Incident Reports

अधिकारी हत्या प्रकरणको अनुसन्धान कार्य सुरु l

2013-08-19

Nepal

Sabitri Sapkota जिल्ला प्रहरी कार्यालय चितवनले गोरखा जिल्ला फुजेल गाविस-७ का कृष्णप्रसाद अधिकारी हत्या घटनाको अनुसन्धान कार्य सुरु गरेको छ । घटनाको अनुसन्धान प्रकृया अन्तर्गत नै सरकारी वकिलको कार्यालयसँग परामर्श लिएर अनुसन्धान कार्य अगाडि बढाइएको इन्सेक जिल्ला प्रतिनिधिसँगको कुराकानीमा भदौ ३ गते जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रद्युम्न कार्कीले बताएका हुन् । प्रहरी प्रधान कार्यालयबाट आएको पत्र अनुसार अनुसन्धान अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय चितवनले साउन २६ गते कानुनी रायको माग गर्दै सरकारी वकिल कार्यालयलाई पत्र पठाएको थियो । पहिलो पत्रको जवाफमा सरकारी वकिलको कार्यालयबाट स्पष्ट राय नआएको भन्दै प्रहरी कार्यालयले पुनः २७ गते दोस्रो पत्र सरकारी वकिलको कार्यालयमा पठाएको थियो । जिल्ला न्यायधिवक्ता एकनारायण लम्सालले राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन अनुसार अगाडि बढ्नु भनि आफ्नो कार्यालयको तर्फबाट जिल्ला प्रहरी कार्यालयमा राय पत्र पठाएको बताए । सोही पत्रको आधारमा घटनाको सम्बन्धमा सत्य तथ्य पत्ता लगाउन अनुसन्धान प्रक्रिया सुरु गरिएको एसपी कार्कीले जानकारी दिए । उनले भने-'घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढाउने नबढाउने भन्ने सम्बन्धमा सरकारी वकिलको कार्यालयसँग राय लिने कार्य भयो । अहिले सत्यतथ्यको खोजि गर्ने काम भैरहेको छ ।' हजुरआमा भेट्न चितवन आएका गोरखाका १८ वर्षीय कृष्णप्रसाद अधिकारीलाई सुराकीको आरोपमा तत्कालीन माओवादी कार्यकर्ताले ०६१ जेठ २४ गते चितवनमा हत्या गरेको थियो । हत्या पश्चात अधिकारीका परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएका थिए भने, पुनः कृष्ण अधिकारीको दाजु नुरप्रसाद अधिकारीले ०६२ मङ्सिर २६ गते आतङ्ककारी र विध्वशात्मक अपराध ऐन अन्तर्गत कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए । यसैबीच, पीडित अधिकारी परिवारले घटनामा सङ्लग्नहरूलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका मध्येका आरोपित परशुराम पौडेलले आफू र आफ्नो बाबु छबिलाल र अन्य निर्दोष ब्यक्तिहरूलाई अधिकारीको हत्या घटनामा सङ्लग्न भएको भन्ने झुटो आरोप लगाइएको बताए । भदौ ३ गते इन्सेक जिल्ला कार्यालय चितवनमा आई आफूहरू निर्दोष रहेको भन्दै सो आरोपले आफ्नो आत्म सम्मानमा आँच पुगेको बताएका हुन् । उनले भने-'नगरेको कुरामा हामीलाई दोषारोपण गरी हाम्रो नाम सार्वजनिक गरिएको छ । यसले हाम्रो र हाम्रो घरपरिवारको स्वाभिमानमा आँच पुर्‍याउने काम भएको छ । हामी निर्दोषहरूको पीडालाई पनि बुझेर हाम्रो स्वाभिमानको रक्षामा मानवअधिकारकर्मीहरूले पनि ख्याल गरीदिनुहोला ।'

0 Comments