Incident Reports

मधेशमा छुवाछुतले डोमलाई बाच्नै गाह्रो : टोकरी चल्छ, गिलास चल्दैन !

2018-09-03

दुई कठ्ठा खेत बेचेर छोरालाई पढाएँ । तर, उसले कहीँ पनि जागिर पाउन सकेन । आँखिर अन्त्यमा उ वैदेशिक रोजगारीमा मलेसिया पुग्यो,’ जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वरस्थित ५५ वर्षीय उर्मिला मल्लिकले भनिन्, ‘खेतको नाममा पुर्खाले दिएको जम्माजम्मी २ कठ्ठा खेत बेचेर छोरा सरोजलाई स्नातकसम्म पढाएँ । तर, उसलाई कसैले पनि यहाँ काम दिएनन् ।’ स्थानीय तहको चुनावमा राजपा नेपालका विक्रम पंजियार वडा अध्यक्षमा चुनाव लडेका थिए । त्यतिबेला विक्रमले छोरा सरोजलाई भनेको सम्झिँदै उर्मिलाले भनिन्, ‘छोरा यस पटक मद्दत गर, जितेपछि तिमीलाई नगरपालिकामा जागिर लगाइदिनेछु ।’ सरोजकी आमाले आँखाबाट आँशु झार्दै भनिन्, ‘हामीले विगतमा पनि उहाँकै परिवारलाई भोट दिँदै आएका थियौं, यसपटक पनि उहाँलाई भोट दियौं ।’ चुनाव जितेपछि १ पटक पनि फर्केर नसोधिएको उनले गुनासो गरिन् । ‘हामी कसरी गुजारा गरिरहेका छौं । आँखिर मेरो छोराले नै उहाँलाई पटक–पटक भेटेर कतै जागिर लगाइदिन भन्न जाँदा उपमहानगरपालिकामा जाउ भनेर सधैं प्रधानजी (वडाध्यक्ष) ले टार्नुहुन्थ्यो,’ उर्मिलाले सुनाइन्, ‘उपमहानगरपालिकामा जाँदा सडक बढार्ने काम गर्छाै भने गर भन्थे । मेरो छोराले स्नातक पास गरेकाले त्यो काम गर्दिन, अफिसको काम दिलाइदिनुस् भन्दा दिएनन्, आँखिर विदेश नै जानुपर्यो ।’ ‘जागिर नै पाउँदैन भने त्यत्रो खर्च गरेर छोराछोरीलाई किन पढाउने ? पढाएर पनि काम नलाग्ने रहेछ,’ उनले भनिन्, ‘छोराले काम पाएको छैन । रुँदै फोन गरेको थियो ।’ लोकान्तरकर्मी उनको घरमा पुग्दा उर्मिला, उनका श्रीमान बेचन मल्लिक, काखमा बच्चा बोकेकी उनकी बुहारी सबै आफ्नो परम्परागत सीपमूलक काममा व्यस्त थिए । बाँसको चंगेरा, छिट्टी, डाला (टोकरी) बनाउने काममा व्यस्त थिए । उर्मिलाले टोकरी बुनेर हुने कमाइ बनाउँदै भनिन्, ‘हुँदैन अब प्रोफिट । दिनभर सबै परिवार लागेका हुन्छौं तर पनि नाफा हुँदैन । ५–६ दिन लगाएर सबै जना दिनरात लागेर १० वटासम्म चंगेरा बनाउँछौं, ज्यालादारी पनि पुग्दैन ।’ मजदूरी गर्दा दिनको कम्तिमा पनि ५ सय रुपैयाँ ज्यालादारी मिल्ने गरेको बताउँदै उनले एउटा टोकरी २ सयदेखि ३ सय रुपैयाँसम्म मात्र बजारमा बिक्री हुने गरेको बताइन् । डोम समुदायले बनाएको ती टोकरी प्रायःजसो पर्वमा उपयोग हुन्छ । छठ, चौर्चन, पूजा, विवाह, ब्रतबन्ध, मुरणमा टोकरी प्रयोग हुने गरेको उनले बताइन् । डोम समुदायले गाउँ पनि जोत्ने गर्छन् । गाउँ जोत्नु भनेको गाउँमा कसैको ब्रतबन्ध, पूजा, मरणहरण लगायत कुनै पनि काम पर्दा चाहिने सामान चिजवस्तु डोमबाट नै किन्नुपर्ने हुन्छ । १ जना डोमले ५ वटासम्म गाउँ जोत्ने गर्छन् । ‘गाउँ जोत्दा पनि अब धेरै फाइदा छैन,’ बेचन मल्लिकले भने, ‘प्रायःजसो गिरहत (साहु) ले त्यति पैसा पनि दिँदैनन्, तै पनि हामीले नगरे हुँदैन ।’ ‘बाँस पनि किन्नुपर्छ, एउटा बाँस ३ सय रुपैयाँसम्म पाइन्छ । फाइदा छैन, तर पनि पुर्खादेखि सबैले गर्दै आएको काम नगरे के गर्ने ? अन्य व्यवसाय गरौं, हुँदैन । तरकारी बेचौं कसैले डोम हो भनेर किन्दैन, चिया पसल खोलौं, कसैले चिया पिउँदैन,’ बेचन मल्लिकले भने, ‘जीवन त बिताउनुपर्यो, अनि अरु काम पनि आउँदैन, त्यसैले बाँसकै टोकरी बनाएर बेच्नुपरेको छ । सरकारले बरु त्यसका लागि केही गरिदिए हुन्थ्यो ।’ गाउँमा छुवाछुत धेरै हुने गरेको मल्लिकले बताए । ‘यतिसम्म कि डोमको अँतरी (आन्द्रा) पनि छुवाउँछ भन्छन्,’ उनले भने, ‘चिया पसलमा अरुले चिया पिउँदा सिसाको गिलासमा दिन्छ । तर, हामीलाई सिसा होइन, प्लास्टिकको गिलासमा दिन्छ । जब कि प्लास्टिकको गिलासमा चिया पियो भने बिरामी हुन्छ ।’ जनकपुरधाम उपमहानगरपालिकाको कपिलेश्वर गाउँमा अझै छुवाछुत हटेको छैन । ‘कर कुटुम्ब (आफन्त नातेदार) अन्य गाउँबाट आउँदा ठूलै बेइज्जत हुन्छ । तर पनि यो गाउँमा पसलदेखि सबै ठाउँमा छुवाछुत हटेको छैन,’ उनले भने । विगतमा घरमा बिहेबारी हुँदा स्कूलमा वरियाती (जयन्ती) राखेर भोजभतेर गर्ने गरिएपनि हिजोआज त्यो पनि रोकिएको उनले बताए । ‘अब स्कूलमा त्यसो गर्न दिँदैनन् । डोमको लागि सामुदायिक दलान पनि छैन, धेरै अप्ठ्यारो हुने गरेको छ,’ उनले भने, ‘वडा अध्यक्षले एउटा सामुदायिक दलान बनाइदिनुपर्यो ।’ गाउँमा डोम समुदायलाई अवहेलना गर्ने र गरीबलाई कसैले नहेर्ने समस्या रहेको उनले गुनासो गरे । बेचनको परिवारमा उनका पत्नी, २ छोरा, २ बुहारी, नातिनातिनी छन् । ‘अरु केही नभएपनि कमसेकम छुवाछुत हटाइदिनुपर्यो, छुवाछुत हटे कुनै काम गरेर पनि बाँच्न सकिन्छ,’ उनले भने ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis