Incident Reports

सिण्डिकेट पक्षधरलाई कारवाहीको माग गर्दा झडप, ५ प्रहरीसहित ११ जना घाइते

2016-05-03

Gandaki, Gorkha, Aarughat

सिण्डिकेट पक्षधरलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका सर्वसाधारण र प्रहरीबिच झडप भएको छ । गोरखाको उत्तरी ब्यापारिक केन्द्र आरुघाटमा स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको हो । झडपमा ६ जना सर्वसाधारण र ५ प्रहरी घाइते भएका छन् । घाइते सर्वसाधारणमा ३ महिला समेत रहेको स्थानीय बासिन्दाले बताएका छन् । आरुघाटबाट गोरखा सदरमुकामसहित विभिन्न ठाउँमा बस चलाउने अनुमति पाएको आरुघाट यातायात प्रालिको बसलाई अवरोध गर्न आएका यातायात ब्यवसायी समिति गोरखाका ब्यवसायी र मजदुरलाई प्रहरीले संरक्षण गरेको भन्दै स्थानीय बासिन्दा इलाका प्रहरी कार्यालय आरुघाटमा पुगेका थिए । बाटोमा अवरोध गर्न आएका गोरखा यातायातमा आवद्ध २३ ब्यवसायी र मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर बिना कारवाही छोड्न लागिएको भन्दै आरुघाट यातायात प्रालिका ब्यवसायीसहित सर्वसाधारण इलाका प्रहरी कार्यालयमा पुगेका थिए । कुरा गर्न जाँदा प्रहरीले एक्कासी आक्रमण गरेपछि दोहोरो झडप भएको आरुघाटका बासिन्दाले दाबी गरेका छन् । स्थिति नियन्त्रणमा लिन ७ सेल अश्रुग्यास प्रहार गरेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक रविराज थपलियाले बताउनुभयो । स्थानीय बासिन्दाले भने प्रहरीले ३ राउण्ड हवाईफायर गरेको र सर्वसाधारणलाई अन्धाधुन्द कुटपिट गरेको बताएका छन् । स्थानीय बासिन्दाले डुंगामुडा गर्दा प्रहरीको २ वटा सवारी साधनमा क्षति पुगेको छ भने ५ प्रहरी घाइते भएका छन् । प्रहरीको बा १ ग २७७१ नम्बरको मिनिट्रक र बा १ झ ७८०८ नम्बरको बोेलेरो जीपमा क्षति पुगेको छ । घाइते हुनेहरुमा प्रहरी हवल्दार दिनानाथ चौधरी र शिवशंकर गुप्ता तथा प्रहरी जवानहरु यानबहादुर बराम, सुवास पाण्डे र अर्जुन चौधरी रहेका छन् । यस्तै स्थानीय बासिन्दा सेतु गुरुङ, सिद्धिकुमार श्रेष्ठ, सनद श्रेष्ठ, गणेश लामिछाने, निता श्रेष्ठ, सुनिता नेपाली, रविन्द्र नेपाी लगायत रहेका छन् । उनीहरु सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ । झडपपछि आरुघाट बजार अनिश्चितकालका लागि बन्द भएको छ । यसकारण भयो झडप आरुघाट यातायात प्रालि दर्ता गरेर उनीहरुले बस चलाउन थालेपछि गोरखाको ग्रामीण सडकखण्डमा एकलौटी रुपमा बस चलाउँदै आएको यातायात ब्यवसायी समिति गोरखा अवरोधमा उत्रिँदै आएको थियो । अवरोधका क्रममा आरुघाटबाट गोरखाका लागि छुटेको आरुघाट यातायात प्रालिको बसमा यातायात ब्यवसायी समिति गोरखा आवद्ध ब्यवसायी र मजदुरले वैशाख ८ गते तोडफोड गरेका थिए । तोडफोडमा संलग्नलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेपनि सोही रात छोडेको थियो । त्यसयता आरुघाट प्रालिले दुईपटकसम्म बस चलाउन खोजेपनि गोरखा यातायातका ब्यवसायीको अवरोधका कारण आरुघाटतर्फ फर्कँर्दै आएको थियो । म‌गलबार सदरमुकामका लागि छुटेको बसलाई अवरोध गर्न गोरखा यातायातका ६० भन्दा बढी मजदुर र ब्यवसायी आरुघाट बजार नजिकैको तान्द्राङ गाविस पुगेका थिए । साेमबार नै सदरमुकामबाट आरुघाटतर्फ हिँडेका उनीहरुलाई प्रहरीले सदरमुकामतर्फ फर्काउन जिल्ला प्रहरी कार्याालयबाट प्रहरी निरिक्षक शंकर आचार्य नेतृत्वको टोली खटिएको थियो । तर उनीहरु प्रहरीलाई छक्क्याएर तान्द्राङ गाविस २ को जंगलमा बसेका थिए। जंगल आरुघाट बजारबाट ३ किलोमिटर सदरमुकामतर्फ रहेको छ । आरुघाट यातायात प्रालिको बसमा अवरोध गर्न लागेको सूचना पाएपछि स्थानीय बासिन्दा त्यहीँ पुगेका थिए । झडपको अवस्था बनेपछि गोरखा यातायातका २३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा ल्याएको थियो । नियन्त्रणमा परेकामध्ये वैशाख ८ गते बस तोडफोडमा संलग्न गोरखा यातायातका उपाध्यक्ष कालु गुरुङ लगायत रहेका थिए । त्यतिबेलै पनि बिना कारवाही रीहा गरिएपछि आक्रोशित बनेका आरुघाट बासिन्दा आफ्नै गाउँ नजिकै पक्राउ परेकालाई कुनै हालतमा रीहा नगर्नका लागि दवाव दिन इलाका प्रहरी कार्यालय पुगेका हुन् । यसै क्रममै दोहोरो झडप भएको हो । स्थिति अझै असामान्य आरुघाट यातायात प्रालिले जसरी पनि बस सेवा सञ्चालन गर्ने जनाएको छ । ‘७५ जिल्लामा प्रालिको बस चलेको छ, गोरखामा किन नपाउने,’ आरुघाट यातायात प्रालिका अध्यक्ष खड्क बहादुर घलेले भन्नुभयो । एमाओवादी, कांग्रेस र एमालेले समेत प्रालि नचलाउनका लागी दवाव दिएको उहाँको आरोप छ । आफूहरुले वैधानिक रुपमा यातायात प्रालि दर्ता गरेकाले निर्वाध रुपमा यातायात सञ्चालन गर्न पाउनुपर्ने घलेको माग छ । आरुघाट प्रालिले तत्काल १३ वटा बस सेवा सञ्चालनको तयारी गरेको छ । ‘६ वटा वस ल्याइसकेका छौँ, सात वटा बस ल्याउने तयारीमा छौँ,’ प्रालिका अध्यक्ष घलेले भन्नुभयो । आफूहरुको बसमा अवरोध भैरहे जिल्लाको उत्तरी क्षेत्रका ३५ गाविसका बासिन्दालाई सदरमुकाममा भेला गर्ने उनीहरुको भनाई छ । प्रशासन सदरमुकाममा मात्रै सीमित भएको आरुघाटका बासिन्दाको आरोप छ । स्थिति असामान्य हुन नदिन गोरखा सदरमुकामबाट ४२ किलोमिटर टाढा रहेको आरुघाटमा ठूलो संख्यामा प्रहरी परिचालन गरीएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons None
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation APF
Actor 2 - Youth na
Total Injured 11
Total damaged Buildings 1
Totally damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports