Incident Reports

घट्ट प्रयोग गरेको आरोपमा दलितमाथि कुटपिट l

2013-08-27

Ramesh Prasad Timalsina सिन्धुली जिल्लाको रत्नावली गाविस-६ ओखरबोटमा नन्दलाल विश्वकर्मालाई सार्वजनिक पानी घट्ट र मन्दिरमा पूजा गरेको आरोपमा गैरदलितहरूले कुटपिट गरेका छन् । गैरदलितहरूले विश्वकर्मालाई कुटपिट गरी गाउँ निकालाको घोषणा गरेपछि सुरक्षाका लागि उनी राजधानी आएपछि घटना सार्वजनिक भएको दलित गैर सरकारी संस्था महासंघमा कार्यरत कमल विश्वकर्माले जानकारी दिए । रत्नावली गाविस-९ भीरगाउँमा बस्ने नन्दलाल विश्वकर्माले गत फागुनमा ओखरबोटका जीतबहादुर कार्कीसँग घरजग्गा किनेर बस्न थालेपछि १५-१६ घर क्षेत्रीको समाजमा एक्लो दलित आई पुगेपछि सो गाउँको मन्दिरमा पूजा र घट्ट प्रयोग गर्नमा असहज गर्दै आएकामा भदौ १ गते कुटपिट गरेको पीडितले बताए । गैरदलितहरूले बैठकमा छलफल गर्नुपर्ने भनी बोलाई तिमी दलित भएका कारण मन्दिरमा पूजा र घट्ट प्रयोग गर्न मिल्दैन भनेपछि तपाइँहरूकै समाजमा बस्न आएपछि किन नपाउनु अहिलेको समयमा पनि जातीय विभेद् गर्न मिल्छ र ? भनि प्रश्न गर्न नपाउँदै गैरदलितहरूले कुटपिट गरेको उनको भनाई छ । स्थानीय गोपाल कार्कीसहित उनका चार दाजुभाई विदुर कार्की, मिनबहादुर कार्की र सन्तोष कार्कीले पालैपालो कुटेका र गोपाल कार्कीले इलाका प्रहरी कार्यालय सोल्पामा उल्टै आफूबिरुद्ध उजुरी दिई थुनाउने प्रयास गरेको पीडित विश्वकर्माले बताए । प्रहरीले तपाइँको गल्ती रहेनछ भनी छोडे पनि गाउँमा पुग्दा गोपाल कार्की र उनका पक्षकाहरूले कुट्ने प्रयास गरेपछि ज्यानको सुरक्षा र न्यायको लागि गुहार माग्न आफू राजधानी आउनु परेको ललितपुर ताल्छीखेलस्थित दलित गैसस महासङ्घको कार्यालय आइपुगेका विश्वकर्माले बताए । विश्वकर्मालाई राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगमा घटना बारे जानकारीसहितको उजूरी पुर्‍याउन पहल गरिरहेको दलित गैसस महासङ्घका कार्यक्रम अधिकृत कमल विश्वकर्माले जानकारी दिएका छन् । मुलुकी ऐन २०२० भदौ १ गते लागू हुँदा सोही ऐनमा जातीय विभेद्लाई दण्डनीय अपराध भन्दै पहिलोपटक दलितको पक्षमा कानुन बनेको खुशीमा अहिले पनि मुक्ति दिवस मनाइन्छ, तर मुक्ति दिवसकै दिन सिन्धुलीमा एक जना जातीय कारण कुटिएको दलित गैरसरकारी सस्था महासंघले जानकारी दिएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis