Bipin Gautam
रौतहट । ०७० साउन १९ गते
बगही गाविस-१ फत्तेपुर टोलकी २५ वर्षीया गुठीदेवी सहनीलाई उनकै पति र ससुराले कुटपिट गरी घर निकाला गरेको आरोपमा पीडितले ०७० साउन १९ गते महिला तथा बालबालिका सेवा केन्द्र रौतहटमा उजुरी दर्ता गराएकी छिन् ।
पति ३० वर्षीय चुनिलाल सहनी र ससुरा ५० वर्षीय महेन्द्र सहनीले साउन १८ गते राति मादक पदार्थ रक्सी सेवन गरी आफूलाई कुटपिट गरेको र आफ्नो छ महिनाको छोरी समेत खोसेर राखी घरबाट निकाला गरेको पीडितले बताइन् ।
पति र ससुराले कुटपिट गरी निकाला गरेपछि सोही ठाउँमा रहेको आफ्नो माइतीमा बस्न गएको र छोरी उनीहरूले नै राखेकाले आफ्नो साथमा राख्नका लागि समेत पीडितले निवेदनमार्फत माग गरेको प्रहरीले जनाएको छ ।
पीडितको निवेदन अनुसार तत्काल पीडितको घरमा जाँदा नावालक छोरी घरमा नै रहेकाले उनलाई पीडितको जिम्मा लगाइएको र आरोपितहरू फेला नपरेकाले साउन २० गते उपस्थित हुन जनाउ दिइएको महिला तथा बालबालिका सेवा केन्द्र रौतहटका प्रहरी असई राजकिसोर यादवले बताए ।
बिपिन गौतम