Incident Reports

१२ बालबालिका उद्धार

2016-11-10

Bagmati, Bhaktapur, Changunarayan, Ward 4

कार्तिक २६, २०७३- अनधिकृत रूपमा सञ्चालित बालगृहबाट बिहीबार १२ बालबालिकाको उद्धार गरिएको छ । महिला बालबालिका कार्यालय भक्तपुरको नेतृत्वमा केन्द्रीय बाल कल्याण समिति र जिल्ला बाल कल्याण समिति भक्तपुरको अनुगमन टोलीले चाँगुनारायण नगरपालिका–१७, झौखेलस्थित जोयफुल न्यूज मिसन नामक बालगृहबाट ७ बालक र ५ बालिकाको उद्धार गरेको हो । उक्त बालगृहले बालगृह सञ्चालन गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्डसमेत पालना नगरेको महिला बालबालिका अधिकृत नीला घिमिरेले बताइन् । अनुगमनका क्रममा अनधिकृत रूपमा बालगृह सञ्चालन गरेको पाइएपछि बालबालिकाहरूको उद्धार गरिएको उनले बताइन् । मापदण्डको पालना नभएको, बालबालिकाको आधिकारिक विवरण नभएको, स्थानीय निकाय र सम्बन्धित जिल्लाको बालकल्याण समितिको सिफरिसलगायत कानुनी प्रक्रियासमेत पूरा नगरी बालगृह सञ्चालन गरेको पाइएकाले बालबालिकाको उद्धार गरिएको समितिले जनाएको छ । बालगृहमा बालबालिकाहरूको स्याहार–सुसारका लागि सहयोगी (आया) नभएको, खाना पकाउने, लुगा धुने लगायतका कार्यका लागि समेत कुनै कर्मचारी नभएको र बालबालिका आफैं मजदुरको रूपमा कार्यरत रहेको पाइएको समितिले जनाएको छ । बालगृहमा आश्रित बालबालिकाहरूलाई तरकारी खेती, कुखुरापालन, बाख्रापालनमा समेत मजदुरका रूपमा काम लगाउने गरेको पाइएको घिमिरेले बताइन् । स्थापनाको केही वर्ष इमानुयल चर्चको सहयोगमा बालगृह सञ्चालन गरेको बताउने धरान नगरपालिका–१४, सुनसरीका सम्राट सेन्चुरीले कुनै निकायको सहयोग बिना बालगृह व्यवस्थित गर्न नसकेको बताए । उनले बालबालिकाकै लालनपालनका लागि बालगृह परिसरमा तरकारी खेती, कुखुरा तथा बाख्रापालन गरिएको बताए । बालगृहबाट उद्धार गरिएका बालबालिका ७ देखि १८ वर्ष उमेर समूहका छन् । उद्धारका क्रममा केही बालबालिकाले आफ्नो पढाइ छुट्ने चिन्ता व्यक्त गर्दै त्यहीं बस्ने अडान लिएका थिए । उद्धार गरिएका बालबालिकालाई केन्द्रीय बालकल्याण समितिलाई जिम्मा लगाइएको घिमिरेले बताइन् ।

0 Comments