Incident Reports

दलित र गैरदलितबीच मन्दिर प्रवेश गर्न र सामाजिक सद्भाव कायम राख्न सहमति l

2013-06-23

Bipin Gautam रौतहट । ०७० असार ९ गते पिपरिया दोस्तिया गाविस-८ भिमडावर टोलमा गत जेठ २४ गते गैरदलितहरूले दलित बस्तीमा आक्रमण गरेपछि बिग्रिएको सामाजिक सद्भाव पुनः कायम राख्न ०७० असार ९ गते दुवैपक्षबीच सहमति भएको छ । इन्सेक रौतहट जिल्ला प्रतिनिधि बिपिनप्रसाद गौतमको सक्रियतामा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा भएको वार्तामा दुवैपक्षका प्रतिनिधिहरूबीच सद्भाव कायम राख्ने विषयमा पाँचबुँदे सहमति भएको छ । सहमतिपछि दलित संर्घष समितिका तर्फबाट अघि सारिएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता भएका छन् । प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेको कार्यकक्षमा इन्सेक प्रतिनिधि बिपिन गौतम, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष शैलेन्द्रकुमार गुप्ताको सहजीकरणमा भएको छलफलमा पिपरिया दोस्तिया गाविस-८ को भिमडावर टोलमा भएको भगवती ब्रम्हस्थान मन्दिरमा सबैपक्षले निर्वाध पूजाआजा गर्न पाउने गरी आगामी मंगलवार बिहान सामूहिक पुजाआजाको कार्यक्रम राखी मन्दिर प्रवेश गराउने, सोही समयमा सहभोजको आयोजना गर्ने, गैरदलित समुदायबाट दलित समुदायको सम्पतिमा पुर्‍याएको क्षतिमध्ये घरका खपडाका छाना लगायत भत्किएका वारहरू मर्मत गरिदिने, घाइते तिनजनाको थप उपचारको व्यवस्था गैरदलितहरूको तर्फबाट गर्ने र घटनापछि गैरदलितहरूले दलितहरूलाई खेतबारी लगायतकबा स्थानमा जान प्रतिबन्ध लगाएकोमा सो कार्य तत्काल बन्द गर्ने र दलित संर्घ समितिको तर्फबाट अघि सारिएका आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिने सहमति भएको छ । वार्ता टोलिमा दलित संर्घष समितिका तर्फबाट संयोजक नाथुराम परियार, सदस्यहरू धर्मेन्द्र पासवान, रामबिनय पासवान, सत्यनारायण राम र गैरदलितहरूको तर्फबाट रामनारायण यादव, सुनिल यादव, दयाराम साह, रामआधार राय यादव रहेका थिए । गत वैशाख ३१ गते सो गाविसमा रहेको ब्रम्हस्थान भगवती मन्दिरमा स्थानीय उमेश रामको विवाह पछि दतिलहरूले पूजा गर्न जाँदा कथित उपल्लो जातिका व्यक्तिहरूले मन्दिर प्रवेश गर्न नदिई कुटपिट गरेको विरुद्धमा दलितहरूले सो गाउँका ८ जना विरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा किटानी जाहेरी दिएका थिए । सो मुद्दा फिर्ता लिन स्थानीय गैरदलितहरूले दवाव दिएकोमा पीडितहरूले नमानेपछि दलित वस्तिमाथि आक्रमण गरी घरहरू तोडफोड गर्नुका साथै १८ जना दलितहरूलाई घाइते भएका थिए । घटनामा संलग्न रहेकाहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा दलित समुदायको तर्फबाट ५४ जना विरुद्ध जातिय छुवाछुत, ज्यान मार्ने उद्योग र डाँका मुद्दा दर्ता गराएकोमा प्रहरीले स्थानीय छोटेलाल यादव, रामदेव यादव र तेजनारायण यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने अन्य आरोपितहरू हालसम्मपनि फरार रहेका छन् । वार्तामा प्रहरी उपरीक्षक गोविन्दराम परियार, सशस्त्र प्रहरी उपरीक्षक प्रेमकुमार पोखरेलको पनि उपस्थिति रहेको थियो । बिपिन गौतम

0 Comments

Related Reports
Related Trend Analysis