Incident Reports

प्रहरीद्वारा २८ जना नाबालकको उद्धार

2016-11-14

Karnali, Surkhet, Lekbeshi

शङ्कास्पद रूपमा डोल्पाबाट काठमाडौँ लैजाँदै गरेका २८ जना नाबालकलाई प्रहरीले ०७३ कात्तिक २८ गते छिन्चुबाट उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुको प्रहरी टोलीले डोल्पाको तिञ्जे गाविसबाट काठमाडौँ पढाउन भनी लैजादै गरेका २८ जना नाबालकहरूको उद्धार गरेको हो । डोल्पा तिञ्जे घर बताउने चोजिन जिस्टु लामा नाम गरेका गुरूको साथ नेपाल जोनाङ् बौद्धिष्ट इन्स्टिच्यूट फरपिङ काठमाडौँमा पढाउनका लागि शङ्कास्पद रूपमा लैजाँदै गर्दा गुरूसहित ती नाबालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज इन्स्पेक्टर जयसिं विष्टले बताए । डोल्पाको तिन्जे गाविस-९ बाट कात्तिक २० गते हिँडेका नाबालक कात्तिक २८ गते सुर्खेतको छिन्चु आइपुगेका थिए । ती नबालकको प्रहरीले उद्धार गरेपनि आफूलाई गुरू बताउने जिस्टुले दुई जना पुराना र २६ जना नयाँ विद्यार्थी रहेको बताए । उद्धार गरिएका नाबालकहरूमा ५ देखि १५ वर्षउमेरका छन् । प्रहरीले २८ गते नै ती नाबालकलाई महिला तथा बालबालिका कार्यालय सुर्खेतको जिम्मा लगाएपछि हाल उनीहरू आवाज संस्थाको संरक्षणमा रहेका छन् । नेपाली भाषा बोल्न र नबुझने ती नाबालकहरू आफूहरू कहाँ जान लागेको भन्ने बारेमा अनभिज्ञ छन् । कानुनी प्रक्रिया विना ती नाबालकलाई काठमाडौँ लैजाँदै गर्ने बौद्ध गुरू बताउने जिस्तुले बौद्ध धर्मको संरक्षण र शिक्षाको पहुँचबाट टाढा रहेका बौद्ध बालबालिकालाई शिक्षा प्रदान गर्नका लागि काठमाडौँ लैजान लागेको बताए । भौगोलिक विकटता र अत्याधिक चिसोका कारण विद्यालयमा पढाइ नहुने भन्दै त्यहाँका अधिकांश बालबालिकाहरू यस्तै संस्था तथा गुम्बाको सहयोगमा यसरी नै अन्यत्र पढन जाने गरेको जिस्तुको भनाइ छ । अभिभावकको मञ्जुरी, गाविसको सिफारिस, डोल्पा जिल्ला प्रशासन र महिला तथा बालबालिका कार्यालयको कुनैपनि पत्र नभएकोले ती नाबालकलाई कहाँ लैजान लागिएको हो ? भन्ने बारेमा नखुलेकोले घटना शङ्कास्पद भएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हितप्रसाद पौडेलले बताए । यस्ता नाबालकलाई अभिभावकले बाहेक अन्य कसैले पनि कुनैपनि बहानामा अन्यत्र लैजान नमिल्ने जानकारी दिए । यसैबीच ती नाबालकलाई डोल्पामा नै फिर्ता पठाउने महिला तथा बालबालिका कार्यालय सुर्खेतले तयारी गरेको छ । ती नाबालकलाई काठमाडौँ लैजान कानुन बमोजिम कुनै प्रमाण नभेटिएकाले घरमा फिर्ता पठाउने तयारी भइरहेको महिला तथा बालबालिका कार्यालय सुर्खेतका अधिकृत प्रेमप्रसाद आचार्यले जानकारी दिए । बच्चा सानो छँदा पनि आमाबुवा बाहेक गैर अविभावकले एक ठाउँबाट अर्को ठाउँ लैजान नमिल्ने र उनीहरूलाई काठमाडौँ लैजाने कुनैपनि प्रक्रिया नभएको पाइएकोले घरमा फिर्ता गर्नुको विकल्प नभएको आचार्यले जानकारी दिए ।

0 Comments