Incident Reports

No translation available.

2018-03-06

आमा नेपाली नागरिक तर बाबुको अवस्था पत्ता नलागेका रुपन्देही जिल्लाका युवायुवतीले हालसम्म पनि नागरिकता पाएका छैनन् । यद्यपि संविधानले त्यस्ता व्यक्तिले अन्य नेपाली नागरिकसरह नागरिकता पाउनुपर्ने व्यवस्था गरेको छ । इलाका प्रशासन कार्यालय बुटवलको नागरिकता फाँटमा आमाको नामबाट नागरिकता पाऊँ भन्दै परेका ५० भन्दा बढी निवेदनको चाङ छ । तर, त्यस्ता एउटा व्यक्तिले पनि नागरिकता पाउन सकेका छैनन् । प्रशासन कार्यालयका निमित्त प्रमुख ध्रुवप्रसाद नेपाल बाबु बेपत्त्ता भएका ती युवायुवतीले कहिले नागरिकता पाउँछन् भन्ने बिषयमा आफू पनि स्पष्ट नरहेको बताउँछन् । कुनै व्यक्तिका बाबुको मृत्यु भैसकेको वा पहिचान खुलिसकेको अवस्थामा नागरिकता दिन उति गाह्रो नभए पनि बाबुको अत्तोपत्तो नभएका अवस्थामा ऐन र प्रचलित कार्यविधी नभएका कारण नागरिकता दिन असजिलो भएकोे उनले बताए । तर, संविधानको नागरिकतासम्बन्धी धारा ११ (५) मा नेपाली नागरिक आमाबाट नेपालमा नै जन्म भएका र बाबुको पहिचान हुन नसकेका व्यक्तिलाई वंशजको आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ भनी उल्लेख गरिएको छ । यसबारे निमित्त प्रमुख नेपाल बेखबर भने छैनन् । उनले यसो हुनुमा थप कार्यविधि तथा ऐनहरुको अभावलाई मुख्य कारण मानेका छन् । तर, अब बन्न लागेको प्रादेशिक सरकारले यो समस्यालाई निकै छिटो हल गर्नेमा आफू विश्वस्त रहेका उनी बताउँछन् । उनी भन्छन्–‘यो समस्या दिर्घकालीन रहँदैन । अब बन्ने नयाँ प्रादेशिक सरकारले ऐनहरु बनाउने छ ।’ यता जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आमाको नामबाट नागरिकता माग्दै कम्तीमा पनि १ सय ५० भन्दा बढी निवेदनहरु आएको बताएको छ । निवेदन दिएकामध्ये एउटा पनि व्यक्तिले नागरिकता पाएका छैनन् । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीका अनुसार बाबु बेपत्ता भएका सन्तानहरुको आमा नेपाली नै भए पनि उनीहरुका बाबु नेपाली या विदेशी खुल्न नसक्ने भएकाले वंशज या अंगीकृत नागरिकता के दिने भन्ने विषयमा अन्यौल छ । अधिकारी मैनालीले यसबारे कुनै पनि कार्यविधी प्रचलनमा नरहेकाले अन्योल सिर्जना हुन आएको बताए । उनी भन्छन्, ‘आमाको नाममा नागरिता बारे संविधानमा लेखेता पनि कार्यविधि र ऐनहरु क्लियर (स्पष्ट) हुन नसक्दा समस्या बल्झिएको हो ।’ तर, संविधानमा उल्लिखित यो व्यवस्था जिल्ला प्रशासन कार्यालयले व्याख्या गरे भन्दा निकै फरक छ । संविधानको नागरिकता सम्बन्धी धारा ११ (५) को अन्त्यमा उल्लेख छ, ‘तर,बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानुनबमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।’ संविधानको नागरिकतासम्बन्धी यो धाराले बाबुको ठेगान नलागेका तर नेपाली नागरिक आमाबाट नेपालमै जन्मेका जोसुकैले पनि वंशजको आधारमा नागरिकता पाउने बाटोलाई खुला गरेको छ । यदि भविष्यमा बाबु गैरनेपाली ठहरेमा उक्त नागरिकता अंगीकृतमा परिवर्तन हुने कुरा सो धाराले बताउँछ ।
National/Online Media

0 Comments

Related Trend Analysis