Incident Reports

बोक्सीको नाममा भएको हत्या घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक l

2013-08-25

Nepal

कथित बोक्सी हत्या घटनाको स्थलगत अध्ययन गरेर फर्किएका विभिन्न संघसंस्थाका अधिकारकर्मीहरू समिलित टोलीले भदौ ९ गते वीरगन्जमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय, नेपाल मानव अधिकार संगठन, राष्ट्रिय महिला अधिकार मन्च, जिल्ला महिला अधिकार मन्च र दिव्य युवा क्लब वीरन्चीबर्बाले बोक्सी हत्या घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा सुपौली सडि टोलकी पार्वतीदेवी चौधरीको साउन ३१ गते राति कथित बोक्सीको आरोपमा स्थानीय ५० देखि ६० जनाको समूहले कुटपिट गरी हत्या गरेको उल्लेख छ । स्थलगत अध्ययनमा सङ्लग्न अधिकारकर्मीहरूले घटनाका सम्बन्धमा स्थानीय प्रशासनले अझ सकृयताका साथ अनुसन्धान प्रकृया अगाडि बढाएर दोषीहरूलाई कानुनको दायरामा ल्याउनुपर्ने, पीडित परिवारलाई राज्यको तर्फबाट उचित क्षतिपुर्तिको व्यवस्था गरिनुपर्ने बोक्सी जस्तो समाजमा रहेको अन्धविश्वासलाई अन्त्य गर्न राज्यका तर्फबाट प्रभावकारी जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग गरेका छन् । अधिकारकर्मीहरूले बोक्सीको नाउँमा हुने यस्ता घटना सम्बोधन गर्ने कानुन बनाउन सरकारलाई सिफारिस गर्न राष्ट्रिय महिला आयोगलाई सुझाव समेत दिएका छन् । प्रतिवेदनमा इन्सेक जिल्ला प्रतिनिधी पर्साका केसी लामिछाने, नेपाल मानव अधिकार संगठन पर्साका कमलमोहन पोख्रेल, राष्ट्रिय महिला अधिकार मञ्चकी सावित्री पोख्रेल, जिल्ला महिला अधिकार मञ्च पर्साका सरिता श्रेष्ठ, रेणु मानन्धर र दिव्य युवा क्लब वीरन्चीबर्बाका श्याम किशोर चौहान र श्रीला सरकारको हस्ताक्षर रहेको छ । यसैबीच, पार्वतीदेवीको हत्यामा सङ्लग्न मध्येका मुख्य आरोपित सुपौली गाविस ढडी-९ का ४५ वर्षीय कारी खाँ थारूलाई भदौ ९ गते भारतीय प्रहरीको सहयोगमा भारतको गौनाहा थानाको पिपरिया गाउँबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी धिरज प्रताप सिंहले जानकारी दिए । चौधरीको हत्यापछि फरार रहेका आरोपपितलाई र्इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका इन्स्पेक्टर श्यामकृष्ण केसीको नेतृत्वमा गएको नेपाल प्रहरीको टोलीले गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी तथा प्रवक्ता बासुदेव खतिवडाले जनाए । हत्यामा सङलग्न रहेको आरोपमा प्रहरीले यसअघि छ जनालाई गिरफ्तार गरी अनुसन्धान गरिहेको छ । प्रमुख जिल्ला अधिकारी कैलाश कुमार बजिमयले भदौ ८ गते मृतक पार्वतीदेवीका पति भगन चौधरीलाई क्रिया खर्चका लागि २५ हजार रूपिया उपलब्ध गराएका छन् ।

0 Comments

Related Reports
Related Trend Analysis