Incident Reports

हत्या तथा अपहरणका आरोपितको गिरफ्तारीपछि प्रहरीद्वारा सार्वजनिक l

2013-08-22

Binod Pandey विगतमा भूमिगत सशस्त्र समूह "तराई जनतान्त्रिक पार्टी मधेश" मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण, चन्दा असुली, फिरौती रकम माग गर्ने लगायतका विभिन्न घटनामा सङलग्न रहेको आरोपमा बाँके प्रहरीको मोष्ट वान्टेड सूचीमा रहेका इन्द्रपुर गाविस-३ बस्ने वकिल दर्जी भनिने जियाउल मनिहारलाई गिरफ्तार गरी भदौ ६ गते सार्वजनिक गरेको छ । असार १७ गते जिल्ला प्रहरी कार्यालयले नेपालगञ्ज नपा-५ बाट लागूऔषध ब्राउन सुगरसहित गिरफ्तार भएका मनिहारले आफू भारत रुपैडिया बस्ने वकिल दर्जी भएको बताएको र लागू औषध मुद्दाको अनुसन्धान गर्दै जाँदा उनी मोष्ट वान्टेड सुचीका मनिहार भएको खुलेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ०६६ कात्तिक २८ गते खजुराखुर्द गाविस-१ का २२ वर्षीय गंगाराम पासी र सोही ठाँउका २२ वर्षीय मुन्ना यादवको इन्द्रपुर गाविस-७ मा घाँटी रेटी हत्या गरेको आरोपमा बलिराम अहिरसमेतको जाहेरीमा मुद्दा दर्ता भएको थियो । त्यसैगरी, ०६७ असोज १४ गते बैतडी बाराकोट घर भई नेपालगञ्ज नपा-१५ बस्ने १६ वर्षीय लिलाधर भट्ट र नेपालगञ्ज नपा- १५ का १५ वर्षीय कपिल द्धिवेदीलाई अपहरणपछि निर्ममतापूर्वक हत्या गरेको आरोपमा मनिहारविरुद्ध मुद्दा चलेको थियो । अपरहणपछि बन्धक बनाई असोज १७ गते कारकादो गाविस-४ मा लिलाधर भट्टलाई घाँटी रेटी हत्या गरी कपिल द्धिवेदीको आफन्तबाट १० लाख फिरौती रकम लिई असोज १८ गते कपिललाई इन्द्रपुर गाविस-७ मा घाँटी रेटेर हत्या गरेको आरोप उनीमाथि छ । पछिल्लो पटक ०७० वैशाख ३० गते नेपालगञ्ज नपा-१ चन्दननाथ टोल बस्ने २८ वर्षीय महेन्द्र शाहीलाई अपहरण गरी भारतमा १० दिनसम्म बन्धक बनाई पीडितको आफन्तसँग फिरौती रकम माग गरिरहेको अवस्थामा अपहरित शाहीलाई नेपाल प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा जेठ १० गते भारत कोतवाली नगर लगरघट्टाबाट उद्धार गरेपछि अपहरित शाहीले उनीविरुद्ध मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालयका एसपी भुपालकुमार भण्डारीले बताए । भण्डारीले मनिहारविरुद्ध मुलुकी ऐन ज्यानसम्बन्धी महल, अपरहण तथा शरीर बन्धक लिने महल र लागु औषध तथा नियन्त्रण ऐन २०३३ अनुसार कारवाही गरिने बताए । बालकद्वय हत्या घटनाका आठ जना अभियुक्तहरूलाई जिल्ला अदालतले ०६९ मंसिर २९ गते ७८ वर्षकैद सजायको फैसला गरेको थियो । giraftari

0 Comments

Related Reports
Related Trend Analysis