Analysis

वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनको मतगणना अवधिमा भएका घटनाहरु

2017-06-09

सारांश

पहिलो चरणको स्थानीय तहको निर्वाचन वैशाख ३१ मा सम्पन्न भएसँगै सम्पूर्ण देशको ध्यान मतगणनातिर केन्द्रित भएपछि निर्वाचनसम्बन्धी घटनामा निकै कमी आयो । नेपाल मोनिटरको तथ्याङ्कअनुसार जेठ १–७ को अवधिमा निर्वाचनसम्बन्धी १३ घटना घटे जबकी वैशाख २९–३१ को तीन दिनको अवधिमा ८१ घटना भए । जेठ ३१ मा हुने भनिएको दोश्रो चरणको चुनाव सम्पन्न हुनेमा अझै अनिश्चितता छ । मधेश केन्द्रित दलहरुले निर्वाचनमा भाग लिनको लागि पूर्व शर्तको रुपमा रहेको संविधान संशोधनको प्रकृयामा कुनै प्रगति भएको छैन । चार प्रदेशमा गरिने दोश्रो चरणको निर्वाचनको तयारीको निम्ति निर्वाचन आयोगसँग तीन हप्ता मात्र छ । त्यसैगरी दोश्रो चरणको चुनाव अघि सरकार परिवर्तनको सवालले निर्वाचन तयारीभन्दा सरकार गठनतिर प्राथमिकता मोडिदा, निर्वाचनको निश्चिततालाई असर पार्न सक्छ ।

***

यो प्रतिवेदन डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल (डिआरसीएन) र शान्तिका लागि साझा अभियान (कोक्याप)/नेपाल मोनिटरले आउँदो निर्वाचनको अवधिभर प्रकाशन गर्ने आवधिक विश्लेषण अद्यावधिक शृंखलाको छैठौँ संस्करण हो । डिआरसीएनले स्थलगत अवलोकन, अनुसन्धान र वस्तुगत रिपोर्टिङ मार्फत् नेपालको लोकतन्त्रलाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ । कोक्यापले नेपालको शान्ति प्रक्रियालाई विभिन्न तरिकाले सघाएको छ, तीमध्ये सामाजिक सुरक्षा प्रणालीलाई प्रबर्धन गर्ने, लोकतान्त्रिक अभ्यासहरुलाई सबल पार्ने र मानवअधिकारको संस्कृतिलाई विकास गर्ने मुख्य हुन्। यस परियोजनाले द एशिया फाउन्डेशन र द कार्टर सेन्टरबाट आर्थिक र प्राविधिक सहायता प्राप्त गरेको छ 

0 Comments