Incident Reports

तेह्र वर्षीय बालक इँट्टाभट्टाबाट उद्धार

2017-03-23

Bagmati, Bhaktapur, Bhaktapur

भक्तपुरको एक इँट्टाभट्टामा काम गर्ने रोल्पा राङ्कोटका १३ वर्षीय बालक कमल रानामगरलाई जिल्ला बालकल्याण समिति भक्तपुरको नेतृत्वमा जिल्ला बालकल्याण समिति रोल्पामार्फत अभिभावकको जिम्मा लगाएको राससले जनाएको छ । नगरकोट नपा-३ ताथली भक्तपुरमा रहेको एसटी ब्रिक कम्पनीमा काम गर्ने ती बालकलाई सोही इँट्टा कम्पनीका सञ्चालकले जिल्ला बालकल्याण समिति भक्तपुरलाई खबर गरेपछि उनको उद्धार सम्भव भएको हो । बावु वैदेशिक रोजगारीमा रहेको र आमाले अर्को विवाह गरेका कारण कान्छी आमासँग बस्दै आएका उनी कक्षा ६ मा अध्ययन गर्दागर्दै आफ्नै फुपाजुका साथमा भक्तपुर पुगेका थिए । इँट्टाभट्टामा बिहानदेखि बेलुकासम्म काम गरेबापत दैनिक १ सय रिपयाँ ज्याला पाउने गरेको उनले बताए । जिल्ला बालकल्याण समिति भक्तपुरले उद्धार गरेका ती बालकलाई बाल विकास समाज भक्तपुरका कर्मचारी विदुर नेपालले जिल्ला बाल कल्याण समिति, रोल्पाको रोहवरमा बालकका अभिभावकलाई बुझाएको थियो । बाबु वैदेशिक रोजगारीमा गएका तथा आमाले अर्को विवाह गरेका रोल्पाका अधिकांश बालबालिका तथा सहाराविहीन टुहुरा बालबालिका मजदुरका रुपमा काठमाडौँ र भक्तपुरका विभिन्न इँट्टा भट्टामा रहेको बाल अधिकारकर्मी विदुर नेपालले बताए । जिल्ला बालकल्याण समिति, रोल्पाले विभिन्न क्षेत्रसँग समन्वय गरी हालसम्म रोल्पाका १२ बालबालिकालाई इँट्टाभट्टाबाट फिर्ता गरेको जिल्ला बालकल्याण समिति रोल्पाका कपिलदेव भण्डारीले जानकारी दिए । गरिबी र असहज पारिवारिक वातावरणका कारण रोल्पाका अधिकांश बालबालिका जोखिमपूर्ण काम गर्न बाध्य भएको महिला विकास अधिकृत लोकेन्द्रा आचार्यले बताइन् ।

0 Comments