Incident Reports

प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन : ‘अरिंगाल बन्न तयार छौं’

2020-07-10

Bagmati, Kathmandu, Kathmandu

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद छाड्नुपर्ने दबाब पार्टीभित्रै बढेपछि ओली समूहले सडकको सहारा लिन सुरु गरेको छ। प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्तामा सडकको प्रदर्शन हटाउन प्रचण्डले माग गरेका थिए। तर, प्रधानमन्त्री ओली आफ्नो पक्षमा सडकमा भएको प्रदर्शन रोक्न तयार थिएनन्। स्थायी कमिटी सचिवालय बैठक स्थगित गरे पनि ओलीको पक्षमा हुने प्रदर्शन भने रोकिएको छैन।

यसअघि भएका प्रदर्शनमा प्रधानमन्त्री न्यून उपस्थिति भएको भन्दै कटाक्षसमेत गरिएको थियो। शुक्रबारको समर्थन र्‍याली वृहत बनाउन प्रधानमन्त्री पक्षधरका नेता कार्यकर्ताको तयारी थियो। तर,सोचे जस्तो समय अनुकुल भइदिएन। कार्यक्रम सुरु हुनासाथ पानी पर्न थालेपछि उपस्थिति सोचे मुताविक हुन सकेन।

निर्धारित ३ बजेभन्दा केहि बेर ढिलो गरी सुरु भएको कार्यक्रममा शक्ति प्रदर्शन गर्न खोजेको ओली समूहलाई पानी बाधक बनिदियो।

 मुसलधारे पानी परेकै समयमा ओलीको पक्षमा चर्का नारा लगाउन भने कार्यकर्ताले छोडेनन्। प्रदर्शनका लागि बनाइएको ब्यानरलाई नै टाँगेर उनीहरुले ओत बनाए। निथ्रुक्क भिजेर प्रधानमन्त्रीलाई पाँच वर्षभन्दा अघि हटाउन नपाइने भन्दै नारा घन्काए। करिब ४५ मिनेट परेको घना वर्षा मत्थर भयो। साना साना झुण्ड बनाई तितरबितर बनेका कार्यकर्ता एकत्रित भए।

सामान ओसार्ने भ्यानलाई मञ्चका प्रयोग गरी प्रधानमन्त्रीको पक्षमा नारा भट्याउन लागे। उपस्थित कार्यकताले उनलाई साथ दिए। राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्रीकै कारण निर्माणमा तीव्रता पाएको उनीहरुको दलिल थियो। नक्सा सार्वजनिकमा समेत प्रधानमन्त्रीकै पहलले सार्थकता पाएको नारामा उल्लेख थिए।

नागरिकता विधेयकको जस पनि ओलीलाई नै दिए। भारत विरोधी चर्का नारा उरालेका प्रधानमन्त्री पक्षधरले भारतीय मिडियाको पनि विरोध गरे। सबैतिर उपलब्धि प्रधानमन्त्रीकै कारण हासिल भएको नारा उपस्थितहरुले उराले। प्रधानमन्त्री ओलीलाई पाँच वर्ष टिक्न दिनैपर्ने उनीहरुको तर्क थियो।

नाराबाजीपछि मन्तव्यमा परिणत भएको प्रदर्शनमा ‘यु ट्युबेका मसला’ पुन्य गौतम हाबी भए। छोटो समयमा अभिव्यक्ति सक्न उनलाई समय उपलब्ध गराइएको थियो। तर, गौतमले आफ्नो लागि मञ्चको सदुपयोग राम्रै गरे। पूर्वमाओवादी पक्षधर रहेका गौतमले प्रदर्शनकारीकाे मन बुझेर ओलीको पक्षमा बोली प्रवाह गरे।


प्रदर्शनकारीले ताली ठोके। चीनका राष्ट्रपति सि चिनफिङ र रुसका राष्ट्रपति भ्लादमिर पुटिनकै तहमा प्रधानमन्त्री ओली भएको भाषण गरे। भाषण सुनेर प्रदर्शनकारीले ताली ठोके।

प्रधानमन्त्रीले सत्ताबाट हट्न नहुने मागसहित देशभर प्रदर्शन भएको आयोजकको दाबी थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people 200
Actor 1 - Affiliations NCP (Nepal Communist Party) and Affiliates
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) NCP (Nepal Communist Party) and Affiliates
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments