2019-07-18
Nepal
काठमाडौँ — एक जोडीबीच पाँच वर्षयता चलेको गहिरो प्रेमसम्बन्ध अहिले आएर एकाएक चिसिएको छ । यो सम्बन्धलाई एसिड–प्रहार गर्दै ‘सधैंका लागि टुंग्याइदिने’ धम्कीयुक्त सूचना यतिखेर राष्ट्रिय महिला आयोगमा परामर्श र संवादको खुराक बनेको छ ।
प्रेमको सुरुवाती वर्ष निकै सुमधुर थियो । बिस्तारै प्रेमिकालाई प्रेमीको इच्छाविपरीत हिँडडुल गर्न वा अन्य पुरुषसँग बोल्नै पनि रोकतोक हुन थाल्यो । प्रेमिका काम विशेषले कतै आफूखुसी हिँडेको वा बोलेको देखे मात्रै प्रेमीले मानसिक यातना दिन थाले । हुँदाहुँदै ‘जुनैबेला पनि एसिडले प्रहार गरेर मार्ने’ धम्की प्रेमिकाले पाउन थालिन् । हरदम प्रेमीको आदेशमा बस्नैपर्ने, अन्यथा मर्नुपर्ने स्थिति उब्जिएपछि प्रेमिकाले ‘जीउज्यानको सुरक्षा गरिपाउँ’ भनेर हालै महिला आयोगमा उजुरी दर्ता गरेकी हुन् ।
उजुरबाजुरपछि आयोगले दुवै जनालाई झिकायो । आयोगका अधिकारीसामु प्रेमीले ‘तर्साउनकै लागि मात्रै धम्काएको’ प्रस्टीकरण दिए भने प्रेमिका डरले बोल्न सकिरहेकै थिइनन् । आयोगले ‘अब आइन्दा धम्क्याउने, डरत्रास देखाउन फोन सम्पर्क मात्रै गरे पनि कानुनी सजाय दिलाउने’ चेतावनी दिएर दुवैलाई फिर्ता पठायो । त्यस दिनदेखि यो जोडी आ–आफ्नै बाटोमा लागेको छ । आयोगकी मुद्दा व्यवस्थापक विमलाखड्का भन्छिन्, ‘एसिड प्रहार गर्नेजस्ता केही संवेदनशील विषय पनि उजुरीमा आउने गरेका छन्, यसको भित्री पाटो आफैंमा भयावह हुन्छ ।’
नक्सालस्थित प्रहरी प्रधान कार्यालयको पछिल्लो पाँच वर्षका तथ्यांकले पनि एसिड प्रहारका घटना बढ्दै गएको देखाएको छ । पीडित हुनेमा महिलाको संख्या अधिक छ । आर्थिक वर्ष २०७१/७२ देखि गत चैतसम्म एसिड प्रहारका १६ घटना भएका छन् । ती घटनामा १३ महिला र ३ पुरुष पीडित भए ।
पहिलो वर्षको तथ्यांकले पीडित महिलाको संख्या ३ देखाएको छ भने चालु वर्षमा संख्या बढेर ५ पुगेको छ । गत वर्षका चार घटनामा दुई महिला र दुई पुरुष पीडित भए । यो वर्ष बितेका ९ महिनामा भएका पाँच घटनामा पाँच महिला पीडित भएका छन् ।
यी सबै घटनामा २० आरोपीमध्ये १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । यीमध्ये दुईविरुद्ध कर्तव्य ज्यान, १३ विरुद्ध ज्यान मार्ने उद्योग र एक जनाविरुद्ध केही सार्वजनिक अपराध मुद्दा चलाइएको छ । बितेको पाँच वर्षका घटनालाई हेर्दा उपत्यका र तराईका केही जिल्लामा हिंसात्मक गतिविधिमा आडका रूपमा एसिड प्रहारलाई लिएको देखिन्छ । काठमाडौं, ललितपुर, चितवन, रौतहट, पूर्वी नवलपरासी, दाङ, सुर्खेत, रूपन्देही, सर्लाही र महोत्तरीमा एसिड प्रहारका घटना भएका छन् ।
धेरैजसो घटना आफन्त वा चिनेजानेकैबाट भएको देखिएको छ । केहीमा पेसेवर प्रकारका आक्रमणकारी संलग्न देखिन्छन् । १६ घटनामध्ये ५ वटा पतिपत्नीबीच विवादका कारण भएको देखिन्छ । प्रेमसम्बन्धमा आएको खटपट, लेनदेनमा भएको विवाद, छोराछोरीको सम्बन्धका कारण समाजमा आफू अपहेलित हुने डर र करणी गर्न नपाएको झोंकमा एसिड प्रहार भएको पाइएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रधान कार्यालय सहप्रवक्ता रमेश थापा भन्छन्, ‘एसिड प्रेम र प्रतिशोध, सौन्दर्य, सम्पत्ति, घमण्ड, प्रभावको मनोभावनाले गर्दा र सजिलै आक्रमण गर्न सकिने माध्यमका रूपमा प्रयोगमा आएको छ ।’ प्रायजसो पतिपत्नी, प्रेमीप्रेमिका, आफन्तबीचका खटपट र रिसइबी साध्ने प्रकृतिका घटना छन् । ‘पक्राउ परेकाहरूको बयानले अर्कालाई पीडा दिएर भावनात्मक सन्तुष्टि महसुस गर्ने आपराधिक मनोवृत्ति भएकाहरूले एसिड प्रहार गरेको देखाएको छ,’ उनले भने ।
मुलुकी अपराध संहिता, २०७४ मा कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी जीउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अंग कुरूप पार्ने काम गरे सजायको व्यवस्था गरेको छ ।
कसुरको प्रकृति हेरेर अनुहार कुरूप पारेमा ५ देखि ८ वर्षसम्म कैद र १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अंग कुरूप पारेमा वा शरीरमा पीडा पुर्याएमा ३ देखि ५ वर्षसम्म कैद र ५० हजारदेखि ३ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कडा सजायको प्रावधानपछि यस्ता घटनाप्रति जनमानसमा संवेदनशीलता र सचेतता बढेको पाइएको प्रहरी अधिकारीहरूले बताउने गरे पनि घटना कम नभएको तथ्यांकले देखाउँछ ।
प्रतिशोध साध्न पीडकले सहज रूपमा उपलब्ध एसिड दुरुपयोग गरिरहेका छन् । जस्तो केही महिनाअघि काठमाडौंको कालोपुलमा बेलुकी करिब साढे ७ बजे डेराबाहिर बोलाएर २० वर्षीया जेनी खड्कामाथि पति विष्णु भुजेलले एसिड प्रहार गरे । काभ्रेको पनौतीमा मोटरसाइकल वर्कसपमा कार्यरत उनी सुन पसलबाट मदिराको सानो सिसीमा एसिड लिएर काठमाडौंमा प्रहार गर्न आएका थिए ।
एसिड प्रहारका घटना समेटिएका फिल्म र एसिड प्रहारका घटनाबारे समाचारले पनि युवा उमेर समूहले प्रतिशोध लिन एसिड प्रयोग गर्ने गरेका छन् । सहप्रवक्ता थापाका अनुसार १५ देखि ३२ वर्ष उमेर समूहका किशोर र युवापुस्ताले आपराधिक मनोवृत्तिमा एसिड प्रहार गर्ने वा धम्की दिने गरेका छन् । एसिडको खुला किनबेच र सहज उपलब्धतालाई नियमन गर्नुका साथै प्रहार गर्नेमाथि अझ कडा सजाय व्यवस्था भए एसिडको आडले त्रास बढाउने घटना नहुने अधिकारकर्मी बताउँछन् ।
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
COCAP BIWEEKLY: INCIDENTS SURROUNDING COVID-19 MARCH 1 - 15, 2021
March 25, 2021
GBV / Governance / Covid-19