कालिकोट, वैशाख ३० – खाँडाचक्र नगरपालिका र पलाता गाउँपालिका लगायत जिल्लाका विभिन्न ठाउँमा बम विस्फोट भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
शुक्रबार राति बम विष्फोट भएपछि स्थानीय मतदाता निकै डराएका छन् । राति १ बजेतिर पलाता गाउँपालिका थिर्पू धौलागोह लगायतका स्थानमा विष्फोट भएको पलाता गाउँपालिका कांग्रेसका अध्यक्ष उम्मेदवार केशरसिंह वमले बताउनुभयो । उहाँले रातिकोे समयमा बम विष्फोट गरेपछि स्थानीय मतदाता निकै डराएको र कसले विष्फोट गराएको भन्ने नखुलेको बताउनुभयो ।
त्यस्तै खाडाचक्र नगरपालिका–८, दशलामा पनि बम बिष्फोट भएको एमाले वडा अध्यक्ष उम्मेदवार आदिचन्द्र चौलागाईले बताउनुभएको छ । उहाँका अनुसार विष्फोटपछि नारा सहित मसाल जुलुस समेत भएको थियो ।
यसअघि पनि उहाँको घरमा वैशाख २२ गते राति गोलि प्रहार भएको थियो । घटनाका बारेमा कालिकोटका प्रहरी प्रमुख डिएसपी योगेन्द्र खडकाले बम विष्फोट गर्ने नेपाल कम्यूनिष्ट पार्टिका कार्यकर्ता हुनसक्ने आशंका गर्दै बिहानै सुरक्षा समितिको बैठक बसेर सुरक्षा व्यवस्था थप कडा पार्ने निर्णय भएको बताउनुभयो ।