Incident Reports

एमाले र एमाओवादीबीच विभिन्न स्थानमा भएको झडपमा पाँच जना घाइते

2013-11-16

Nepal

Meena Budathoki डाडागाउँ, कजेरी र शिद्धेश्वरी गाविसमा एकीकृत माओवादी र नेकपा एमालेका कार्यकर्ता बीच मङ्सिर १ गते राति भएका झडपमा दुवै पार्टीका पाँच जना कार्यकर्ता घाइते भएका छन् । डाँडागाउँ गाविस-३ मा एकीकृत माओवादी पार्टीमा स्थानीयबासी प्रवेश गरेको विषयमा मङसिर १ गते राति दुई दलबीच विवाद भएको थियो । विवादपछि सोही ठाउँबाट मोटरसाइकलमा घर जाँदै गरेका एमाले जिल्ला सचिवालय सदस्य डाडागाउँ गाविस-८ का ४२ वर्षीय कुलबहादुर गिरी, उनका छोरा १८ वर्षीय निकुञ्ज गिरी र सोही ठाउँका १८ वर्षीय गोविन्द गिरीलाई एमाओवादी कार्यकर्ताले कजेरी गाविसको वरलामा कुटपिट गरेको एमालेले आरोप लगाएको छ । यसैगरी एमाले कार्यकर्ताको कुटपिटबाट डाडागाउँ गाविस-१ निवासी एमाओवादी कार्यकर्ता ३६ वर्षीय रेशम वली घाइते भएको एमाओवादी सल्यानले जनाएको छ । कुटपिटबाट घाइते सबैको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । एमाओवादी कार्यकर्ताले एमालेका कार्यकर्ताले प्रयोग गरेको रा २ प ४३०३ नम्वरको मोटरसाइकल कजेरी गाविसको बरलामा आगो लगाएका छन् । मोटरसाइकलमा आगो लगाइएको घटनालाई लिएर आक्रोशित एमाले कार्यकर्ताहरूले मङ्सिर १ गते राति शिद्धेश्वरी गाविसको डाँडाकटेरीमा क्याम्प खडा गरेर बसेका एकीकृत माओवादीका कार्यकर्तामाथि आक्रमण गरेका छन् । एमाले कार्यकर्ताको आक्रमणबाट शिद्धेश्वरी गाविस-८ का २९ वर्षीय विवेकमान बुढाथोकी घाइते भएका छन् । घाइते बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ । एकीकृत नेकपा माओवादीका कार्यकर्ताले एमालेका कार्यकर्तालाई लखेटेर कुटपिट गरेको भन्दै एमालेले आपत्ति प्रकट गरेको छ भने एमालेले आफ्ना पार्टीका कार्यकर्तामाथि आक्रमण गरेकाले आफूहरूले प्रतिकार गरेको एकीकृत माओवादीले जनाएको छ । एमालेका कायर्कताले एमाओवादीका दुईजना कार्यकर्ता अपहरण गरेको दावी गरेपनि यसको पुष्टि हुन सकेको छैन । घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । मीना बुढाथोकी

0 Comments

Related Reports
Related Trend Analysis