Incident Reports

पतिद्वारा पत्नीको घाँटी थिचेर हत्या l

2013-08-24

Amrit Giri सेमलार गाविस-७, बेलभरियाकी ३१ वर्षीया सरु भन्ने सरस्वती अर्याललाई पति ३५ वर्षीय जनक भन्ने जनार्द्धन अर्यालले भदौ ७ गते राति हत्या गरेको सार्वजनिक भएको छ । पतिले पत्नीको घाँटी थिचेर जबरजस्ती विष खुवाई हत्या गरेको भन्दै मृतकका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा भदौ ८ गते किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । उनको माइती सेमलार गाविसकै कोदौलीमा पर्छ । पीडितका भाइ कृष्णले दिदीको हत्या भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दिएको बताए । उनले दिदीको घाँटीमा निलडाम रहेको र शरीरका अन्य भागमापनि निलडामहरू रहेको बताए । सरस्वती र जनार्द्धनबीच १० वर्षअघि प्रेम विवाह भएको थियो । उनीहरूका ८ र ६ वर्षका दुई छोरा छन् । जेठा छोराले बाबाले आमालाई पिट्दै घाँटी थिचेको भन्दै मामाघरमा बताएपछि घटना प्रहरीसमक्ष पुगेको थियो । मृतकको लुम्बिनी अञ्चल अस्पतालमा पोष्टमार्टम गराई भदौ ८ गते साँझ अन्त्येष्टि गरिएको छ । पोष्टमार्टम प्रतिवेदन भने नआएको पीडतले बताए । पछिल्लो केही समयदेखि जनार्द्धनले पत्नीलाई कुटपिट गर्ने, गाली लगौज गर्ने र अर्को विवाह गर्ने भन्दै धम्काउने गरेको पीडितका माइतीले बताए । प्रहरीले आरोपीलाई भदौ ८ गते नै गिरफ्तार गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक विश्वराज अधिकारीले बताए । पोष्टमार्टम रिर्पोट आएपछि थप कानुनी कारबाही अगाडि बढाइने उनले बताए । यसैबीच, सेमलार क्षेत्रका महिलाहरूले घटनामा संलग्नलाई कानुनी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय सालझण्डीमा प्रदर्शन गरेका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis