Incident Reports

हराउनेमा बढी महिला

2016-05-20

Bagmati, Chitawan, Bharatpur

 चितवन/ जिल्लामा पाँच वर्षमा एक हजार तीन सय १४ जना हराएका छन् । जसमा सबैभन्दा बढी महिला रहेका छन् । यो अवधिका महिला सात सय ५४ जना छन् भने चार सय ४५ जना बालबालिका र एक सय १५ पुरुष हराएका छन् । जसमध्ये हालसम्म चार सय १५ जना मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका कक्षले दिएको पाँच वर्षे तालिकाअनुसार आर्थिक वर्ष २०६८/०६९ देखि हालसम्म भेटिएकामध्ये महिला दुई सय २३, बालबालिका एक सय ६१ र पुरुष ३१ जना मात्रै छन् । चितवनका प्रहरी प्रमुख वसन्तबहादुर कुँवरका अनुसार बालबालिका र महिलालाई मानव ओसारपसार र घरेलु कामदारका रूपमा बढी प्रयोग गर्ने भएकाले उनीहरू धेरै हराएका हुन् । भेटिएको सूचना आउँदैन हराएका मानिस भेटिए पनि प्रहरीमा कुनै सूचना नदिँदा तथ्यांक बढेको हुन सक्ने प्रहरी प्रमुख कुँवरले बताए । भेटिएको सूचना पनि प्रहरीमा दिनुपर्छ भन्ने जानकारी नहुँदा यसलाई न्यूनीकरण गर्न नसकिएको कुँवरले बताए । १० महिनामा ७० भेटिए प्रहरी कार्यालयका अनुसार चितवनमा चालू आवको १० महिनामा मात्रै दुई सय १० जना हराएका छन् । जसमध्ये ७० जना भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार हराएकामध्ये सबैभन्दा बढी महिला एक सय ३४ जना छन् । यसवर्ष भने हराउनेमा महिलापछि पुरुष र बालिका रहेका छन् । पुरुष ३३, बालिका २३, र बालक २० जना हराएको कार्यालयको तथ्यांक छ । यस्तै, आब ०६८/६९ मा दुई सय ११ जना, आव ०६९/७० मा तीन सय १३ जना, आव ०७०/७१ मा तीन सय ४८ जना र आव ०७१/७२ मा दुई सय २२ जना हराएका छन् । रासस

0 Comments