Incident Reports

निर्वाचनका लागि छानिएका म्यादी र प्रहरीबीच झडप l

2013-10-21

Laxmi Sah Sonar संविधानसभा निर्वाचन २०७० को मतदान सुरक्षाका लागि छनौट म्यादी र प्रहरीबीच कलैयामा कात्तिक ४ गते झडप भएको छ । तीन महिनाको तलब सुविधा पाउनुपर्ने, जिल्लामै खटाइनुपर्ने र नियुक्ति पत्रमा स्पष्ट बेहोरा उल्लेख गर्नुपर्ने माग गर्दै सयौँ म्यादीहरू विरोध प्रदर्शनमा उत्रिएपछि झडप भएको थियो । झडपको क्रममा छ जना प्रहरी र २० जनाभन्दा बढी म्यादी प्रहरीलाई चोटपटक लागि घाइते भएका छन् । विरोधमा उत्रेका म्यादीमध्ये प्रहरीले १९ जनालाई हिरासतमा राखेको छ । पचासौँ जनाले म्यादीको नियुक्ति लिएरै घर फिर्ता भएका छन् । म्यादी प्रहरीले ढुङ्गामुढा गरेपछि प्रहरीहरू घाइते हुनुसँगै गाडीमा समेत क्षति पुगेको छ । घाइते प्रहरीको कलैया अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धर्मराज भण्डारीले बताए । नियन्त्रणमा रहेका सबै म्यादीमाथि कारबाही गरिने उनले बताए । म्यादीलाई नियुक्ति पत्र दिने क्रममा इन्स्पेक्टर उत्तम बरालले उनीहरूले पाउने सुविधाकोबारेमा जानकारी गराइरहँदा त्यहा“ सहभागी साढे एक हजार म्यादी प्रहरीहरूले नाराबाजी गर्दै विरोध प्रदर्शनमा उत्रेका थिए । बरालले डेढ महिनाको तलब सुविधा पाउने भन्दै म्यादी प्रहरीलाई जानकारी गराइरहेकै क्रममा म्यादीहरू प्रदर्शन गर्दै केहीबेर चक्काजाम र जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । त्यसपछि प्रहरीले बल प्रयोग गरेका थिए । यसैबीच, इन्स्पेक्टर उत्तम बरालले विरोधमा उत्रेका प्रहरी म्यादीलाई सम्झाउने बुझाउने क्रममा एकासी अस्वस्थ्य भई बेहोस भएका थिए । बेहोसपछि उनलाई वीरगञ्ज स्थित नेशनल मेडिकल कलेजमा उपचारको लागि भर्ना गरिएको थियो । चिकित्सकले उनको सिटी स्क्यान गर्दा मस्तिष्कमा रक्तश्राव भएकाले थप उपचारको लागि नेपाल प्रहरी अस्पताल काठमाडौँ लगिएको इन्स्पेक्टर रामनाथ घिमिरेले बताए । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis