Incident Reports

महिला बेचबिखन गर्न खोज्नेलाई दश वर्ष कैद सजाय

2015-01-11

Bagmati, Nuwakot, Dupcheshwar

१९ वर्षीया एक युवतीलाई भारतमा बेच्न लगेको अभियोगमा गिरफ्तार भएका घ्याङफेदी गाविस-३ का २२ वर्षीय रमेश तामाङ र घ्याङफेदी-४ का २४ वर्षीय रमेश तामाङ थिङलाई जिल्ला अदालतले दश/दश वर्षकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको इजलासले पुस २५ गते तामाङद्वय माथि लागेको अभियोग प्रमाणित गर्दै मानब बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार सो अभियोगमा जनही दश/दश वर्षकैद सजाय र एक/एक लाख रुपैया जरिवानाको फैसला गरेको हो । फैसलामा सोही ऐनअनुसार पीडित महिलालाई जनही ५०/५० हजार रुपियाँ प्रतिवादी तामाङद्वयबाट क्षतिपूर्ति भराउन पनि आदेश भएको जिल्ला अदालतका श्रेस्तेदार राकेशमणि उपाध्यायले जानकारी दिए । घ्याङफेदीबाट गत वैशाख १७ गते हराएकी युवतीलाई वैशाख २३ गते काठमाडौँ हुँदै भारत लैजाने क्रममा नुवाकोटको खरानीटारबाट उद्धार गरिएको थियो । अभियुक्त तामाङद्वयलाई प्रहरीले गत वैशाख २३ गते गिरफ्तार गरेको थियो । जिल्ला अदालतको गत जेठ १३ गतेको आदेशले आरोपितहरू पुर्पक्षका लागि थुनामा थिए । नवदीप श्रेष्ठ

0 Comments