Incident Reports

मजदुर आन्दोलनका कारण दुई दिनदेखि पत्रिका प्रकाशन बन्द l

2013-05-09

San Bahadur Thapa कास्की । वैशाख २७ गते मजदुर आन्दोलनका कारण पोखराबाट प्रकाशित हुने १२ ओटा दैनिक पत्रिकाको वैशाख २६ गतेदेखि प्रकाशन बन्द भएको छ । अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर सङ्घले स्थायी नियुक्ति गर्नुपर्ने, सञ्चयकोष, स्वास्थ्य तथा दुर्घटना बीमा, श्रम ऐनअनुसार विदा, पहिचान सहितको परिचयपत्र, वार्षिक रुपमा ग्रेडको व्यवस्था हुनुपर्ने लगायतका माग राख्दै वैशाख २६ गतेदेखि आन्दोलन गरेपछि पत्रिका बन्द भएको हो । पोखराबाट प्रकाशन हुने १४ ओटा दैनिक पत्रिका मध्ये आदर्श समाज र गोल्डेन न्यूजले श्रमजीवी ऐन कार्यान्वयन गरी सो अनुसारको सेवा सुविधा उपलब्ध गराएपछि ती पत्रिका नियमित प्रकाशन भइरहेको छ । यसैबीच आरोहण पब्लिकेशन र माछापुच्छ्रे सञ्चार सहकारी संस्था लिमिटेडले मजदुरको मागलाई कार्यान्वयन गर्ने सहमति गरेपछि वैशाख २७ गते आविष्कार दैनिक, आदर्श नेपाल दैनिक, युनाइटेड दैनिक, र गण्डकी खबर दैनिक गरी चारओटा पत्रिका प्रकाशन भएका छन् । आन्दोलनका कारण छपाई सम्बन्धी सम्पूर्ण काम ठप्प भएको छ । प्रकाशन बन्द भएका पत्रिकाहरू समाधान दैनिक, पोखरापत्र दैनिक, पोखरा आवाज दैनिक, कास्की आवाज दैनिक, कलम दैनिक, डन न्यूज दैनिक, पोखरापत्र दैनिक र पोखरा हटलाईन दैनिक रहेका छन् । पोखरामा ५३ ओटा छापाखाना सञ्चालित छन् जसमा २ सय ८० मजदुर कार्यरत छन् । मजदुर संघका अध्यक्ष लीलाबहादुर घर्तीमगरले ०६९ फागुन २३ गते छापाखाना व्यवसायी र मजदुरवीच १० बुँदे सहमति भएकोमा सम्झौता कार्यान्यन नगरेपछि आन्दोलनमा उत्रनु परेको बताए । उनले आफ्ना मागलाई पूरा नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए । यसैबीच पोखरा उद्योग वाणिज्य सङ्घको पहलमा पत्रिका समाज कास्की, मजदुर सङ्घ, मुद्रण उद्योग सङ्घ, नेपाल पत्रकार महासङ्घबीच वैशाख २७ गते समस्या समाधानको वार्ता भए तापनि सहमतिमा पुग्न नसकिएको पत्रिका समाजका अध्यक्ष उमानाथ बरालले बताए । सनबहादुर थापा

0 Comments

Related Reports
Related Trend Analysis