Incident Reports

क्वारेन्टाइनमा बस्नेको शर्त : दैनिक रक्सी र मासुभात चाहियो !रक्सी र वाईफाई नदिएको भन्दै तोडफोड

2020-05-04

Province 1, Khotang, Halesi Tuwachung

२२ वैशाख, खोटाङ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार देशभरि २२ हजार ९७८ जना क्वारेन्टाइनमा छन् । यो संख्या देशभरि उपलब्ध बेडभन्दा आधा कम हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कुल ४९ हजार १४४ वटा बेड छन् । तीमध्ये २६ हजार १६६ बेड खाली छन् ।

यतिका धेरै बेड किन खाली त ?

‘बस्नैपर्नेहरूले पनि सकेसम्म क्वारेन्टाइनमा बस्न नपरे हुन्थ्योजस्तो गर्छन्’ गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ भन्छन्, ‘आशंकित ठाउँबाट फकर्नेहरूले समेत क्वारेन्टाइन भनेको सरकारका लागि बसिदिने हो जस्तो गर्छन् ।’

कोभिड–१९ (नोवल कोरोना भाइरस) महामारी नियन्त्रण तथा रोकथामका लागि बनाइएको क्वारेन्टाइनमा राख्न कति गाह्रो छ भन्ने बुझ्न खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको अवस्था हेरे पुग्छ ।

नगरपालिकाले ४७ वटा बेड बनाएको छ । प्रत्येक वडामा ३ देखि ५ वटासम्म बेड पनि तयार छन् ।

हलेसी तुवाचुङमा दुई हप्ता क्वारेन्टाइनमा बसेका पहिलो लटमा ९ र दोस्रो लटमा १४ जना र्‍यापिड डाइनोनेस्टिक किट टेस्ट (आरडीटी) नेगेटिभ देखिएपछि घर फर्किसकेका छन् । अहिले १३ जना क्वारेन्टाइनमा छन् ।

त्यहाँ बस्नेहरूका लागि नगरपालिकाले साँझ बिहान दाल–भात, तरकारी र चिया, खाजाको व्यवस्था गरेको छ । हप्तामा एक दिन मासुको पनि व्यवस्था गरिएको छ ।

क्वारेन्टाइनमा बस्नेहरूले माग गरेपछि हप्तामा दुई पटक मासुको व्यवस्था पनि भयो । तर, यो माग पूरा भएपछि दिनहुँ मासु–भात, रक्सी र वाईफाईको माग आएको नगरस्तरीय कोभिड–१९ रोकथाम तथा नियन्त्रण सर्वदलीय सर्वपक्षीय समन्वय समितिका एक सदस्यले अनलाइनखबरलाई जानकारी दिए ।

‘दैनिक मासु दिन बजेटले पुग्दैन, रक्सी त झन नियमअनुसार नै दिन मिल्दैन भनेको, तोडफोडमै उत्रिए’ समन्वय समितिका ती सदस्य भन्छन्, ‘सम्झाई बुझाई त गर्‍यौं, फेरि बिरामी परेको बाहाना गरेर अर्को आपतमा पारे ।’

शर्त उल्लङ्घन गरेपछि क्वारेन्टाइन

यो नगरपालिकाले लकडाउनका कारण आपतमा परेका १ हजार ३६९ जनालाई विभिन्न स्थानबाट उद्धार गरेको थियो । उद्धार गर्नुअघि नै नगरपालिकाले अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने लगायतका १० बुँदे ‘घर फिर्ती कबुलियतनामा’ गराएको थियो । तर, अनुगमनका क्रममा कतिपयले होम क्वारेन्टाइनको नियम उल्लङ्घन गरे ।

ती सदस्य भन्छन्, ‘क्वारेन्टाइन पालना गरेर घरमै बसुन् भनेर लाखौं खर्च गरेर उद्धार गर्‍यौं । तर, उनीहरू गाउँमा आएपछि मान्छे भेला पार्ने र होहल्ला गर्दै हिँडेको अनुगमनका क्रममा भेट्यौं ।’नियम उल्लङ्घन गर्नेमध्ये तीनजनालाई नगरपालिकाको क्वारेन्टाइनमा राखिएको समन्वय समितिका एक सदस्य बताउँछन् ।

जीउ र बीउ जोगाउन लागेका छौं : नगर प्रमुख राई

जिल्ला सदरमुकाम दिक्तेल बजारबाट करिब ४५ किलोमिटर पश्चिममा रहेको हलेसी तुवाचुङ नगरपालिका सुनकोसी किनारमा अवस्थित छ ।

३२ हजार ४४६ जनसंख्या रहेको यस नगरपालिकका बासिन्दालाई खडेरीका कारण गत वर्षको दशैंमै राहत बाँड्नुपरेको नगर प्रमुख इबन राई बताउँछन् । त्यतिबेला प्रतिव्यक्ति १० किलोका दरले चामल उपलब्ध गराएको उनले अनलाइनखबरलाई जानकारी दिए ।

यसपालि पनि राहतसँगै मकैको बीउ पनि वितरण गरिएको नगर प्रमुख राई बताउँछन् । उनका अनुसार ५ हजार ८३८ घरधुरीलाई जनही ४ किलोका दरले बीउ वितरण गरिएको छ ।

प्रत्येक वडालाई राहत वितरणका लागि ७५ हजारदेखि डेढ लाख रुपैयाँ उपलब्ध गराइएको छ । राई भन्छन्, ‘हामीले ज्याला, मजदुरी गरेर खानेका लागि मात्रै राहत दिएका छौं ।’

नगरपालिकाले राहतमा भन्दा सहुलियत खाद्यान्नमा जोड दिएको देखिन्छ । सहुलियत दरमा खाद्यान्न वितरणका लागि प्रतिवडा १० देखि १५ लाख वितरण गरिएको राइले जानकारी दिए ।

संघीय सरकारको सहयोग छैन

कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीका लागि १० लाख रुपैयाँ जीवन बीमा गरिएको छ । नगरवासीको उद्धारमा १० लाख रुपैयाँ भन्दा बढी खर्च भइसकेको छ ।

तर, केन्द्रले भने केही पनि सहयोग गरेको छैन । नगर प्रमुख राई भन्छन्, ‘संघीय सरकारले प्याकेज घोषणा गरेको भन्ने सुनेका छौं । तर, अहिलेसम्म आइपुगेको छैन ।’

प्रदेश १ सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । यद्यपि यो रकम पनि नगरपालिकामा आइसकेको छैन ।

रकम अभाव भएपछि विभिन्न शीर्षकको बजेट रकमान्तर गरेर काम गरेको उनले जानकारी दिए । जनप्रतिनिधिको भत्ता र कर्मचारीको तलब समेत कटौती गर्दा पनि रकम अपुग भएको राई बताउँछन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Other
Primary Cause Other governance issues
Secondary Cause Quarantine Management
Actor 1 - Number of people 13
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments

Related Reports