Cadres of Communist Party of Nepal-Unified Marxist Leninist (CPN-UML) organised a sit-in protest and picketed District Administration Office (DAO) on May 8. They protested against the violation of code of conduct by Nepali Congress in Suryagadhi Rural Municipality.
नेपाली काङ्ग्रेसका कार्यकर्ताले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै सूर्यगढी गाउँपालिकाका नेकपा एमाले कार्यकर्ताहरूले वैशाख २५ गते जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा एमाले कार्यकर्ताले तीन घण्टा धर्ना दिएका थिए ।
सूर्यगढी गाउँपालिकामा नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार सन्तबहादर तामाङले डिभिजन खानेपानी कार्यालयबाट पाइप लगेर वितरण गर्न खोजेको भन्दै एमालेले विरोध गरेको हो ।
तामाङले स्थानीय ड्वाचे खानेपानी आयोजनाको नाममा १ हजार २ सय मिटर पाइप वैशाख २४ गते राति लगेर स्थानीयलाई वितरण गर्न खोज्दा नेकपा एमालेका कार्यकर्ताहरूले रोकेका थिए । उक्त पाइप सूर्यगढीको चोकदे प्रहरी चौकीमा राखिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत विकासे सामान लगेर बाँड्न खोजेको भन्दै जिल्ला प्रशासनमा कारबाहीको लागि दबाव दिन धर्ना दिएको सूर्यगढी गाउँपालिकामा एमालेबाट अध्यक्षका उम्मेदवार विन्दा ढुङ्गानाले बताइन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार सन्तबहादुर तामाङले आयोजनामा नियमित पाइप लगेकोले आचारसंहिता उल्लङ्घन नभएको दावी गरे ।
प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेलले नाराजुलुस गर्न आएकाहरूसँग भेटी प्रक्रिया पुर्याएर उजुरी दिन आग्रह गरे । उनले उजुरीपछि छानबिन गर्दा उल्लङ्घन भएको पाइएमा कारबाही गर्ने बताए ।