Incident Reports

अन्तरजातीय विवाह गर्दा तिरस्कृत

2018-06-18

गमगढी ः अन्तरजातीय विवाह गरेका छोरीहरू आफ्नै बाबुआमाबाट विवाह गरेको लामो समयसम्म पनि तिरस्कृत हुने गरेका छन्। जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकाका एक दर्जन जोडीले अन्तरजातीय विवाह गरेका छन्। कथित आफूभन्दा तल्लो जातका केटासँग विवाह गरेको आरोपमा बाबुआमबाटै अन्तरजातीय विवाह गर्ने छोरीहरू तिरस्कृत हुने गरेका हुन्। यस्तो जोडी सबैभन्दा बढी खत्याड गाउँपालिकामा छन्। यस गाउँपालिका—४ की छ जना र ८ की एक जना युवतीले दलित युवासँग विवाह गरेका छन्। छायानाथ रारा नगरपालिका—४ का चार युवाले दलित युवतीसँग विवाह गरेका छन्। सोही नगरपालिका—५ कि एक युवतीले दलित युवासँग सोरु गाउँपालिका—१ की शाही थर भएकी युवतीले दलित युवासँग र सोही नगरपालिका—५ की क्षत्री थर भएकी युवतीले सोही गाउँका युवासँग अन्तरजातीय विवाह गरेको लामो समय भइसक्दासमेत अभिभावकहरूले उनीहरूलाई तिरस्कृत गर्ने गरेका दलित अधिकारकर्मी धीरज नेपालीले बताएका छन्। खत्याड गाउँपालिका—४ चिमाडुग्रीकी लक्ष्मी थापाले सोही वडा हिगोटी गाउँका पुरन विकसँग विवाह गरेको तीन वर्ष भयो। उनीहरूबाट छोरी जन्मेको वर्षदिन भइसक्दा पनि उनका बुवाआमाले अझै उनीहरूको सम्बन्धलाई स्वीकारेका छैनन्। दलितसँग विवाह गरेकै कारण उनले अहिलेसम्म नागरिता बनाउन पाएकी छैनन्। आमाबुवालाई नागरिकता बनाइदिनुप¥यो भनेर खबर पठाउँदा आमाबुवा दुवैले दलितसँग विवाह गरेको भन्दै नानाथरी गाली गर्ने गरेको उनले बताइन्। हरेक क्षेत्रमा आवश्यक नागरिकता बनाइदिनु भन्दा दलितकी पत्नी आफ्नो छोरी नभएको भन्दै बुवाआमाले गाली गर्ने गरेको उनले दुखेसो पोखिन्। लक्ष्मी जस्तै अन्तरजातीय विवाह गरेका कैयौं जोडी जिल्लामा अभिभावकबाटै अस्वीकृत भई पीडित बनेका छन्। खत्याड गाउँपालिका—४ हिगोटी गाउँका पाँच जना दलित युवासँग विवाह गरेकी सबै महिलाको उस्तै वेदना छ। अभिभावकहरू छोराछोरीको नामसमेत लिन चाहँदैनन् भने छोराछोरीचाहिँ बुवाआमाको मायाले सताएको बताउँछन्। अन्तरजातीय विवाह गर्ने छोरीका बाबुआमालाई सम्झाउने काम गरिए पनि उल्टै आफ्नो बेइज्जत भएको भन्दै हामीजस्ता अधिकारकर्मीलाई धम्काउने गरेको अधिकारकर्मी नेपालीले बताए। अभिभावकहरू छोराछोरीको नामसमेत लिन चाहँदैनन् भने छोराछोरीचाहिँ बुवाआमाको मायाले सताएको बताउँछन्। सरकारबाट पनि आफूहरू तिरस्कृत भएको खत्याड गाउँपालिका—४ का धनमणि विकले बताए। धनमणि र सुशीला थापाबीच सात वर्षअघि अन्तरजातीय विवाह भएको हो। अन्तरजातीय विवाह गरे सरकारले १ लाख नगदसहित सम्मान गर्ने भनेको सुनेर उनी जिल्ला प्रशासन कार्यालयमा विवाह भएको एक महिनामै पुगे तर उनले नगद पाउन सकेनन्। राज्यबाट दिने भनिएको रकम र सम्मान जिल्लाका कुनै पनि अन्तरजातीय विवाह गर्ने जोडीले पाएका छैनन्। अन्तरजातीय विवाह गरेका केही जोडी गाउँमै भए पनि समुदायको हेपाह प्रवृत्तिले गाउँमा बस्न नसकेर आधा दर्जनभन्दा बढी जोडी भारत गएका छन्। जिल्लामा अधिकारसम्बन्धी काम गर्ने धेरै गैरसकारी संस्था भए पनि उनीहरूको समस्या सुल्झाउन कसैले नसकेको पीडितहरूको गुनासो छ। अन्तरजातीय विवाह भएको लामो समयपछि दलित समुदाय विकास केन्द्र डीडीसीले मात्र एक साताअघि सम्मान गरेको थियो। यस्तो समस्याबारे कसैले लिखित तथा मौखिक जानकारी कार्यालयमा नदिएकाले यो विषय अत्यावश्यक रहेको खत्याड गाउँपालिकाले जनाएको छ। कार्यालयमा जानकारी दिए गाउँपालिकाको न्यायिक निकायमा राखेर छलफल गरी आवश्यक कारवाही गर्न सकिने गाउँपालिका अध्यक्ष उब्जन शाहीले बताए। खत्याड गाउँपालिका—४ का पुरन विक र लक्ष्मी थापालाई दलित सामुदायिक विकास केन्द्र डडीसीले सम्मान गर्दै। अन्तरजातीय विवाह गरेका जोडीले राज्यबाट कुनै सम्मान नपाएपछि पहिलो पटक सम्मान गरिएको छ। जीवन सेजुवाल
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis