Incident Reports

No translation available.

2018-09-03

१३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे नयाँ टि्वस्ट सतहमा आएको छ । घटना भएको २४ दिनसम्म कानमा तेल हालेर बसेको प्रहरीले भदौ ४ गते एकजना मानसिक रोगीलाई हत्याराका रुपमा सार्वजनिक गरेपछि स्थानीयवासीले किन पत्याएनन् ? के स्थानीयवासीले बलात्कारी र हत्यारा को हो भन्ने सुइँको पाएका छन् ? यसबारेमा अनलाइनखबरले प्रारम्भिक खोजी गर्दा केही अनौठा तथ्यहरु फेला पारेको छ । यो घटनामा लामो समयसम्म प्रहरीले किन सफलता हात पारेन ? अनि स्थानीयवासीहरुले प्रहरीबाट बलात्कारीका रुपमा सार्वजनिक गरिएको व्यक्तिमाथि किन पत्यार गरेनन्, यी दुईवटा प्रश्नको वीचमा कुनै स्वयं प्रहरीबाटै गडबडी भइरहेको दाबी कञ्चनपुरवासीहरुको छ । आउनुहोस् निर्मला पन्तको हत्या र बलात्कार प्रकरणबारे केही तथ्यहरु केलाऔं । सुरुमा चर्चा गरौं, निर्मला पन्तको परिचयबाट । गरीबकी छोरी घर फर्किइनन्, प्रहरीले हत्यारा खोजेन गत साउन १० गते बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएकी निर्मला पन्त कञ्चनपुरको भीमदत्त पन्त नगरपालिका- २ स्थित खोल्टी भन्ने ठाउँकी बासिन्दा थिइन् । उनी स्थानीय सरस्वती माविमा कक्षा ९ मा पढ्दै थिइन् । उनी सामान्य एवं गरिब परिवारकी सदस्य थिइन् । उनका आमाबुबा ज्याला मजदुरी गर्ने वर्गका मानिस हुन् । निर्मला पन्तको घर साउन १० गते निर्मला करिब २ किलोमिटर टाढा वडा नम्बर १८ मा रहेको साथीको घरमा होमवर्क गर्न र नोटबुक लिनका लागि साइकल चढेर निस्किइन् । समय दिउँसो ११ बजेतिरको थियो । उनी आफ्नी आमालाई जानकारी गराएर साथी आँचल भनिने रोशनी बमको घरमा गएकी थिइन् । तर, त्यहाँबाट उनी फर्किइनन् । बरु भोलिपल्ट बिहान ९ बजेतिर वडा नम्बर १८ र २ को सीमानामा पर्ने सडक छेउमा रहेको लोकेन्द्र भट्टको उखुबारीमा निर्मलाको शव भेटियो । अलि पर साइकल र किताबकापीहरु फेला परे । जघन्य अपराधको घटना भएको तीन हप्तासम्म कञ्चनपुर जिल्ला प्रहरीले अपराधी पत्ता लगाउन तदरुकता देखाएन । स्थानीयवासीले प्रहरी प्रशासनलाई दबाव दिइरहे, आन्दोलन भयो, तैपनि प्रहरीले दोषीलाई पत्ता लगाएन । स्थानीयवासीको दाबी के छ भने शंकाको सुई भीआईपीहरुतिरै सोझिएका कारण प्रहरीले घटनाको जरोसम्म पुग्नै चाहेन । घटना भएको २४ दिनपछि भदौ ४ गते मृतक निर्मला पन्तकै गाउँको एकजना मानसिक अवस्था ठीक नभएको ४१ वर्षीय दिलिपसिंह विष्टलाई प्रहरीले बलात्कारी एवं हत्यारा भन्दै सार्वजनिक गर्‍यो । प्रहरीको यो कार्यलाई स्थानीयवासीले पत्याएनन् । निर्मलाकै परिवारले पनि पत्याएनन् । र, स्वतःस्फूर्त आन्दोलन चर्कियो । मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई हत्याराका रुपमा प्रस्तुत गरेर एसपी डिल्लीराज बिष्टले वास्तविक अपराधीलाई जोगाउन खोजेको स्थानीयवासीले आरोप लगाए । वास्तविक अपराधी पत्ता लगाउन माग गर्दै विहीबारदेखि आन्दोलन चर्चियो । आन्दोलनले उग्र रुप लिएपछि सरकारले विहीबार कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, डीएसपी र सिडियो कुमारबहादुर खड्कालाई हटायो र उनीहरुका ठाउँमा एसपी कुबेर कठायत र तारानाथ अधिकारीलाई गृहमन्त्रालयले जिल्लामा पठायो । साथै गृहमन्त्रालयले एउटा छानविन समितिसमेत गठन गरेको घोषणा गर्‍यो । विहीबारको सरकारको निर्णयपछि आन्दोलन लगभग मथ्थर जस्तै भइसकेको थियो । शुक्रबार बिहान स्थानीय व्यवसायीहरुले अब आन्दोलन नगर्ने र घटनाको छानविन गर्न दिने सहमति पनि गरेका थिए । तर, शुक्रबार साँझ फेरि आन्दोलन चर्कियो र प्रहरीको गोलीले एकजनाको मृत्यु हुनुका साथै केही व्यक्तिहरु घाइते बने । शुक्रबार साँझाको गोलीकाण्डपछि कञ्चनपुर फेरि तनावग्रस्त बनेको छ । र, जिल्लाको यो घटनाले सिंहदरबारमा समेत हलचल मच्चन थालेको छ । शुक्रबार साँझ नै नेकपा अध्यक्ष प्रचण्डले केपी ओलीलाई फोन गरेर यो घटनालाई गम्भीर रुपमा लिन भनेका छन् । भीम रावलले ‘राजनीति’ घुसाए शुक्रबार बिहान महेन्द्रनगर लगभग शान्तजस्तै भइसकेको थियो । तर, नेकपाका नेता भीम रावलको एउटा राजनीतिक अन्तरवार्ता बाहिर आएपछि आन्दोलन भड्कियो । रावलले शुक्रबार बिहान ऋषि धमलासँगको अन्तरवार्तामा भने- ‘नेपाली कांग्रेसका केही मानिसहरुले जनतालाई उत्तेजित बनाएर अपराधमाथि ढाकछोप गर्न नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता, त्यहाँका जनप्रतिनिधिलाई आक्रमण गरिरहेका छन्, त्यो निन्दनीय छ ।’ यद्यपि रावलले त्यो घटना निन्दनीय भएकाले दोषीमाथि हदैसम्मको कारवाही हुनुपर्ने र यसका लागि सरकारले छानविन समिति पनि बनाएको बताएका थिए । नेकपाले अपराधीलाई कारवाही गर्ने कुरामा रावलले प्रतिवद्धतासमेत व्यक्त गरेका थिए । तर, स्थानीयवासी रावलको विरोधमा सडकमा उत्रिए । एक त स्थानीयवासीहरु यो बलात्कार र हत्याको घटनामा प्रहरी र नेकपाका नेताका परिवारजनमाथि नै छानविन हुनुपर्ने माग गरिरहेका थिए, त्यहीबेला रावलले कांग्रेसमाथि दोषारोपण गरेपछि यसले राजनीतिक आकार लियो । भलै, निर्मलाका हत्यारामाथि कारवाहीको माग कुनै एउटा पार्टीले गरेको नभएर सिंगै जिल्लाबासीहरुको स्वतस्फूर्त माग थियो । नेकपा नेता भीम रावलको कांग्रेसविरोधी अभिव्यक्तिलाई लिएर शुक्रबार साँझ ५ बजेतिर नेविसंघका कार्यकर्तासमेतले जुलुस प्रदर्शन गर्दा झडप भयो । जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना र विरोध प्रदर्शन भयो । उनीहरु त्यहाँ टायर बालेर प्रदर्शन गरिरहेका थिए । प्रहरीले प्रदर्शन हटाउनका लागि बल प्रयोग गर्‍यो । प्रहरीको बल प्रयोगपछि झडपको स्थिति भयो । प्रहरीले दर्जनौं सेल अश्रुग्यास प्रहार गर्‍यो । हवाई फायर गर्‍यो । त्यति गर्दा पनि भीड नियन्त्रणमा नआएपछि गोली चलायो । त्यसक्रममा एक बालकको मृत्यु भयो । अरु ४ जना गोली लागेर घाइते भए । यसअघि पनि प्रहरीको लाठीचार्ज र गोलीबाट घाइते भएका मध्ये एक जनाको अहिले काठमाडौंमा उपचार भइरहेको छ भने एक जनाको जिल्लामै उपचार भइरहेको छ । शुक्रबारको घटनामा समेत गरी ६ जना अस्पतालमा छन् । अरु सामान्य घाइते बन्नेहरु धेरै छन् । प्रहरीले पनि आफ्नो तर्फ केही प्रहरीहरु घाइते भएको बताउँदै आएको छ । शुक्रबारको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्ने र गोली नै चलाउनुपर्ने स्थिति नरहेको स्थानीय बताउँछन् । तर, प्रहरी प्रशासन निकै नै आत्तिएको र डराएको हुनाले यसले गोली चलाएको देखिन्छ । केही दिनयता चर्केको स्वतस्फूर्त आन्दोलनका कारण प्रहरीहरु निकै आत्तिएका देखिन्छन् । जिल्ला प्रशासनको गेटै अगाडि प्रदर्शन भएकाले पनि प्रहरीहरु बढी आत्तिएको देखिन्थे । शुक्रबारको घटनापछि अब कञ्चनपुर झनै तनावग्रस्त हुने स्थिति देखिएको छ । कञ्चनपुरमात्रै होइन, शुक्रबार कैलालीमा समेत केही युवाले नाराजुलुस गरे । गोलीकाण्डपछि शनिबारदेखि झनै आन्दोलन चर्किने खतरा बढेको छ । निर्मल प्रकरणसित जोडेर शुक्रबार स्थानीयले भीमदत्त नगरपालिकाका मेयरको घरमा पनि तोडफोडको प्रयास गरेका छन् । त्यो रहस्यमय घर निर्मला पन्त किताव लिनका लागि जुन घरमा गइन् । तर, त्यो घरदेखि नै यो घटना एकदमै रहस्यमय छ । त्यो घर दुईतल्ले छ, त्यहाँ बम दिदीबहिनीमात्रै बस्थे । उनीहरुका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए । घरमा उनका छोरीहरु रोशनी आँचल र बबिता मात्रै बस्थे । निर्मलाकी साथी रोशनी १८ वर्षकी छिन् भने उनकी दिदी बबिता अझै जवान भइसकेकी छिन् । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन । स्थानीयका अनुसार त्यो घरमा दुईजना केटाहरु प्रायाः आवत-जावत गरिरहन्थे । पछि पत्ता लागेअनुसार ती दुईजना केटाहरुमा एकजना कञ्चनपुरकै एसपी डिल्लीराज विष्टका छोरा रहेछन् । अर्काचाहिँ भीमदत्त नगरपालिकाका मेयरका भतिजा रहेछन् । स्थानीयका अनुसार दिदी बहिनीमात्रै भएको त्यो घरमा ती दुई युवकहरु बाक्लै आउने-जाने गर्थे । स्थानीयबासीको माग के रहेछ भने निर्मलाको बलात्कार र हत्या प्रशरणपश्चात एसपीका छोरा र मेयरका भतिजालाई पनि प्रहरीले छानविनको दायरामा ल्याओस् र उनीहरु दोषी भए नभएको जनसमक्ष स्पष्ट पारोस् । निर्मला गएकी घरमा बस्ने आँचल र बबिता बममाथि पनि अनुसन्धान गरियोस् । तर, प्रहरीले २४/२५ दिनसम्म उनीहरुमाथि कुनै अनुसन्धान नगरी फ्याट्ट मानसिक रोगीलाई बलात्कारीको पगरी भिराएपछि स्थानीयवासी सडकमा उत्रिएको स्रोत बताउँछ । त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झै रहस्यमय छन् । जस्तो- घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो । निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयले जानकारी दिएका छन् । निर्मला उक्त घरमा होमवर्क गर्न राति गएकी पनि हैनन, बिहान ११ बजेतिर गएकी हुन् । बम दिदीबहिनीहरु निर्मला त्यहाँबाट २ बजे साइकल लिएर निस्किएको बताउँछन् । हामीले उनलाई अम्बा दिएर पठाएका हौं भन्छन् । शंकास्पद वयान र वस्तुस्थिति साउन १० गते बेलुका ५ बजेसम्म पनि निर्मला घरमा नआउँदाखेरि उनकी आमा निर्मलालाई खोज्दै बम परिवारको घरमा पुगिन् । निर्मलाकी आमालाई बबिताले छोरी अघि नै घर गईसकी, हामीले अम्बा दिएर पठाएका हौं भनेकी थिइन् । तर, अहिलेसम्म आइन त भन्दाखेरि ‘पोइल गई होली’ भन्ने जवाफ फर्काएको निर्मलाकी आमाको भनाइ छ । छोरी नभेटिएपछि निर्मलाकी आमा नजिकैको प्रहरी कार्यालयमा पुगिन् । तर, प्रहरीले उनलाई ‘अब भोलि खोजौंला’ भन्ने जवाफ दियो । त्यति भन्दाभन्दै पनि उनी राति २ बजेसम्म त्यहीँ प्रहरी कार्यालय परिसरमै भौतारिइरहिन् । छोरी खोजिदिनुपर्‍यो भनेर उनले बारम्बार आग्रह गरिरहिन् । परिवारका सदस्यले रातिसम्म निर्मलालाई खोजिरहे । तर, प्रहरीले उनीहरुको आर्तनादलाई खासै ध्यान दिएन । निर्मलाकी आमा भोलिपल्ट बिहान फेरि बम दिदीबहिनीका घरमा पुगिन् । निर्मला त आइन, कहाँ गई भन्दाखेरि त्यहीबेलामा कसैले उखुबारीमा साइकल फेला परेको जानकारी दियो । प्रहरीको भनाइ अनुसार घाँस काट्न जानेले निर्मलाको साइकल र शव फेला पारेका हुन् । त्यतिबेला बबिता बमले ‘उसोभए लास पनि त्यहीँ होला’ भनेको निर्मलाका परिवारको दाबी छ । यो कुरा बबिताले सीआइबीसँग पनि स्वीकार गरेको पीडित परिवारको भनाइ छ । प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई पक्रेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि फेरि आन्दोलन चर्कियो, त्यसपछि बल्ल बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षामा दियो । उनीहरुका बुबाआमा आएसकेपछि अहिले बुबाआमाको जिम्मा लगाइएको छ । र, उनीहरु अहिले त्यही दुईतल्ले घरमा बसिरहेका छन् । केटीका बुबाआमासँग एसपी डिल्लीराज बिष्टको पुरानो चिनजान रहेको स्थानीयको भनाइ छ । बबिताकी आमासँग यसबारे कुरा गर्दा उनी ‘एसपी डिल्लीराज हाम्रा लागि भगवानसरह हुन्’ भन्छिन् । तर, स्थानीयवासीहरु रुष्ट हुनुको कारण के छ भने यो घटनामा दोषी पत्ता नलाग्नुमा प्रहरीको, खासगरी एसपी विष्टकै केही भूमिका हुन सक्छ कि भन्ने आशंकाले काम गरेको देखिन्छ । तर, यतिका दिनसम्म स्थानीयले जसलाई शंकाको नजरले हेरे, निर्मलाको हत्यारा पत्रा लगाउने जिम्मेवारी उनैका काँधमा थियो, जसले अन्ततः एकजना मानसिक रोगीलाई अपराधीका रुपमा कञ्चनपुरवासी समक्ष प्रस्तुत गरे । न्याय माग्ने स्थानीयवासीमाथि गोली र लाठी बर्साए । मानसिक रोगीको आफ्नै कथा प्रहरीले हत्यारा र बलात्कारी भन्दै पक्राउ गरेको ४१ वर्षीय दिलिपसिंह बिष्टलाई मानसिक सन्तुलन गुमाएको ‘पागल’ मान्छे भनिएको छ । पत्रकार सम्मेलनमा प्रहरीले के भनेको थियो भने विष्टले महिलाहरुलाई जहाँ पायो त्यहीँ जिस्क्याउँदै हिँड्थ्यो, घरकै सदस्यलाई बलात्कार गर्न खोज्थ्यो । तर, यस्तो अभिव्यक्तिले प्रहरी झनै नैतिक संकटमा पर्‍यो । स्थानीयले प्रहरीको यो कार्यलाई ‘नाटकको संज्ञा’ दिए । निर्मलाको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका बिष्ट पक्राउ परेका विष्टको घर रहेको वडा नं १८ खन्ना चाैराहमै पुगेर हामीले स्थानीयसँग बुझ्दाखेरि ती मानसिक सन्तुलन गुमाएका विष्ट त महिलामाथि आक्रमण गर्ने होइन कि महिलाहरु देख्दा बाटो छाडिदिने स्वाभावका रहेछन् । उनी महिलासँग नजिकै नआउने, महिलाले खाने कुरा दिए भने हातले नसमाएर भुइँमा राखिदिने गर्दारहेछन् । पक्राउ परेका विष्टले पहिले पनि भिनाजु पर्नेलाई मारेर जेल परेको प्रहरीको भनाइ छ । तर, उनले भिनाजुलाई मार्छु भनेर हानेको नभई झगडा हुँदाखेरि चिर्पटले हान्दा मृत्यु भएकाले जेल परेको स्थानीयले सुनाए । त्यसरी करिब ९ वर्ष जेल परेपछि उनको मानसिक सन्तुलन गसमेको स्थानीयले अनलाइनखबरकर्मीलाई सुनाए । तर, दिलिपसिंहका बुबाको भनाइ चाहिँ अलि बेग्लै छ । उनले हामीसँग गरेको दाबी के छ भने ८ कक्षामा पढ्दाखेरि उनलाई शिक्षकले निर्घात पिटेका थिए । त्यसपछि उपचारका लागि भारतको बरेलीमा लगिएको थियो । धेरै खर्च गरेर उपचार गर्दा पनि आफ्नो छोरो सञ्चो नभएको पिताको भनाइ छ । तर, प्रहरीले भने उनी ८ कक्षा पढ्दा प्रेम वियोगमा परेको र केटीहरुलाई समाउँदै हिँड्ने गर्दा पिटाइ खाएको दाबी गरेको छ । भिडियो खिचेको छ भन्दै जाहेरी दिन परिवारलाई दबाव यसैवीच मानसिक सन्तुलन बिग्रिएको व्यक्तिलाई पक्रिइसकेपछि मृतक निर्मला पन्तका बुबालाई प्रहरीले उनीविरुद्ध किटानी जाहेरी दिन दबाव दियो । तर, निर्मलाका बुबाले त्यो केटाले प्रहरीलाई कस्तो वयान दिएको छ, मलाई सुनाउनोस् अनिमात्रै जाहेरी दिउँला भन्ने अडान राखे । प्रहरीले ‘हामीले उसको भिडियो रेकर्ड नै गरेका छौं, तपाईलाई देखाउँछौं’ भने, तर देखाएनन् । त्यसपछि निर्मलाका बुबाआमाले अहिलेसम्म ती मानसिक रोगीविरुद्ध जाहेरी दिएका छैनन् । उनीहरुले त्यो व्यक्ति आफ्नी छोरीको हत्यारा होला भनेर पत्याएका छैनन् । प्रहरीले जसलाई पागल र हत्यारा भनेर देखायो, त्यो अपराधी हैन भन्ने स्थानीयको दाबी छ । बरु घटनास्थलको वस्तुस्थिति हेर्दाखेरि स्थानीय भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको भतिजा र एसपी डिल्लीराज विष्टका छोरामाथि पनि छानविन हुनुपर्छ भनेर स्थानीयले माग गरिराखेको पाइयो । एसपी विष्टसँग नजिकको सम्बन्ध रहेको भनिएको बमको परिवार सामान्यतः हुनेखाने नै मानिन्छन् । उनीहरु दुईतले घर र व्यवसाय भएका व्यक्तिहरु हुन् । उनीहरुले आफ्नो घरसमेत भाडामा नलगाई राखेका थिए । तर, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवार भने गरीब परिवार हो । यसरी एसपीसँग राम्रो सम्बन्ध रहेको परिवारको संरक्षणमा लागेर प्रहरी प्रशासनले एकजना गरीबकी छोरीलाई न्याय निसाफ दिलाउन अटेर गर्नु नै कञ्चनपुर घटनाको अन्तर्य रहेको स्थलगगत अध्ययनबाट पाइयो । बलात्कार र हत्याका घटनामा कसको संलग्नता छ, अहिले नै किटेर कसैमाथि आरोप लगाइहाल्न मिल्दैन, तर वस्तुस्थितिले जोजोमाथि अनुसन्धानको माग गर्छ, तिनीहरुमाथि रौंचिरा अनुसन्धान नगर्दासम्म अपराधी पत्ता लाग्न मुस्किल छ । अपराधी भीआइपी होस् या अरु नै कोही होस्, वास्तविक दोषीलाई पत्तो लगाउनैपर्छ र निर्मलालाई न्याय दिलाउनैपर्छ । तर, नेकपाका नेताहरुले आफ्नो पार्टीको मेयर वा प्रहरी अधिकारी वा अरु केही आधारमा घटनालाई ढाकछोप गर्नतिर लागे भने स्वाभिमानी कञ्चनपुरबासीहरुले एसपी र सिडियोकोमात्रै होइन, दुईतिहाईवाला सरकारका गृहमन्त्रीकै राजनीनामा पनि नगराउलान् भन्न सकिँदैन, घटनाको गम्भीरता हेर्दा । त्यसैले यो घटनामा सरकार बेलैमा सम्वेदनशील होस् । शंकाको घेरामा रहेका व्यक्तिहरुमाथि तत्कालै छानविन थालियोस् । update,................................... निर्मला हत्या प्रकरणः प्रहरीले नै प्रमाण मासेको आशंका ! personपत्रपत्रिकाबाट access_timeभदौ १५, २०७५ chat_bubble_outline0 5k Shares भीमदत्त २ उल्टाखाकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी प्रमुखसहितले प्रमाण मेटाउन लागेको स्थानीयले आशंका गरेका छन् । घटनास्थलमाा शवसँगै भेटिएको निर्मलाको सुरुवाल प्रहरीले नै धोएर निचोरेको, घटनास्थलको सुरक्षा नगरेको, निर्मला पढ्न गएको बम परिवारको आँगनको अम्बाको रुख काटिएको र घरभित्र रंगरोगन गरिएको विषय शंकास्पद रहेको उनीहरु बताउँछन् । शव भेटिएकै समयदेखि प्रहरीले प्रमाण मेटाउने काम गरेको छ, नत्र त्यो सुरुवाल धोएर किन निचोर्यो ? , एक स्थानीयले भने, प्रहरीले घटनास्थलको सुरक्षामा पनि खासै चासो दिएन । प्रहरीले निर्मलाको सुरुवाल धोएर निचोरेको भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको छ । अम्बाको रुख हलिे नै किन काटियो, निर्मलाले रुखमा चढेर अम्बा टिपेको कुरा पनि आएको छ, अर्का स्थानीय रतन ओझाले भने । निर्मलाकी आमा दुर्गादेवी पनि यिनै विषयलार्य जोडेर बम दिदीबहिनीमाथि शंका व्यक्त गरिरहेकी छिन् । छोरी खोज्न जाँदा उनीहरुले देखाएको व्यवहार र क्रियाकलापले पनि घटना तयही घरभित्र भएको हुन सक्ने उनको बुझाई छ ।, आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ । update........................... कञ्चनपुरकी १३ वर्षीया वालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनासम्बन्धी अनुसन्धानमा लापरवाही भइरहेको समाचार अनलाइनखबरले भदौ ८ गते प्रकाशित गरेको थियो । कहाँ लुके निर्मलाका हत्यारा ? भीआइपीमाथि स्थानीयको शंका शीर्षकमा प्रकाशित उक्त समाचारपछि बल्ल राज्यले अनुसन्धानमा तदरुकता देखायो । घटना भएको एक महिनापछि भदौ ९ गते बिहान बालुवाटारमा नेकपाको सचिवालय बैठक बस्यो । कञ्चनपुरका एसपीलाई निलम्बन गर्ने निर्णय भयो । सिडियो, डीएसपीहरु नयाँ पठाइयो । निर्मला होमवर्क गर्न गएको घरबाट बम दिदीबहिनीलाई पक्राउ गर्न गृहमन्त्रालयले जिल्लालाई निर्देशन दियो । तत्कालीन एसपीका छोरा र भीमदत्तका मेयरका भतिजलाई पनि अनुसन्धानको दायरामा ल्याउने निर्णय गृह प्रशासनले गर्‍याे । घटनामा एसपीका छोरा, मेयरका भतिज वा बम दिदीबहिनीहरुको कुनै संलग्नता छ कि छैन भन्ने कुरा प्रहरी अनुसन्धानपछिमात्रै खुल्ने विषय हो । उनीहरुलाई अहिले नै दोषी भनेर आरोप लगाउन मिल्दैन । तर, जुन घरबाट निर्मला पन्त हराइन्, सोही घरबाट अनुसन्धान सुरु हुनुपर्छ र शंका लागेका जति सबैमाथि अनुसन्धान हुनुपर्छ भन्ने स्थानीयबासीको भावना थियो । उनीहरुको आन्दोलनको आवाज पनि त्यही नै थियो । पीडित परिवार र स्थानीयवासीको आवाजलाई कञ्चनपुर प्रहरी प्रशासनले तीन हप्तासम्म गोलीले दबाउने प्रयास गर्‍याे । २४ दिनसम्म पनि पीडितको भावनालाई राज्यले कदर नगरेपछि अनलाइनखबरले स्थानीयबासीहरुको दबिएको सोही आवाजलाई भदौ ८ गते खोजमूलक ढंगबाट बाहिर ल्याउने प्रयास गरेको थियो । परिणामस्वरुप अहिलेसम्म आइपुग्दा घटनाक्रम धेरै अगाडि बढिसकेको छ । बम दिदीबहिनीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । कञ्चनपुर प्रहरीले स्थानीयबाट आशंका गरिएका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा किरण र भीमदत्तका मेयर सुरेन्द्र विष्टका भतिजा आशुषसँग पनि सोमबार र मंगलबार वयान लिएको छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्या अनुसन्धानको विषयमा भएकाे प्रदर्शन । पीडित परिवार र स्थानीयवासीले बम र विष्टहरुमाथि आशंका गरेपछि प्रहरीबाट उनीहरुमाथि सोधपुछ गरिएको हो । तर, उनीहरुको वयानपछि घटनामा संलग्नता पुष्टि गर्ने आधार नभेटिएको प्रहरीको भनाइ छ । एसपीका छोरा र मेयरका भतिजको जस्तै प्रहरी नियन्त्रणमा रहेका बम दिदीबहिनीबाट पनि घटनामा संलग्नता अहिलेसम्म नभेटिएको प्रहरीको प्रारम्भिक निश्कर्ष छ । घुमीफिरी रुम्जाटार ? अन्ततः अहिलेसम्म आइपुग्दा प्रहरीको ध्यान फेरि मानसिक सन्तुलन गुमाएका भनिएका दिलिपसिंह विष्टतिर नै मोडिन थालेको छ । बम दिदीबहिनी, एसपीका छोरा र मेयरका भतिजमाथि शंका गर्ने आधार नभेटिएको भन्दै प्रहरीको नजर दिलिपसिंहतिर सोझिएको हो । यसअघि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटनाको अनुसन्धान थालेको २६ औं दिनमा भीमदत्त नगरपालिका–१९, बागफाँटाका ४१ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो । तर, स्थानीयले विष्ट मानसिक सन्तुलन गुमाएको व्यक्ति भएको र घटनामा उनको संलग्नता नभएको आरोप लगाउँदै आन्दोलन चर्काएका थिए । त्यसक्रममा प्रहरीको गोली लागेर एकजना बालकको मृत्युसमेत भयो । सरकारले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको नेतृत्वमा छानबिन समिति गठन गर्‍याे । अहिले सो उच्चस्तरीय समितिले अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । (थप समाचार) सुरुमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले गरेको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का डीएसपी नेतृत्वको टोलीले समेत प्राविधिक सहयोग गरेको थियो । स्थानीयको विरोधपछि अहिले वरिष्ठ उपरीक्षक (एसएसपी) नेतृत्वमा सीआइबीको टोली कञ्चनपुर खटिएको छ । एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा डीएसपी कमल थापा र दुई जुनियर प्रहरी अधिकृतसहित गएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा घटनाको सुक्ष्म अध्ययन, विश्लेषण र अनुसन्धान गरिरहेको छ । सूत्रहरुका अनुसार प्रहरीको नयाँ अनुसन्धान टोलीले गरेको अनुसन्धानको प्रमाणले पनि मानसिक सन्तुलन गुमेका भनिएका दिलिपसिंह विष्टतर्फ नै संकेत गरेको छ । त्यसैले यो घटनामा निर्मलाका हत्यारा अरु नयाँ व्यक्ति फेला नपर्ने र घुमीफिरी रुम्जाटार भनेजस्तो पुरानै व्यक्ति दोषी ठहरिन सक्ने प्रहरी अनुमान छ । प्रहरीबाट यसअघि सार्वजनिक गरिएका र उपचारका लागि काठमाडौं ल्याइएका दिलिपसिंह विष्टको डीएनए परीक्षण गर्ने र त्यसको रिपोर्ट आएपछि सत्य कुरा छर्लङ्ग हुने प्रहरी अधिकारीहरुले विश्वास गरेका छन् । मानसिक सन्तुलन गुमाएको व्यक्तिसमेत बलात्कार र हत्याको घटनामा संलग्न हुन सक्छ भन्ने प्रहरी अधिकारीहरुको दाबी छ । मानसिक अवस्था ठीक नभएको मानिस पनि बलात्कारका घटनामा संलग्न हुने गरेको उदाहरण पेश गर्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनलाइनखबरसँग भनेका छन्– ‘रौतहटमा त्यस्तैखालको (मानसिक सन्तुलन गुमाएको) मान्छेले तीनपटकसम्म सिरियल रेप गरेको घटनाले देखाउँछ । बारामा त्यस्तै भयो । मगज अलि डिस्अर्डर टाइपको मान्छेले बलात्कार गरेको घटना आयो । त्यसर्थ ‘यसले गर्छ र यस्तो ?’ भन्ने कुराको अनुमान गर्नुभन्दा पनि कसले गर्‍याे, त्यो कुरामा जान जरुरी छ ।’ हुन त स्थानीयवासीरुले दिलिपसिंह विष्ट निर्मलाको हत्यारा हुन नसक्ने र दोषी अरु नै हुन सक्ने आशंका जनाइरहेका छन् । तर, को अपराधी हो र को होइन भन्ने कुरा बाहिरका मान्छेले भन्न नमिल्ने बताउँदै आइजी खनाल भन्छन्– ‘अनुसन्धान गर्न कानूनले हामीलाई समय दिएको छ, त्यो टाइम त हामीलाई दिनुपर्‍याे नि । बाहिरकाले यो हैन, यो हो भन्न मिल्ला त ?’ (हेर्नुहोस् खनालसँगको अन्तरवार्ता) निर्मलाको सुरुवालदेखि प्रहरीको कुकुरसम्म ! दिलिपसिंह विष्टको ‘डीएनए’ परीक्षण गर्ने भन्नुको अर्थ वारदात स्थल वरपर वा निर्मलाको शवसँगै फेला परेका चिजवस्तुसँग विष्टको डीएनए भिडाएर हेर्ने हो । जस्तो– घटनास्थलमा अपराधीले खसाएको रौं वा वीर्य आदिलाई नमूनाका रुपमा लिएर शंकास्पद व्यक्तिको डीएनएसँग ‘म्याच’ गराउँदा मेल खायो भने सोही आधारमा दोषी हो वा होइन भनेर ठम्याउन सजिलो हुन्छ । डीएनए जाँच गर्दा डाक्टरहरुको र प्रहरीको कुनै मिलेमतो छैन भन्ने विश्वसनीय आधार दिन सक्नुपर्छ । डीएनएको मेडिकल रिपोर्ट तथ्यपरक एवं विश्वसनीय ढंगबाट आउनु जरुरी हुन्छ अपराध अनुसन्धानमा । अन्यथा, डीएनएको हवाला दिएर घटना सामसुम हुन सक्ने खतरा पनि रहन्छ । तर, सही ढंगले डीएनए जाँच गराइयो भने दिलिपसिंहले नै यस्तो अपराध गरेको रहेछ भने त्यो प्रमाणित हुन सक्छ । वा, उनी निर्दोष ठहरिए भने अनुसन्धान अरुतिर सोझिन्छ । तर, यो दुबै स्थिति डीएनए परीक्षणपछि नै थाहा हुने विषय हो । तर, यहाँ अर्को एउटा जटिल प्रशन के छ भने उखुबारीको धमिलो पानीमा आधाउधी डुबेको निर्मलाको अर्धनग्न शव प्रहरीले बरामद गर्दा उनको सुरुवाल पखालेको भिडियोसमेत यसअघि सार्वजनिक भैसकेको छ । हुन त सिभिल पोशाकमा रहेकी महिला प्रहरीले निर्मलाको सुरुवाल प्रमाण नष्ट गर्ने उद्देश्यले पखालेको देखिन्न । त्यहाँ शवको गुप्ताङ्ग ढाक्ने अन्य चिज नभेटिपछि छेउमा रहेका प्रहरी नायव निरीक्षकले शवको अंग ढाक्न संकेत गर्दा महिला प्रहरीले हिलाम्मे सुरुवाल उठाउँछिन् र धमिलो पानीमा चोपलेर पखाल्छिन् । यसमा अनुसन्धानकर्ता प्रहरीको नियत नै धमिलो नहोला, तर हत्या भएको स्थानमा भेटिएको सुरुवाललाई त्यसरी पखाल्नुको साटो प्रमाणका रुपमा सुरक्षित गरिएको भए त्यसमा बलात्कारीको वीर्य वा रौं आदि फेला पार्न सकिन्थ्यो । अनि त्यही आधारमा डीएनए वा अन्य परीक्षणका लागि सजिलो पर्ने थियो । तर, यसमा प्रहरी टोलीको अपरिपक्वता झल्किएको छ । भलै, प्रहरीले त्यसरी सुरुवाल पखालेको स्थितिमा पनि अहिले डीएनए परीक्षणका लागि घटनमास्थलमा अपराधीले छाडेका कुनै चिजवस्तु फेला पारेको र सुरक्षित राखेको रहेछ भने त्यो राम्रो कुरो हो । यसैवीच निर्मला पन्तको हत्या प्रकरणबारे चर्चा गर्दा प्रदेश नम्बर ७ मा रहेको नेपाल प्रहरीको कुकुर शाखामाथि पनि प्रश्न उठेको छ । नेपाल प्रहरीले प्रदेश ७ मा कुकुर शाखा त खोलेको छ, तर त्यहाँ रहेका कुकुरलाई मासुभात खुवाएर मात्रै पालिएको छ । यस्ता गम्भीर अपराधका घटनामा कुकुरको प्रयोग गर्ने गरिएको छैन । नेपाल प्रहरीले प्रदेश ७ को कुकुर शाखालाई निर्मलाको हत्यास्थल किन प्रयोग गरेन ? यो प्रश्न पनि अहिलेसम्म निरुत्तरित नै छ । अपराध अनुसन्धानमा सघाउ पुर्‍याउने उद्देश्यले प्रदेश ७ मा स्थापना गरिएको डग क्यानल प्रयोगमा नल्याइँदा पनि अपराधी पत्ता लगाउन थप जटिलता भएको हो । गत वर्ष फागुन १७ गते संघीय प्रहरी ईकाई कार्यालयमा स्थापना गरिएको डग क्यानलको उद्घाटन गर्दै तत्कालीन एआइजी माधव नेपालले अब अपराधी लुकेर बस्न नसक्ने बताएका थिए । उनले तालिम प्राप्त कुकुरहरुका कारण जस्तोसुकै अपराधी पनि अब कानुनको कठघरामा आउने ठोकुवा गरेका थिए । ...................................... Investigation delay into Nirmala’s rape and murder case raises suspicion - CHITRANGA THAPA, BHAWANI BHATTA, KANCHANPUR Nirmala’s grieving parents (left) with a family member on Wednesday. The drawn-out investigation into the rape and murder of 13-year-old Nirmala Panta in Kanchanpur district has stoked public rumour that the authorities are deliberately delaying the probe to protect the perpetrators. The suspicion has gained ground as the case has already led to suspension of the district police chief and transfer of chief district officer for allegedly mishandling the investigation in the wake of the July 26 incident. “Police have been saying that the investigation is ongoing. But it is hard to trust them due to all the controversies surrounding the event. Who knows, they could still be conspiring to protect the real perpetrators?” said Nirmala’s mother Durga Devi. Nirmala’s family and many people in Kanchanpur suspect that the authorities are trying to frame Dilip Singh Bista, a mentally ill man whom police have presented as the main suspect behind the crime—the claim that Kanchanpur residents have vociferously dismissed. After the protests over Nirmala’s gruesome killing and police allegedly framing an innocent man turned violent in the weeks following the incident—a teenage boy was shot dead and scores of people were injured when police opened fire at a rally on August 24, the Home Ministry formed a five-member probe team to revisit the case. The newly appointed police chief of Kanchanpur, SP Kuber Kadayat, also vowed to catch the perpetrators. Neither the probe team nor the district police under a new leadership have achieved a significant progress in the case. SP Kadayat said the investigation is in progress. “Police have completed recording statements of Roshani Bam and Babita Bam, two sisters believed to be the last persons to see Nirmala alive. The investigation is in progress. I cannot give any more details,” he said. SP Kadayat also dimissed the rumour that Kiran, the son of former district police chief SP Dilli Bista, and Aayush, a close relative of Bhimdutta Mayor Surendra Bista, were involved in the incident. Meanwhile, lawmakers, people’s representatives and leaders of Kanchanpur have urged police to expedite the investigation. “Police should fairly investigate into the case. Innocent persons should not be framed and the guilty should not be spared,” said Mayor Surendra Bista. Ramesh Lekhak, central member of Nepali Congress, demanded the authorities concerned to arrest the real perpetrators. “Delay in investigation process has raised several suspicions among the people. It is the job of police to deliver justice to Nirmala,” he said.

0 Comments

Related Reports
Related Trend Analysis