
छलफल गर्न बोलाएर आक्रमण
सुवेदी र श्रेष्ठबीच केही हप्तायता नै झगडा हुँदै आएको थियो । गत शुक्रबार साँझ सुवेदीले अब मिलेर काम गर्ने भन्दै सल्लाह गर्न सोल्टी होटलपछाडिको सडकमा श्रेष्ठलाई बोलाएका थिए । श्रेष्ठ आफ्ना साथीहरूसहित मोटरसाइकलमा गए । सुरुमा उनीहरूबीच सामान्य धक्काधक्की भएको थियो । तर, सुवेदीको समूह आक्रमण गर्ने योजनासहित खुकुरी नै बोकेर गएका थिए । विवाद चलिरहेकै वेला उनीहरूले खुकुरी निकालेर आक्रमण गरेका थिए । श्रेष्ठलाई टाउकोमा खुकुरीले आक्रमण गरेका थिए । उपचारको क्रममा शनिबार बिहान उनको मृत्यु भएको हो । सुवेदी समूहका दुईजनालाई पक्राउ गरी अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । फरार रहेका सुवेदी गुन्डागर्दीमा समेत संलग्न व्यक्ति भएको प्रहरीले जनाएको छ ।
झगडाको जड संस्थागत लुट
वैदेशिक रोजगार कार्यालय, ताहचलमा दैनिक वैदेशिक रोजगारीमा जाने करिब ५ सय युवाहरू श्रम स्वीकृतिका लागि जानुपर्छ । त्यसका लागि अनिवार्य रूपमा बिमा गरेर आवश्यक कागजपत्रसहित फर्म भर्नुपर्ने हुन्छ । बिमा गराउन र फर्म फर्न वैदेशिक रोजगार कार्यालयवरपर एक सयभन्दा धेरै पसल सञ्चालित छन् । फर्म भर्ने नाममा उनीहरूले एक हजारसम्म लिने गरेका छन् । कालिमाटी वृत्तका एक प्रहरी अधिकारीका अनुसार स्थानीय पसलेहरूले चर्काे मूल्य लिने गरेका छन् । कार्यालय खुल्ने दिनमा दैनिक सबैले गरेर पाँच लाखसम्म कमाउने गरेका छन् । विदेश जाने युवायुवतीसँग चर्काे मूल्य असुल्ने भएकाले एकअर्का पसलबीच विवाद छ । राजुले छेउमा पसल राख्न खोजेपछि आफ्नो व्यापार घट्ने ठानेर नै त्यसरी योजनाबद्ध रूपमा आक्रमण गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । स्थानीय एजेन्टले वैदेशिक रोजगार कार्यालयका कर्मचारीसँग समेत मिलेर ठगी गर्दै आएका छन् ।
Update....
कर्तव्य गरी ज्यान मारी फरार रहेका ललितपुर, बागडोल बस्ने काभ्रेको दोलालघाट–९ सापिङका २४ वर्षीय सागर सुवेदीलाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले काठमाडौं कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँबाट बिहीबार पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–१३ ताहाचलस्थित सोल्टी होटल पछाडिको सडकमा बाफल बस्ने राजु श्रेष्ठलाई यही भदौ ८ गते धारिलो हतियार प्रहार गरी घाइते बनाएकोमा वीर अस्पताल ट्रमा सेन्टरमा उपचारको क्रममा १० गते मृत्यु भएको घटनामा संलग्न सुबेदी हालसम्म फरार रहेका थिए ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी वृत्त कालीमाटी पठाएको छ ।
सोल्टीमोडस्थित बैदेशिक रोजगार विभागमा बैदेशिक रोजगारको लागि जानु पूर्व लिनुपर्ने श्रम स्वीकृती निकाल्ने विचौलिया तथा दलालहरूका दुई भिन्न सहयोगीहरू राजु श्रेष्ठ तथा सागर सुवेदीको समूह विचको पुरानो विवादले गर्दा घटना घटेको खुल्न आएको सो महाशाखाले जनाएको छ ।