Incident Reports

घर फर्काउने वातावरण मिलाइदिन प्रहरी कार्यालयमा निवेदन l

2013-06-19

DM Chamling Rai खोटाङ । ०७० असार ६ गते नेकपा-माओवादीका कार्यकर्ताले हातखुट्टा भाँच्ने धम्की दिएपछि ०७० जेठ २९ गतेदेखि गाउँबाट विस्थापित भएको भन्दै डुम्रेधारापानी गाविस-९ भोर्लेनीका ५८ वर्षीय चन्द्रसिं बस्नेतले गाउँ फर्किने वातावरण मिलाइ दिन असार ५ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा निवेदन दिएका छन् । नेकपा-माओवादी डुम्रेधारापानी गाउँ पार्टीका सदस्यहरु दिननाथ पाण्डे, भवकृष्ण पाण्डे, तुलबहादुर मगर र डिल्लीबहादुर मगरले विनाकारण हातखुट्टा भाँच्ने धम्की दिएपछि घर बस्न नसकी सदरमुकाम दिक्तेल बस्दै आएको बस्नेतले उजुरीमा उल्लेख गरेका छन् । डुम्रेधारापानी गाविस-५ मा रहेको कित्ता नम्बर ५९, ६३ नम्बरको ४० रोपनी जग्गा ०७० वैशाख २३ गते नेकपा-माओवादीले कब्जा गरी पार्टीको झण्डा गाडेको र उक्त जग्गा आफ्नो भएको बस्नेतले जनाएपछि माओवादीले धम्की दिने गरेको आएको उनले बताएका छन् । बिनाकसुर गाउँबाट विस्थापित हुनु परेको भन्दै धम्की दिने व्यक्तिहरु झिकाइ कब्जा गरिएको जग्गा फिर्ता गराइ दिन र घर फर्किएर निर्भिकतापूर्वक बस्ने वातावरण मिलाउन माग गर्दै उनले उजुरी दिएका हुन् । प्रहरीसँगै उनले राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङ र इन्सेक खोटाङ कार्यालयमा समेत निवेदन पेश गरेका छन् । नेकपा-माओवादीका विशेष एरिया सेक्रेटरी झमप्रसाद आचार्यले भने किसानहरुले ऐलानी जग्गामा खेत बनाएर उब्जाएको अन्न बस्नेतले लुटेर लैजाने गरेको पत्ता लागेपछि जग्गा कब्जा गरेको बताए । उनलाई आफ्नो कार्यकर्ताले धम्की नदिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दुर्गा रेग्मीले यस विषयमा दुवै पक्षलाई कार्यालयमा बोलाइ छलफल गराउने तयारी भइरहेको बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis