Incident Reports

विप्लवका जिल्ला नेता पक्राउ

2018-09-05

नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका जिल्ला स्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका माडीगाउँपालिका घर्तीगाउँका देवबहादुर वली ‘दिनेश’लाई इलाका प्रहरी कार्यालय घर्तीगाउँले पक्राउ गरेको हो। भदौ १६ गते घर्तीगाउँबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय घर्तीगाउँका ईन्चार्ज राजकुमार पहाडीले जानकारी दिए। पक्राउ गरिएका दिनेशलाई भदौ १७ गते सार्वजनिक अपराधसम्बन्धि मुद्दा लगाइएको छ। १५ दिने म्याद थप भई अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरिक्षक सुदर्शन पन्थीले बताए। विस्फोटको घटनामा संलग्न रहेको आरोपमा अदालतबाट वारेन्ट जारी गरिएका दिनेशलाई घर्तीगाउँ बजारबाट पक्राउ गरिएको हो। संघीय र प्रदेशसभा निर्वाचनको प्रचारमा गाउँ पुगेका तत्कालीन माओवादी केन्द्रका नेता एवं उम्मेदवार बर्षमान पुनलाई लक्षित गरिएको विस्फोटको घटनामा उनीलगायत संलग्न रहेको आरोप लगाइएको थियो। चुनावी प्रचारमा गाउँ पुगेका नेता पुन चढेको गाडीलाई लक्षित गरी माडीगाउँपालिका–१ भिताबाङमा विस्फोट गराइएको थियो। माडीगाउँ कमिटी इन्चार्ज समेत रहेका दिनेशलाई सार्वजनिक अपराधसम्बन्धि मुद्दा चलाइएको छ। उछृंखल कार्य गरी शान्ति सुरक्षामा खलल पु¥याएको भन्दै सार्वजनिक मुद्दा चलाउनु परेको प्रहरीका दावी छ। पक्राउ परेका दिनेश माडीगाउँपालिका–१ पेदीखोलाका वडा सदस्य हरिप्रसाद घर्तीमगरको राजिनामालगायत घरजग्गा कब्जा घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis