Incident Reports

सुस्त मनस्थितिका युवक सत्र वर्षदेखि साङ्लोमा

2017-03-13

Province 1, Jhapa, Barhadashi, Ward 3

हरेक आमाबुबाको इच्छा र चाहना हुन्छ आफ्ना सन्तान ठूला बनुन्, धेरै पढुन्, धेरै पैसा कमाउन्, देशको सेवा गरुन्, आफ्नो र आफ्नो परिवारको इज्जत धानुन् अनि बुढेसकालमा आफूहरूलाई सहारा दिउन् । तर, झापा राजगढ-८ निवासी एक महिलाको जीवनमा आफूले चाहेको भन्दा ठीक विपरीत भएको राससले जनाएको छ । विसं २०५४ मा जन्मिएका लीलाप्रसादलाई १७ वर्षदेखि साङ्लोले बाँध्नुपरेपछि उनकी आमा जानुका चम्लागार्इंले बुढेसकालमा सन्तानको सहारा पाउने आशमात्र मारेकी छैनन्, आफ्नो शेषपछि छोराको हेरचाह कसले गरिदेला भन्ने चिन्ताले पिरोलेकोसमेत बताइन् । १९ वर्षीय छोरालाई १७ वर्षदेखि निरन्तर साङ्लोले बाँधेर हेरचाह गरिरहेकी जानुका भन्छिन्- “बुढेसकालको सहारा त गुम्योगुम्यो, मेरो शेषपछि उसलाई कसले हेरिदेला ?” बाल्यावस्थादेखि नै सुस्त मनःस्थिति भएका लीला बोल्दैनन् । उनको दाहिने हात पनि चल्दैन । तर, आमाले गरेको इशारा भने बुझ्छन् । टोलाइरहने स्वभावका उनी फोहर टिप्दै खाने, बोलिरहने र हिँडेपछि घर नफर्कने गरेपछि उनलाई साङ्लोले बाध्नुपरेको जानुकाले बताइन् । आर्थिक अभावका कारण उनको उपचारमा कठिनाइ भएको बताउँदै जानुका भन्छिन्- “छोरो निको होस् भन्ने चाहना कुन आमालाई हुँदैन र ? तर, के गर्नु छोराको उपचार गराउने पैसा छैन । छाक टार्नसमेत धौधौ हुन्छ । मजदुरी गर्न नगई हुँदैन त्यस्तो अवस्थामा उसलाई साङ्गाले बाँधेर जान्छु ।” -जानुकाले भनिन् । आर्थिक अभावकै कारण छोराको उपचार गराउन नसकेपछि जानुकाले दातासमक्ष सहयोगको आशा गरेकी छन् । उनले भनिन्- “एकपटक राम्रो डाक्टरलाई देखाउन पाए छोरो निको हुन्थ्यो कि भन्ने मनमा लागेको छ ।” “जता हिँड्यो उतै हराउँछ, कतै गयो भने पानीमा डुब्ला, गाडीले किच्ला, कसैले कुटिदेला भनेर हामीले उसलाई साङ्लाले बाँधेका हौँ ।” – जानुकाले भनिन्- “माया भए पनि छोरो बचाउन अर्को विकल्प नदेखेर उसलाई बाँधेका हौँ ।”

0 Comments