Incident Reports

बेचबिखन घटनाका आरोपित गिरफ्तार

2018-05-27

३७ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ १३ गते साँझ उद्धार गरेको र दुई जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा मकवानपुर जिल्लाको हेटौँडा उप-महानगरपालिका-८ का २७ वर्षीय सन्तबहादुर थिङ र उनकी पत्नी ३७ वर्षीया रीता तामाङ रहेको प्रहरीले जनाएको छ । पीडित महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर आरोपितद्वयले भारतको बाटो हुँदै कुवेत पठाउन लागेको सूचनाका आधारमा पीडितको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । वैदेशिक रोजगारीमा जानका लागि आवश्यक कुनै पनि कागजात नभएको र कुवेत पठाउने बहाना मात्र भएको प्रहरीले जनाएको छ । त्यसैगरी १९ वर्षीया युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अवस्थामा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाका भैरहवाबाट जेठ १३ गते साँझ उद्धार र एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । गिरफ्तार हुनेमा भारत महाराजगञ्ज थाना पुरनदापुर, पोष्ट बसन्तपुर नौतुनहवाका २० वर्षीय राकेश मल्लाह रहेको प्रहरीले जनाएको छ । पीडित युवतीलाई आरोपितले भैरहवाका विभिन्न होटलमा राखेर बलात्कारसमेत गरेको पीडित युवतीले प्रहरीसमक्ष बताएकी छन् । पीडितलाई राम्रो जागिरको प्रलोभन देखाएपनि बेचबिखनका लागि लैजान लागेको सूचनाका आधारमा पीडित युवतीको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित युवतीको स्वास्थ्य परीक्षण भिम अस्पताल भैरहवामा जेठ १३ गते गरिएको प्रहरीले जनाएको छ ।

0 Comments