जुम्लाको पूर्वी क्षेत्र पातारासीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका कार्यकर्ता पक्राउ परेका छन् । विप्लव समूहका युवा दस्ताका इन्चार्ज वीरबहादुर कठायतलाई शुक्रबार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ ।
पातारासी गाउापालिका–७ पटमारामा कठायतले निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा पक्राउ गरीएकोले पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेले बताए । स्थानीय तहको निर्वाचनका लागि बिहीबार रातिबाट नै निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि गर्न रोक लगाइएको छ ।
‘कठायतले गाउामा निर्वाचन विरोधी गतिविधि गरिरहेको अवस्थामा भेटायौं,’ डीएसपी काफ्लेले भने, ‘हामीले नियन्त्रणमा लिएर जिल्लामा ल्याएका छौं । गाउँमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।’ पक्राउ परेका कठायतको स्थायी ठेगाना कनकासुन्दरी गाउापालिका–९ रिया रहेको प्रहरीले बताएको छ ।
यसअघि जिल्लामा मनोनयन दर्ता गर्नु एकदिन अघि नै विप्लव समूहका भेरीकर्णाली इन्चार्ज चन्द्रवीर तिरुवा (रविकिरण) लाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाइएको थियो ।
जिल्लामा प्रहरीले निर्वाचन विरोधि गतिविधि हुनसक्ने क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । निर्वाचनको मिति घोषणा भएदेखि नै विप्लव नेतृत्वका कार्यकर्ताले निर्वाचन विरोधी पोष्टरहरु टाँस्ने, भित्ते लेखन तथा प्रचार गर्दै आएका थिए ।