Incident Reports

‘मैले नागरिकता किन नपाउने?’

2017-07-26

Bagmati, Bhaktapur, Bhaktapur

मध्यपुर ठिमी जोड्ने मनोहरा पुलकै आडमा उभिएको सुकुम्बासी बस्तीमा बस्छिन्– सुभद्रा न्यौपाने। ३ छोराछोरीकी आमा सुभद्रा बिहानदेखि बेलुकीसम्मै अरूका घरमा धाएर घरेलु काम गर्दै आफ्नो रोजीरोटी धान्ने गर्छिन्। सुभद्राका लागि यो सधैंको दिक्कलाग्दो दैनिकी र संघर्षभन्दा पनि ठूलो समस्याका रूपमा आइपरेको छ– नागरिकता। ३६ वर्षीया सुभद्रासँग नागरिकता छैन र, उनका छोराछोरीको जन्मदर्ता पनि छैन। जन्मदर्ता नभएकै कारण १५ वर्षीय जेठो छोरा वरदानले ७ कक्षा पढिसकेर विद्यालय पढाइ छाडेका छन्। अहिले ६ मा पढिरहेका कान्छा छोरा दिवसले पनि अब १ वर्षपछि पढाइ छाड्नुपर्नेछ। विद्यालय शिक्षामा कक्षा ८ पुगेपछि अनिवार्य जन्मदर्ता मागिने भएकाले पढाइ अघि बढाउन समस्या रहेको सुभद्राले सुनाइन्। अर्की १० वर्षीया छोरी विनिशा ललितपुरको चण्डी माविमा पढ्दैछिन्। ९ मा पढ्दापढ्दै भागी विवाह गरेकी सुभद्राका पति विनोद खड्कासँगको बसाइ १० वर्षसम्म मात्रै भयो। ‘त्यसपछि श्रीमान् भारत गएको भन्ने थाहा पाएकी हुँ तर कहिल्यै सम्पर्क भएन,’ मनोहरा बस्तीमा भेटिएकी सुभद्राले सुनाइन्– ‘कपनको पण्डित खलकमा जन्मेहुर्केकी म आफ्नै दु:खसुखमा हिँडिरहें। आफ्नो विवाह दर्ता अथवा छोराछोरीको जन्मदर्ता पनि कहिल्यै गराइएन।’ अहिले पतिको अत्तोपत्तो नभएपछि र अरू सरकारी सेवासुविधा तथा राहतका लागि पहल गर्नै पनि आफूसँग नागरिकता नहुँदा हैरानी व्यहोर्नुपरेको उनले बताइन्। अहिले उनी बस्ने सुकुम्बासी बस्तीमा सरकारी बिजुलीको लाइन आएको छ, बिजुलीको बिल तिर्दा भने सुभद्राको नाममा ‘क्यासियर’ भनेर बिल आउँछ। अरू कागजात केही पनि छैन। परिवारलाई मनोहरा सुकुम्बासी बस्तीमा टहरो बनाएर राखिदिएपछि पति विनोद बेपत्ता भएका हुन्। ‘अहिलेको संविधानअनुसार आमाका नाममा पनि जन्मदर्ता हुन्छ, नागरिकता निस्कन्छ भन्ने सुनेकी हुँ,’ उनले भनिन्, ‘तर जतै गए पनि काम गराउन खोज्दा पैसा खान/ख्वाउन खोज्ने कुरा सुनेर हैरान भएकी छु।’ नुवाकोटको तलाखुबाट २०५० मा कपन बसाइँ सरेका न्यौपाने परिवारको बसाइँसराइ दर्ता कागजमा बाबुआमा, तीन दाजुभाइसँगै सुभद्राको पनि नाम छ। तर, विवाह दर्ता र अरू कागजात नहुँदा जिल्ला प्रशासन कार्यालयले सुभद्रालाई नागरिकता दिन नसकिने जनाएको छ। ‘उहाँले अब अदालती प्रक्रियाबाट अघि बढेमा मात्रै नागरिकता प्रक्रिया सहज हुन सक्छ,’ गृह मन्त्रालयका एक सहसचिवले कान्तिपुरसँग भने, ‘सुरुमा पतिसँगको सम्बन्धविच्छेद अथवा अरू सम्बन्धको आधार नरहेको भन्ने पुष्टि भएपछि मात्रै सुभद्राले नागरिकता पाउने अवस्था रहन सक्छ।’ उदयपुर, गाईघाटबाट कामको खोजीमा आएका प्लम्बर काम गर्ने खड्कासँग बिहा गरेपछि आफू आफन्तजनबाट टाढिएको उनले सुनाइन्। ‘लोग्ने वा बाबुको नामबाट म नागरिकता लिन चाहँदिन भने मेरा लागि अधिकार कसले जुटाइदिन्छ?’ सुभद्राले भनिन्, ‘यही सुकुम्बासी बस्तीमा मजस्ता थुप्रै एकल महिलाहरू मेरैजस्तो समस्या व्यहोरेर बसिरहेका छन्। हाम्रो समस्या कसले सुनिदिने?’ उनले आफ्नो समस्या लिएर वार्ड/नगर र जिल्ला प्रशासनमा जाँदा सुनुवाइ हुन नसकेको बताइन्।

0 Comments

Related Trend Analysis