Incident Reports

दलालमार्फत बिदेसिने महिला बढे ।

2016-09-06

Bagmati, Chitawan, Bharatpur

चितवन हुँदै दलालले भारत र अन्य मुलुकमा महिलालाई पुर्‍याउने क्रम बढेको छ। गैरकानुनी बाटो अपनाई बिदेसिने महिलाको संख्या बढेको पाइएको हो। जिल्ला प्रहरी प्रमुख एसपी वसन्त कुँवरका अनुसार गोरखा, धादिङ, लमजुङ, नुवाकोट लगायतका चेलीलाई चितवनबाट दलालले भारत लैजाने गरेका छन्। ‘बाहिरी जिल्लाबाट फकाएर ल्याई यहाँ राखेर अनुकूलता हेरी बाहिर लैजाने गरेको पाइयो,’ कुँवरले भने, ‘चितवनलाई दलालले ट्रान्जिट प्वाइन्ट बनाएका छन्। त्यसलाई निस्तेज पार्ने तयारीमा जुटेका छौं।’ माइती नेपालले महिलाको गतिविधि निगरानी गर्नाले उद्धार गर्न सफल भएको उनले बताए। यसअघि विभिन्न मुलुकमा कष्टकर जीवन बिताउँदै आएका महिलाको उद्धार गरिएको छ। दलालले भारत तथा खाडी मुलुकमा लैजान लागेका १ सय ३ महिलाको माइती नेपालले एक वर्षको अवधिमा उद्धार गरेको छ। उनीहरूमध्ये अधिकांश चितवन जिल्लाका छन्। राम्रो कामको प्रलोभन, सोचेको भन्दा बढी तलबलगायत बहानामा गैरकानुनी तरिकाले लैजान लागिएकालाई उद्धार गरिएको माइती नेपालका क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीले बताए। ‘सचेतना कार्यक्रम र सडक सूचना केन्द्र स्थापना गरी कडाइ गर्दा दलालमार्फत बाहिरी मुलुक जान लागेको खुलेको हो,’ उनले भने, ‘उनीहरूलाई घर फर्काउन सफल पनि भयौं।’ यसरी उद्धार गरिएकामा १० देखि १६ वर्ष उमेरका ५२ जना, १७ देखि २० वर्ष उमेरका २३ र २१ देखि ३५ वर्षक उमेरका २८ जना रहेका छन्। माइती नेपालका अनुसार ०७०/७१ मा २५ चेलीलाई दलालले विदेश लैजान लागेको अवस्थामा उद्धार गरिएको छ। त्यस्तै ०७१/७२ मा १७ र ०७२/७३ मा १ सय ३ चेलीको उद्धार गरिएको दवाडीले जनाए। तथ्यांक हेर्दा बर्सेनि चेलीहरू बेचिने र बिदेसिने क्रम बढेको देखिन्छ। ती चेलीसँग सोधपुछ गर्दा दलालको नाम गोप्य राख्ने हुनाले उनीहरू कानुनी दायराबाट उम्कने गरेको प्रहरीको भनाइ छ। ३ वर्षको अवधिमा ४ जना दलाल पक्राउ परेको कार्यालयले जनायो। पछिल्लो समयमा अधिकांश चेली भूकम्प प्रभावित जिल्लाबाट आउने गरेको देखिन्छ। उनीहरूले जीविकोपार्जनमा समस्या परेकाले बिदेसिन लागेको बताउने गरेका छन्।
National/Online Media

0 Comments