Incident Reports

श्रीमान्को कुटपिटपछि गर्भपतन l

2013-12-04

Sudurpashchim, Bajhang, Khaptadchhanna

बझाङ, मंसिर १९ - लामो समयदेखि यातना सहँदै आएकी यहाँकी एक महिलाको श्रीमान्को कुटपिटबाट गर्भ तुहिएको छ । श्रीमान्को यातना सहन नसकी जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएकी पाटादेवल ५ की करुणा खड्का (थापा) को सोमबार गर्भ तुहिएको हो । पाँच महिनाको गर्भ बोकी श्रीमान्को यातनाविरुद्ध उजुरी दिन सदरमुकाम पुगेकी थापाको सदरमुकाम चैनपुरमा रहेको महिला सेफ हाउसमा गर्भपतन भएको हो । 'श्रीमान् सधैं मदिरा सेवन गरी कुटपिट गर्ने रहेछन्, प्रहरीलाई निवेदन गर्न यहाँ आएकी थिइन्,' हाउसकी कर्मचारी गीता सिंहले भनिन्, 'सोमबार राति एक्कासि व्यथा लागेर बच्चा झरिहाल्यो ।' करुणा थापाको गर्भपतन भएको जानकारी पाएपछि प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जिल्लास्थित अधिकारकर्मी महिलाहरूको रोहवरमा घटनाको मुचुल्का बनाएका छन् । 'श्रीमान् बाट लामो समयदेखि भइरहेको घरेलु हिंसालाई सहन नसकेर न्याय खोज्न प्रहरीकहाँ आएकी करुणाको यसै पीडाले गर्भमा रहेको बच्चा पनि तुहिएको छ,' प्रहरी निरीक्षक विष्टले भने, 'यो घटनालाई प्रहरीले गम्भीर रूपमा लिएको छ । अपराधीलाई कारबाही गरेरै छोड्ने छौं ।' प्रहरीका अनुसार करुणाको पहिलो निवेदन घरेलु हिंसाको रहेको र अब उनको गर्भपतनपछि घटनाको प्रकृतिसमेत बदलिएको छ । गर्भ तुहिएको बच्चाको हातखुट्टा, शरीरका साथै पुरुष लिंग प्रस्ट देखिन्छ । श्रीमान्को कुटपिट र प्रसव पीडामा रहेकी करुणाले भनिन्, 'म पीडा सहन नसकेर अन्तिम अवस्थामा न्याय खोज्न आएकी हुँ, मेरो श्रीमान् दीपकलाई कारबाही भएको देख्न चाहन्छु ।' कुटपिटबाट उनको अनुहार सुनिएको छ भने शरीरमा चोट छ ।

0 Comments