Incident Reports

मोरङको कानेपोखरीमा बलात्कारपछि किशोरी बेहोस, प्रहरी अनुसन्धान नै शङ्काको घेरामा

2021-02-04

Province 1, Morang, Kanepokhari

विराटनगर / मोरङको कानेपोखरीमा बलात्कारको सिकार बनेकी एक किशोरी बेहोस अवस्थामा भेटिएकी छन् । किशोरीमाथि नसालु पदार्थ खुवाएर बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।

तर चार दिनअघि भएको यस घटनालाई लिएर प्रहरीले गरिरहेको अनुसन्धान भने शङ्काको घेरामा परेको छ । महिलामाथि भइरहेका बलात्कारसँग जोडिएका विभिन्न घटनामा प्रहरीको काम कारबाही र अनुसन्धान विवादमा परिरहेका छन् । प्रहरीका कारण विभिन्न घटनामा पीडितले न्याय पाउन नसकिरहेको प्रसङ्ग जल्दोबल्दो रुपमा बाहिर आइरहेका बेला यो घटनाले पनि अनेक आशङ्का उब्जाएको छ । प्रहरीले यस घटनालाई लिएर थालेको प्रारम्भिक अनुसन्धान नै विवादमा तानिएको छ ।

घटना गत बिहीबार रातिको हो । पीडितका आफन्तले पनि प्रहरीले न्याय दिने हिसाबले अनुसन्धान अघि नबढाएको गुनासो गरेका छन् । घटना अनुसन्धानमा आलटाल गरिरहेको प्रहरी पीडकलाई संरक्षण दिने हिसाबमा अघि बढेको आरोप उनीहरुको छ । न्याय दिनेभन्दा पनि विभिन्न हिसाबले धम्क्याएर पीडितलाई थप हतोत्साही बनाउने र घटनालाई अन्यत्र मोड्ने काम प्रहरीबाट भएको गुनासो परिवारका सदस्यको छ ।

नसालु पदार्थ खुवाएर कानेपोखरी–२ का २९ वर्षीय प्रेम चौधरीले १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको घटना बाहिरिए पनि संरक्षण गर्दै पीडकलाई उन्मुक्ती दिने हिसाबमा प्रहरी अघि बढेको स्थानीय बासिन्दाले बताए । चौधरी कानेपोखरीमा किराना पसल सञ्चालन गरेर बसेका व्यक्ति हुन् । स्थानीयका अनुसार सुरुमा प्रहरीले यस घटनाका सम्बन्धमा पीडित परिवारले दिएको किटानी जाहेरी नै लिन अस्वीकार गरेको थियो ।

विभिन्न दबाबपछि जाहेरी लिएको प्रहरीले चौधरीलाई पक्राउ गर्न पनि आलटाल गरेको उनीहरुको भनाइ छ । बल्लबल्ल धेरै ठाउँबाट दबाब परेपछि चौधरीलाई पक्राउ गरेको प्रहरीले पीडितलाई मिल्न दबाब दिइरहेको गुनासो आफन्तको छ । अहिलेसम्म यो घटनालाई सार्वजनिक नगरिकन वास्तविकता लुकाउन खोजेका कारण पनि प्रहरीको अनुसन्धान शंकाको घेरामा तानिएको हो ।

चौधरीले दुई साताअघि चिनजान भएकी किशोरीलाई सल्लाह गनेर आफ्नै घरमा बोलाएर रातभर राख्दै बलात्कार गरेको खुलेको प्रहरी स्रोतले बतायो । ‘दुई साताअघि चिनजान भएको आधारमा किशोरीलाई विभिन्न बहाना बनाई आफ्नै घरमा बोलाएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘मदिरासँग मिसाउँदै नसालु पदार्थ खुवाएर लट्याएपछि रातभर घरमा राखेर बलात्कार गरेको पाइएको छ ।’

चौधरीले घटनाको भोलिपल्ट अर्थात शुक्रबार बिहान युवतीलाई घर पठाएका थिए । तर नसालु पदार्थ खुवाएर बारम्बार बलात्कार गरिएका कारण अघि बढ्न नसक्दा युवती चौधरीकै घरनजिक बाटोमा बेहोस अवस्थामा भेटिएकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले उद्धार गर्दै उपचारका लागि लगेपछि किशोरीमाथिको बलात्कारको घटना सार्वजनिक भएको हो ।

किशोरीको अहिले विराटनगरको कोसी अस्पतालमा उपचार भइरहेको छ । उपचार र स्वास्थ्य परीक्षणका लागि उनलाई शुक्रबार बेलुका अस्पताल भर्ना गरिएको थियो । उपचारमा संलग्न चिकित्सकले पनि किशोरी बलात्कृत भएको पुष्टि गरेका छन् । बलात्कार गर्नुअघि र पछि बारम्बार नसालु पदार्थ खुवाएर किशोरीलाई लट्ठ बनाइएको पनि चिकित्सकले बताएका छन् । नसालु पदार्थ खुवाएर बलात्कार गरिएका कारण किशोरीको स्वास्थ्यमा समस्या आएको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

बलात्कारका कारण लागेको चोटसँगै किशोरीको योनीबाट अत्याधिक रक्तश्राव भएको पाइएको चिकित्सकले बताएको प्रहरी स्रोतको भनाइ छ । गम्भीर अवस्थामा रहेकी किशोरी आइतबारबाट केही होसमा आएकी छन् । उनको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै गइरहेको छ । ‘सुरुमा किशोरीको अवस्था निक्कै गम्भीर थियो,’ उपचारमा संलग्न एक स्वास्थ्यकर्मीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘बलात्कारका कारण योनीमा चोट लाग्नुका साथै धेरै रक्तश्राव पनि भएको थियो ।’ तर सुरुमा अत्याधिक रक्तश्राव भइरहेका बेला ल्याइएकी किशोरीको स्वास्थ्य अवस्था अहिले भने सामान्य बन्दै गइरहेको उनको भनाइ छ ।

बलात्कारमा संलग्नलाई कारबाहीको माग राखेर पीडितका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर आइतबार चौधरीको पनि कोसी अस्पतालमै स्वास्थ्य परीक्षण गराएको छ । चौधरीले सहमतिमै दुई जनाबीच यौन सम्पर्क भएको प्रहरीलाई बताएका छन् । सुरुमा प्रहरीले बलात्कारमा संलग्नलाई पक्राउ गर्न नमानेको र पक्राउ गरेपछि पनि घटनालाई तोडमोड गर्ने प्रयास गरिरहेको गुनासो आफन्तको छ ।

आफन्तका अनुसार सहमतिमै यौन सम्पर्क भएकोभन्दै प्रहरीले घटनालाई बलात्कार भन्न नमिल्ने बताएर मिल्नका लागि दबाब दिइरहेको गुनासो आफन्तको छ । कानुनले उमेर नपुगिकन सहमतिमै भएको यौन सम्पर्कलाई बलात्कार मानेको छ । तर यस्तो घटना बाहिरिँदा पनि प्रहरीले अनुसन्धानमा चासो नराख्नुलाई गम्भीर रुपमा हेरिएको छ ।

‘सुरुमा जाहेरी दिँदा प्रहरीले सहमतिमा यौन सम्पर्क भएकोभन्दै जाहेरी लिन अस्वीकार गरेको थियो । तर सबैतिरबाट दबाब परेपछि जाहेरी दर्ता गरेर घटनामा संलग्नलाई पक्राउसम्म गरेको छ,’ एक आफन्तले भने, ‘नसामा लट्ठ बनाएर बलात्कार गरिएको छ । घटना भएकै बिहान बेहोस बनेर बाटोमा लडिरहेको अवस्थामा पीडितलाई फेला पारिएको थियो ।’ उपचारमा संलग्न चिकित्सकले पनि बलत्कार भएको भनिरहँदा प्रहरी घटनालाई सामान्य रुपमा लिएर पीडकको संरक्षणमा लागेको उनको आरोप छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक अनिल पौडेलको भनाइले पनि प्रहरी पीडितकको संरक्षणमा लागेको पुष्टि हुन्छ । बलात्कार जस्तो घटनालाई सामान्य लिइएको उनको भनाइबाट प्रहरी अनुसन्धानलाई थप सशंकित बनाएको छ । उनले घटनाको प्रकृति र पीडकको विवरणसमेत खुलाउन चाहेनन् । ‘यस्ता घटना धेरै भएका छन् । यो सामान्य घटना हो,’ उनले भने, ‘अहिलेसम्म पीडितले केही नभनेका कारण बलात्कार हो भनेर भन्नसक्ने अवस्था छैन । पीडित भनिएकी युवती केटाको घरमा आफै गएको पाइएकाले घटनालाई यकिन गर्न सकिरहेको छैन ।’

बलात्कारमा संलग्न भनिएका युवालाई पक्राउ गरेर घटनाको अनुसन्धान सुरु गरिएका कारण कुनै पनि आशंका नगर्न इलाका प्रहरी कार्यालय पथरीका डीएसपी कृष्ण खड्काले सबैमा आग्रह गरेका छन् । उनले घटनामा संलग्न भनिएका चौधरीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर बाँकी अनुसन्धान थालिएको बताए । अनुसन्धानपछि घटनाको सबै वास्तविकता बाहिर आउने भएकाले अहिल्यै सबै कुरा खुलाउनसक्ने अवस्था नभएको खड्काको भनाइ छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments