Incident Reports

सिके राउतले छोडे स्वतन्त्र मधेश आन्दोलन, सरकारसँग ११ बुँदे सहमति

2019-03-09

स्वतन्त्र मशेध गठबन्धनको अभियान चलाइरहेका सिके राउतले पृथकतावादी अभियान परित्याग गरेका छन् । नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको छ ।

राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्प कमल दाहालको उपस्थितिमा सहमति घोषणा कार्यक्रम भएको हो । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र मधेश गठबन्धनका तर्फबाट सिके राउतले ११ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यो सहमति आजैका मितिदेखि लागु हुने पनि घोषणा गरिएको छ । यो सहमतिलाई नेकपा केन्द्रीय सचिवालयले अनुमोदन गरेको थियो । नेकपा केन्द्रीय सचिवालयको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सहमतिबारे जानकारी गराएका थिए ।

यो सहमति राष्ट्रिय अखण्डताप्रति घातक हुने चेतावनी सचिवालयका दुई सदस्य बामदेव गौतम र नारायणकाजी श्रेष्ठले दिएको बुझीएको छ ।

0 Comments