Incident Reports

Ravi Rauniyar's Oped on Chaupadi- छाउको त्रासमा छात्रा

2018-03-09

गत माघ महिनामा महिनावारी भएकी १४ वर्षीया आरती खड्कालाई अब कहिल्यै छाउ (महिनावारी) नहोस्जस्तो लाग्छ । डोटी जिल्लाको सानागाउँपालिाकाकी आरतीलाई महिनावारी हुने दिन नजिकिँदा चिन्ताले सताउँछ । जसको मुख्य कारण हो, उनी महिनावारी भएपछि छाउगोठ बस्दा भोगेका पीडा। गत माघमा पहिलो पटक मनिावारी हुँदा सधैं माया गर्ने आमाले नै उनलाई छाउगोठमा बस्न पठाइन् । महिनावारी हुँदा गरिने व्यवहार पनि विभेदपूर्ण लाग्यो उनलाई । आफ्नै शरीरभित्रको तŒवलाई अशुद्ध मानेर घृणा गर्नुको कारण उनले बुझ्न सकेकी छैनन्। ‘पहिलो पटक माघमा छाउ भएकी हुँ । आमाले नै बाह्र दिनसम्म गोठमा सुत् भन्नुभयो,’ आरतीले भनिन्, ‘सधैं भुन्टी नानु भनेर माया गर्ने आमाले समेत छुटै व्यवहार गर्नुभयो ।’ उनले थपिन्, ‘जाडोमा एक्लै सुत्नुपर्ने । राति कमिला र साना किराले हैरान बनाउँदा मलाई साहै्र डर लाग्यो । हे भागवान् अब कहिल्यै छाउ हुन नपरोस्।’ सुदूरपश्चिमका जिल्लामा महिनावारी हुँदा किशोरी तथा महिलाहरूलाई घर बाहिरिएको वा छाउ भएको भनिन्छ । पहिलो पटक १२ दिन छाउगोठमै बस्नुपर्ने र त्यसपछिको महिनैपिच्छे ४ देखि ७ दिनसम्म घरबाहिर बस्नुपर्ने कुरीतिले अझै जरा गाडेको छ। महिनावारी हुँदा महिलामाथि हुने हिंसामध्ये छाउ गोठ पनि एक हो । राज्यले वर्षेनी ८ मार्चलाई श्रमिक महिला दिवसका रूपमा मनाउँदै आएको छ । यो वर्ष पनि यो दिवस मनाउने भव्य तयारी भइरहेको छ । तर नेपाली समाजमा जडा गाडेर बसेको छाउपडी प्रथा भने अझै हटाउन सकिएको छैन। डोटिको पूर्वीचौकी गाउँपालिकामा रहेको श्री सरस्वती आधारभूत विद्यालयकी कक्षा ६ यी छात्राले महनिावारीमा भोगेको पीडाले उनका अन्य साथीहरूलाई अहिलेदेखि नै मानसिक तनाव दिएको छ। सुदूरपश्चिमका यी स्कुले छात्राहरू उदाहरण मात्र हुन् । यो प्रथा सुदूरपश्चिम, मध्यपश्चिम तथा देशभरि कुनै न कुनै रूपमा कायम छ। ‘आमा तथा हजुरआमाले घरिघरि छाउ भएको हो भनि सोध्नु हुन्छ,’ १२ वर्षीय भावनाले नागरिकसँग भनिन्, ‘मलाई मेरो साथी आरती छाउ हुँदा उसले भोगेको पीडा देखेर डर लाइराछ ।’ उनले दुःखेसो गरिन्, ‘अब १२ वर्षको भए आमाले केही महिनामै छाउ हुन्छ भन्नु हुन्छ । यसले मलाई तनाव भइरहेको छ ।’ उनले प्रश्न गरिन्, ‘किन हामीलाई छाउको समयमा गोठमा राखिन्छ ?’ महिनावारी हुँदा उनीहरूलाई परिवारले दूध, दही, फलफूल समेत खान दिँदैनन् । आरतीले छाउगोठमा १२ दिन बस्दा दालभात र समान्य तरकारी मात्र खाएको सुनाइन् । ‘छाउको समयमा दूध र दही खाए बाछो मर्ने र फलपूmल खाए बोट मर्छ आमाले भन्नुहुन्छ,’ आरतीले अनुभव सुनाइन्, ‘अरु समयमा दूध दही र फलपूmल खाँदा गाई र बोटलाई केही हँुदैन । तर छाउको बखत खाएमा कसरी मर्छ ?’ उनको प्रश्न छ। १३ वर्षीय पूजा खड्काले त स्कुलमा छाउ भएमा झनै अप्ठ्यारो पर्ने अनुभव सुनाइन् । ‘स्कुलमा कपडा वा प्याडको व्यवस्था छैन,’ पूजाले भनिन्, ‘स्कुलमा छाउ भएका साथीहरूको कपडामा दाग लागेर लाजले तीन चार दिन स्कुलै नआएका छन् ।’ पूर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मला साउदले सुदूरपश्चिमको ठूलो समस्या नै छाउगोठ रहेको जनाइन् । अशिक्षाले जरा गाडेको समाज भएकाले छाउ जस्तो समाजिक कुरीति हटाउन चुनौती थपिएको उनले जनाइन् । उनले छाउ भएको घर परिवारसँग बसेमा देवता रिसाउने अन्धविश्वास कायमै रहेको सुनाइन्। सबै महिलाको पीडा उस्तै डोटी पूर्वीचौकी पोखरीको गजडामा हुर्केकी उपाध्यक्ष साउदले आफू हिँउपर्ने ठाउँमा जन्मिएको र छाउ हुँदा जाडोमा पनि हिँउमै नुहाउनुपर्ने र चिसो लुगासमेत लगाएको दुःखेसो गरिन् । ‘५ दिनसम्म गोठमा बसेर हिँउमा नुहाएर चिसो लुगा लगाउनुपथ्र्यो,’ उपाध्यक्ष साउदले भनिन्, ‘घरभित्र सुते भने देउता रिसाउँछ , परिवारलाई बाघले खाइदिन्छ भन्थे ।’ महिला मानवअधिकार रक्षकहरूको रष्ट्रिय सञ्जालकी अध्यक्ष रेणु राजभण्डारीले देशभरिका महिलाले महिनावारीमा भोग्नु परेको समस्याको मुख्य जड नै समाजमा व्याप्त नकारात्मक दृष्टिकोण रहेको जनाइन् । सिराहामा जन्मेकी राजभण्डारीले आपूm पनि पहिलोपटक कक्षा ७ मा महिनावारी हुँदा १२ दिन घरबाटै छुट्टै बसेको बताउँदै ४० वर्ष अघि र हालको समस्या उस्तै रहेको सुनाइन्। गाउँपालिका उपाध्यक्ष साउदले आफूले जिम्मेवारी सम्हालेलगत्तै पहिलो काम नै गाउँबाट छाउपडीप्रथा हटाउने रहेको दाबी गरिन् । उनले अब यो जिम्मेवारी पनि स्थानीय तहलाई आएकाले गाउँघरमा विकराल रूप लिएकाले छाउगोठ हटाउनैपर्ने बताइन् । साथै, उनले छाउ हुँदा गोठमा राखे बिरामी हुने र थप खतरा हुने भएकाबारे आमाबुवासँग छलफल चलाइरहेको जनाउँदै यसको अन्त्यका लागि आफू क्रियाशील भएको जनाइन्। महिनावारी त्रास होइन, समान्य प्रक्रिया महिनावारीलाई सामान्य प्रक्रियाको रूपमा लिन सकिए मात्र महिलाहिंसा कम गर्न सकिने राजभण्डारीले जनाइन् । उनले छाउपडी प्रथाको स्वरूप परिवर्तन भए पनि यो विकृति देशैभरि विद्यमान रहेकाले यसविरुद्ध समाजिक व्यवहार परिवर्तन अभियान चलाउनुपर्ने सुझाइन्। महिलाहिंसा अन्त गर्न दिवस मात्र मनाएर हुँदैन । समाजमा विद्यमान गलत मानसिकतामा परिवर्तन ल्याउनुपर्ने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए । उनले गाउँभरिका स्कुलमा छाउपडी र छाउगोठबारे जनचेतनामूलक कार्यक्रम गरी यसको अन्ततर्फ लाग्ने प्रतिबद्धता जनाए । उनले भने, ‘अब समाजिक चेतना फैलाउने कार्यक्रम गरी हामीले यो समस्या आफ्नै घरबाट हटाउने सुरुवात गर्नेछौं।’ महिला मानवअधिकार रक्षक रष्ट्रिय सञ्जालकी अध्यक्ष रेणु राजभण्डारीले यो समस्या देशको मध्य र सुदूरपश्चिमा मात्र नभएर देशैभरि रहेको बताइन् । उनले शहरी क्षेत्रमा पनि चार दिन बार्ने बाध्यता रहेको सुनाइन् । उनले समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न सके मात्र यस्ता कुरीतिको उन्मूलन हुने बताइन् । राजभण्डारीले भनिन्, ‘जुनसुकै बहानामा पनि महिलाहिंसा गर्न पाइँदैन । सरकारले विभेदपूर्ण परम्परामा आधारित महिला हिंसाविरुद्ध छाता कानुन ल्याउनुपर्छ ।’ उनले थपिन्, ‘हाम्रो सञ्जालले छाउपडी मुक्त देश बनाउन प्रदेश–प्रदेशमा निर्वाचित मिहला नेतृत्वसँग बसेर सामाजिक सांस्कृतिक विभेदमा आधारित हानीकारक परम्परा हटाउन व्यवहार परिवर्तनबारे छलफल अघि बढाएको छ ।’
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis