Incident Reports

मायालाई मुद्दा फिर्ता लिन आरोपितका आफन्तबाट दबाब l

2013-09-23

Province 1, Morang, Belbari

Deepen Neupane अमानवीय व्यवहारबाट पीडित बेलबारी गाविस-३ करमडाँडाकी ३५ वर्षीया माया सार्कीलाई मुद्दा फिर्ता लिन आरोपितका आफन्त पक्षले दबाब दिएका छन् । राष्ट्रिय दलित आयोगले असोज ७ गते विराटनगरमा आयोजना गरेको एक कार्यक्रममा पीडितले मुद्दा फिर्ता लिन दबाब आएको बताएकी हुन् । "गाउँको कुरा गाउँमै मिलाउनुपर्छ, दुश्मनी गरेर हुँदैन" भनेर दबाब आउने गरेको छ - उनले भनिन् । छोराछोरीसँग गाउँका मानिस कोही बोल्दैनन्, घरजग्गा बिक्री गरी बसाइ सर्न आरोपितहरूका आफन्तले दबाब दिने गरेको पीडितले बताइन् । यस्तो दबाबाट घरमा बस्न डर भएको पीडितको गुनासो छ । विस्थापित भएको डेढ महिनापछि भदौ २० गते उनी पुनःस्थापित भएकी थिइन् । उनलाई जिल्ला प्रशासन कार्यालयले सुरक्षाको प्रत्याभूति दिने भएपछि उनी पुनःस्थापित भएकी थिइन् । उनलाई पुनःस्थापित गर्न तत्कालिन निमित्त प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुर्इँटेल, राष्ट्रिय मानवअधिकार आयोगका विराटनगरका मानवअधिकार अधिकृत अर्जुन कोइराला, इन्सेकका क्षेत्रीय संयोजक सोमराज थापा, राष्ट्रिय दलित आयोगका सदस्य अनिता परियार, महिला तथा बालबालिका जिल्ला कार्यालयका प्रमुख गीता महत, इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख इन्स्पेक्टर राजन कार्की, स्थानीय राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । पुनःस्थापित कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लुर्इँटेलले पीडित र पीडितको परिवारलाई शान्ति सुरक्षा दिन प्रतिवद्धता व्यक्त गरेका थिए । यसअघि भदौ १७ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकमा प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले पीडितलाई पुनःस्थापित गर्नका लागि सुरक्षा दिने बताएका थिए । सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुर्इँटेले मायालाई दबाब आएको उजुरी आएमा छानबिन गरी कारबाही थालिने बताए । राष्ट्रिय मानवअधिकार आयोगका विराटनगरका प्रमुख कोषराज न्यौपानेले दबाब दिएको विषयमा उजुरी आए तत्काल छानबिन गरिने बताए । माया फेरि उजुरी हाल्ने र अड्डा अदालत धाउने मनस्थितिमा नरहेको बताउँछिन् । विदेशबाट पति आएपछि बसाइ सरेर गाउँनै छोड्ने उनको विचार रहेको छ । उनी स्थानीयको अमानवीय व्यवहारपछि भोलिपल्ट साउन ८ गते विस्थापित भएकी थिइन् । पीडित विस्थापित भई इन्द्रपुर गाविस-३ स्थित दिदीको घरमा दुई दिन र साउन १० गतेदेखि विराटनगरस्थित ओरेकको सुरक्षित आवासगृहमा बसेकी थिइन् । पीडित विस्थापितपछि उनका एक छोरा र एक छोरी उनको दिदीको घरमा बसेका थिए । सो घटनामा पीडित भएका सोही ठाउँ निवासी फाइट साप्ताहिकका कार्यकारी सम्पादक २८ वर्षीय मनोज विश्वकर्मा यसअघि नै स्वत पुनःस्थापित भइसकेका छन् । उनीहरू दुवैलाई साउन ७ गते मोसो दलेर आरोपितहरूले अमानवीय व्यवहारको गरेका थिए । घटनाका आरोपितहरू जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालतबाट यसअघि नै धरौटी राखेर तारेखमा रिहा भइसकेका छन् । आरोपितका आफन्त नीरा प्रसार्इँले मायालाई कसैले दबाब नदिएको, उसको घर किन्न मात्र खोजेको हो बताइन् । "मायासँग कोही बोल्दैनन् त ऊ गाउँमा कसरी बस्न सक्छे" उनले भनिन् । दीपेन नेउपाने

0 Comments

Related Reports
Related Trend Analysis