Incident Reports

पूर्वको जनजीवन थप कष्टकर, एम्बुलेन्स सेवा पनि ठप्प

2015-08-18

Province 1, Morang, Biratnagar

चार दिनयताको लागतार बन्दले विराटनगरलगायत पूर्वको जनजीवन थप कष्टकर बन्दै गएको छ । सामुदायिक तथा निजी विद्यालय सञ्चालन नहुँदा झन्डै दुई लाख विद्यार्थीको पढाइ अन्योलमा परेको छ । मोरङ शिक्षा कार्यालयका शाखा अधिकृत गोपाल दाहालका अनुसार ५ सय ८१ सामुदायिक र ३ सय ८४ निजी विद्यालयमा २ लाख विद्यार्थी अध्यनरत छन् । कुनै पनि विद्यालयमा पठनपाठन हुन सकेको छैन । मुलुककै मुख्य नाकाका रूपमा रहेको विराटनगर भन्सारमा राजस्व असुली ठप्प छ । सवारी साधन नचल्दा भारतबाट आउने औद्योगिक कच्चा पदार्थसहितका सामग्री लिएर आएका मालवाहक ट्रक सीमावर्ती बजार जोगवनीदेखि बथनाहासम्म रोकिएका छन् । सवारी नचल्दा रिक्सा र मोटरसाइकलमा ढुवानी गरेर ल्याएको भन्दै तरकारीलगायतको भाउ आकासिएको छ । अस्पताल आएका बिरामी उपचारपछि घर फर्किन सकेका छैनन् । केहीले महँगो मूल्य तिरेर एम्बुलेन्सबाट फर्केका छन् । रातिको बेला सञ्चालनमा आउने भाडाका जिपले आफूखुसी शुल्क असुलेर यात्रु ओसार्ने गरेको पाइएको छ । बन्दका बेला एक मात्र विकल्पका रूपमा रहेको रिक्सा चालकहरूले दोब्बर बढी भाडा लिएर यात्रु बोकेको पाइएको छ । अन्य दिनझंै बुधबार पनि यहाँबाट लामो तथा छोटो दूरीका सवारी चलेनन् । एम्बुलेन्स सेवा अवरुद्ध ---------------- बन्दकर्ताले बिरामी बोकेर हिँडिरहेको एम्बुलेन्सलाई नियन्त्रणमा लिई तोडफोड गरेको र चालकलाई कुटपिट गरेको भन्दै सगरमाथा एम्बुलेन्स चालक एसोसिएसन संघले बुधबारदेखि सगरमाथा अञ्चलभरि सेवा बन्द गरेको छ । बन्दका क्रममा प्रेस, एम्बुलेन्स, शववाहन, वारुणयन्त्र, दूध बोक्ने गाडीलगायत आकस्मिक सेवाका सवारी चल्न दिइने भनिए पनि बन्दकर्ताले बिरामी बोकेर हिँडिरहेको एम्बुलेन्सलाई सिरहा र सप्तरीमा तोडफोड गरेको विरोधमा बन्द गराएको संघले जनाएको छ । सगरमाथा एम्बुलेन्स चालक संघका अध्यक्ष श्रवण मण्डलले तोडफोड गरेको एम्बुलेन्सको क्षतिपूर्ति र अक्रमण रोक्ने लिखित प्रतिबद्धता नभएसम्म सगरमाथा अञ्चलभरिका सिरहा, सप्तरी, उदयपुर, ओखढुंगालगायतमा सेवा अवरुद्ध गर्ने बताए । बन्दकर्ताले मंगलबार बिरामी बोकेर हिंडेको बा२च ४४४६ नम्बरको एम्बुलेन्सलाई सप्तरीको भारदह र ना१च ४७४३ नम्बरको लाई सिरहाको मिर्चैयामा नियन्त्रणमा लिएर तोडफोड गरेका थिए । नाकामै रोकियो खाद्यान्न --------------- लगातार बन्दका कारण अत्यावश्यक वस्तु आभाव हुन थालेको छ । हरियो तरकारी, फलफूललगायत पाउन छाडिएको छ । आलु, प्याजलगायतको मूल्य बआकासिएको छ । ५० रुपैयाँ प्रतिकिलोमा बिक्री हुने प्याज ८० पुगेको छ । आलुको मूल्यमा समेत वृद्धि भएको गृहणी बताउँछन् । हेटौंडासहित पूर्वपश्चिम राजमार्गमा अवस्थित ढल्केबर, नकटाझिज, लालबन्दीलगायत ठाउँबाट आपूर्ति हुने काउली, मुला, गोलभेडासहितका तरकारीको आपूर्ति प्रभावित भएको छ । महोत्तरीको भिठामोर भन्सार नाकामा गत शनिबारदेखि रोखिएको २० ट्रक आलु, प्याज तथा फल यहाँ आउन सकेको छैन । यी अति आवश्यक खाद्यान्न यथाशीघ्र आपूर्ति भएन भने जनकपुर बजारमा आलु, प्याज तथा फलफूलको हाहाकार हुने जनकपुर आलुप्याज संघका अध्यक्ष ध्रुव साहले बताए । स्रोतका अनुसार आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेताले भन्सार नाकामा रोकिएका ट्रक भित्र्याउन मौखिक आश्वासन दिए पनि कार्यान्वयन भएको छैन । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीराले भन्सार नाकामा रोकिएका अति आवश्यक खाद्यान्न आपूर्तिका लागि आन्दोलनरत पक्षसँग वार्ता भइरहेको बताए । आलुप्याज संघका अध्यक्ष साहका अनुसार जनकपुर बजारमा सामान्यतया भारत उत्तरप्रदेशको कानपुर र कनौजबाट आलु, प्याजलगायत आपूर्ति हुन्छ । यी खाद्यान्न यहाँसम्म ल्याउन झन्डै चार दिन लाग्छ । बढी समयसम्म भन्सार नाकामा रोकिए यी बिग्रिने सम्भावना अधिक हुन्छ । सरकारी कार्यालय प्रभावित ------------------ बन्दले महोत्तरीको जनजीवन पनि प्रभावित छ । यातायात, हाटबजार, व्यापारिक केन्द्र ठप्प छन् । ठाउँठाउँमा टायर बालेर बिहानैदेखि सडक बजार अवरुद्ध पारेका थिए । असहज परिस्थितिका कारण सरकारी कार्यालयको कामकाज पनि ठप्प छ । लामो समयदेखि यातायात नचल्दा कार्यालय खुले पनि सेवाग्राही कम छन् । कतिपय कार्यालय आन्दोलनकारीले बन्द गराउने प्रयास पनि गरे । खाद्यान्न, तरकारी तथा फलफूलले भरिएर जनकपुरलगायत हिँडेका ती सवारी बन्दका कारण गन्तव्यमा पुग्न नसकेको मूल भन्सार कार्यालयले जनाएको छ । बन्दले राजस्व असुली आधाभन्दा बढीले घटेको भन्सारले जनाएको छ । भारतको झारखण्डस्थित बाबाधामबाट दर्शन गरेर फर्केका बोलबम र नेपालमा तीर्थ गर्न आएका भारतीय बाटामै बिचल्ली भएका छन् । तोडफोड हुने आशंकामा सहज आवागमन गर्न नसक्दा उनीहरू समस्यामा परेका हुन् । मंगलबार ७ बजेपछि सुरक्षा स्कर्टिङमा उनीहरूलाई पठाइएको थियो । बुधबार पनि बिहानैदेखि तीर्थयात्री चढेका २ बस सीमानजिक अलपत्र परेको चेक पोस्टले जनाएको छ । १० जना पक्राउ ------------- झापामा प्रहरीले स्थानीय शान्ति समिति संयोजक सूर्यनारायण गणेशसहित १० जनालाई नियन्त्रणमा लिएको छ । जबरजस्ती यातायात बन्द गराउन खोज्ने र सवारीमाथि तोडफोड गरेको आरोपमा प्रहरीले सद्भावनाका झापा अध्यक्ष गणेशसहित तराई मधेस लोकतान्त्रिक पार्टी जिल्ला अध्यक्ष त्रिनारायण राजवंशी, सुन्दरलाल गणेश, सुरेश यादव, गणेश ढुंगानालगायतलाई नियन्त्रणमा लिएको हो । झापा प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीले अवाञ्छित गतिविधि गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए । मधेसी मोर्चा, थारू संघर्ष समिति, कोचिला संघर्ष समितिलगायत दलले गरेको बन्दका कारण बुधबार पनि जनजीवन प्रभावित बनेको छ । उद्योगधन्दा, व्यापार व्यवसाय र शैक्षिक संस्था खुले पनि सडकमा निर्धक्क सवारी गुड्न सकेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments