In Mahottari, a group of RJP-N supporters vandalised the party office of Sanghiya Samajbadi Forum Nepal on Wednesday morning. The incident was condemned by Ram Naresh Yadav, the district chairman of Sanghiya Samajbadi Forum Nepal.
राष्ट्रिय जनता पार्टी कार्यकर्ताले महोत्तरी सदरमुकारम जलेश्वरस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा आक्रमण गरेका छन् ।
करिब डेढ दर्जन संख्यामा राजपा कार्यकर्ता बुधबार बिहान फोरम कार्यालय पुगेर झन्डा उखेलेर फ्याँक्नुका साथै बोर्डमा कालो पोतिदिएका हुन् । बिहान फोरम कार्यालयमा कोही नभएको मौकाछोपी उनीहरुले झन्डा उखेल्ने र बोर्डमा मोबिल पोत्ने काम गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
पार्टी कार्यालयमा आक्रमणपछि संघीय समाजवादी फोरम महोत्तरी अध्यक्ष रामनरेश यादवले कडा शब्दमा विरोध जनाएका छन् । ‘फोरम कार्यालयमाथिको हर्कत लोकतन्त्रको उपहास हो, लोकतन्त्रमाथिको आक्रमण पनि हो’उनले कान्तिपुरसँग भने, ‘प्रथम मधेस आन्दोलनमा ४२ जना सहिद भएर स्थापित भएको फोरमको झन्डा जलाउने र कार्यालयमाथि आक्रमण गर्नु सहिदहरुमाथिको अपमान पनि हो ।'
फोरम कार्यालय रहेको जलेश्वर खैराचोकमा सशस्त्र प्रहरी कार्यालय पनि छ । प्रहरी कार्यालयनजिक यस्तो घटना हुनुले समग्र निर्वाचन सुरक्षामा समेत प्रश्नचिह्न उठेको उनको भनाइ छ ।