त्रिबेणी गाउँपालिका-८ मा प्रचारमा रहेको नेपाली काङ्ग्रेसको टोलीमाथी नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूले आक्रमण गर्दा पाँच जना गम्भीर घाइते भएको नेपाली काङ्ग्रेस रूकुमले जानकारी दिएको छ ।
घाइते हुनेमा त्रिवेणी गाउँपालिका-८ का वडा अध्यक्षका उम्मेदवार २५ वर्षीय दिनेश खड्का, सोही ठाउँका खिमबहादुर खड्का, कुलबहादुर खड्का, नरहरी घर्ती, विशाल सिंहलगायतका रहेको त्रिवेणी गाउँपालिकामा काङ्ग्रेसबाट अध्यक्ष पदका उम्मेदवार देवबहादुर ओलीले बताए ।
घाइतेहरूको जिल्ला अस्पताल सल्ले रूकुममा उपचार भइरहेको र वडा अध्यक्षका उम्मेदवार दिनेश खड्कालाई जिल्ला अस्पताल सल्ले रूकुमले थप उपचारको लागि नेपालगञ्ज रिफर गरेको छ । यस्तै त्रिवेणी गाउँपालिका-७ का २२ वर्षीय लक्ष्मण ओली र वडा नम्बर ८ का कमल ओली २४ गते बिहानसम्म सम्पर्कमा नआएको काङ्ग्रेसले जनाएको छ ।
साथै माओवादी कार्यकर्ताहरूले तीन ओटा मोटरसाइकल र एउटा गाडीसमेत ध्वस्त बनाइदिएको काङ्ग्रेसले जनाएको छ । आफूहरूले शान्तिपुर्ण तरीकाले चुनाव प्रचार गरिरहेको बेला एक्कासी आक्रमण भएको काङ्ग्रेसको आरोप रहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल शर्मा अनलले काङ्ग्रेस कार्यकर्ताको आक्रमणमा चार जना कार्यकताहरू घाइते भएको बताए । त्रिवेणी गाउँपालिका-८ का बलबहादुर ओली, शेरबहादुर मल्ल, सुन्दर ओली, कमल पुन घाइते भएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।
गम्भीर घाइते भएका बलबहादुरलाई थप उपचारको लागि जिल्ला अस्पताल सल्ले रूकुममा भर्ना गरिएको माओवादीले जनाएको छ ।