Incident Reports

विदेशमा भारतीय नागरिकबाट बलात्कृत धनमाया न्यायको खोजीमा

2018-04-23

Bagmati, Kathmandu, Kathmandu

वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उनको परिवारले घरबाट निकालेको हो । उनलाई श्रीमान किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए । जोर्डन जानका लागि बस्नेतलाई साउदी अरबमा रहेका श्रीमानले नै सहयोग गरेका थिए । दुई वर्षकी छोरी छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी बस्नेतलाई सँगै काम गर्ने भारतीय नागरिकले बलात्कार गरेका थिए । उनी काठमाडौँको एसिसी मेनपावर कम्पनीमार्फत जोर्डन गएकी थिइन् । जोर्डनको एउटा गलैँचा उद्योगमा काम गर्नेक्रममा आठ महिना अघि यस्तो घटना घटेको हो । उनी भन्छन्, ‘साथीसँग समूहमा थिएँ । हाम्रो पछिपछि आउँदै रहेछ, थाहा भएन । म सबैभन्दा पछाडि थिएँ । उसले मेरो अनुहारमा रुमालले छोपेको याद छ । अरु मलाई केही थाहा छैन । होसमा आउँदा सडकमा थिएँ ।’ श्रीमान् र परिवारका सदस्यलाई घटनाबारे जानकारी नगराएको बताइन् । ‘परिवारलाई यस्तो घटना सुनाउँदा पीडा हुन्छ भनेर कुरा लुकाए,’ उनले पीडा सुनाइन् । बलात्कारपछि उनी गर्भवती बनेपछि जोर्डनस्थित उद्योगले बस्नेतलाई घर फर्काइदियो । हाल उनी आठ महिनाकी गर्भवती छिन्। सात दिनअघि मात्र घर फर्किएकी बस्नेतलाई उनका श्रीमान् किरण बस्नेतले गर्भवती भएको थाहा पाएपछि कचनकवल–२ स्थित माइतीको जिम्मा लगाएका छन् । बस्नेतका दुई छोरी र एक छोरा छन् । पन्ध्र वर्षकै उमेरमा बिर्तामोड नगरपालिका–२ किरण बस्नेतसँग उनको मागी विवाह भएको हो । बुधबार बुबा र स्थानीय महिलासहित आफ्नो जीविकोपार्जनको व्यवस्था मिलाइदिनका लागि श्रीमान भेटन आएकी धनमायालाई उनको परिवारले स्विकार्न तयार भएन । श्रीमानले धनमायासँगको आफ्नो सम्बन्ध सकिएको बताउँदै उनलाई कुनै सहयोग गर्न नसक्ने बताएका छन् । श्रीमतीले आफूलाई समयमै साँचो कुरा नबताएका कारण यस्तो अवस्था आएको किरणको भनाइ छ । धनमायाका बुबा उदयबहादुर कार्की छोरीलाई ज्वाइँको परिवारले नै विदेश पठाएकाले यस्तो अवस्था सिर्जना भएको हुँदा जीविकोपार्जनका लागि व्यवस्था गर्नुपर्ने बताए । ‘छोरीको बसोबासको व्यवस्था ज्वाइँले नै गर्नुपर्छ,’ कार्कीले भने ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis