Incident Reports

No translation available.

2018-09-06

Nepal

कञ्चनपुरमा हालै अवर्णनीय घटना भयो। भीमदत्त नगरपालिका वडा नम्बर २ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको जबरजस्ती करणीपश्चात् नृशंस हत्या भयो। समाचारमा आएअनुसार अनुसन्धानको क्रममा मानसिक सन्तुलन गुमाएको एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेछ। अनुसन्धानको सिलसिलामा र अदालतको विचाराधीन विषयमा कुनै टिप्पणी गर्न नहुने कुरामा पंक्तिकार सचेत छ। ती व्यक्ति र घटना सम्बन्धमा यहाँ कुनै चर्चा हुने छैन। तर, यही घटनाले मैले अनुसन्धान गरेको एउटा कहालिलाग्दो बलात्कारको घटनाको स्मरण गराएको छ। ती व्यक्तिलाई जिल्ला अदालत रौतहटका न्यायाधीश प्रकाश श्रेष्ठको इजलासले २०७५ जेठ ५ गते ५२ वर्ष कैद सजाय सुनाएको छ। एउटै व्यक्तिलाई एउटै मुद्दामा ५२ वर्ष कैद सजाय गरिएको यो सम्भवतः पहिलो घटना हो। अदालतले किटान गरिसकेको अपराधी र इतिहासमा हराइसकेका प्यारा, निर्दोष र कलिला मुनाउपरको अपराधमा ‘शिक्षा र सूचनाको प्रयोजन’ले खुल्ला चर्चा गर्न हच्कन परेन। २०७३ सालको साउन १० गरेको राति रौतहट जिल्लाको तत्कालीन गरूडा नगरपालिका–५ शिवनगर बस्ने बिगु भन्ने मगनी महराकी चार वर्षीया छोरी बबिताकुमारी राम हराइन्। आमाको छातीको न्यानोमा सुतेकी बालिका कहाँ गइन्? आमालाई नै थाहा भएन। आफूसँगै सुतेकी बालिका हराएको कुरा राति करिब १ बजे मात्र आमाले थाहा पाइन्। गायब भएकी बालिकाको खोजतलासमा मध्यरातदेखि नै प्रहरी र स्थानीय सबै जुटे। भेउ पाउन सकिएन। भोलिपल्ट दिउँसो करिब ४ बजे पीडितको घर नजिकै भएर बग्ने नहरको केही दुरीमा बालिकाको लाश फेला पर्यो। पानीमा बग्दै गरेको लाश सहायक कुलोको मुखमा रहेको अवरोधमा अड्किएर रोकिएको थियो। मुखपेट फुलेर ठूलो भएको थियो। हात खुट्टा लल्याक–लुलुक थिए। अबोध बालिका कसरी नहरमा? अनुसन्धान गर्नुपर्ने विषय थियो। जब लाशको पोष्टमार्टम भयो त्योभन्दा धेरै ठूलो अनुसन्धान गर्नुपर्ने कुरा आयो। ती बालिकाउपर जबरजस्ती करणी भएको रहेछ। त्यति मात्र होइन, उनका दुबै कुम, कुहिनो, हातका पञ्जालगायत सबै जोर्नीहरू भाँचिएका रहेछन्। आफैं पुगेर पीडित आमासँग सोधपुछ गरेँ। घटनास्थल हेरेँ। पोष्टमार्टम गर्ने डाक्टरसँग बुझेँ। अनुसन्धानमा स्पष्ट खुल्यो, ती कलिली मुनालाई थकित र मस्त निद्राकी आमाको काखैबाट कसैले उठाएर लग्यो। जबरजस्ती करणी गर्यो। हातखुट्टा भाँचेर जिउँदै नहरमा फाल्यो। सम्बद्ध सबै कोण, व्यक्ति, अवस्थिति र अनुमानबाट अनुसन्धान गरियो। विभिन्न आपराधिक पुरूष र युवाकेन्द्रित अनुसन्धान बढ्दै गयो। त्यही महिनाको २७ गते दिउँसो अर्को घटना घट्यो। रौतहट जिल्लाकै तत्कालीन मर्यादपुर गाविस १ को लालबकैया नदी किनारामा केही दिन भइसकेको ५/६ वर्षकी बालिकाको लाश फेला पर्यो। जंगली जनावरले मासु खाएको अवस्थाको लाश पोष्टमार्टम हुन सक्ने अवस्थामा रहेनछ। महत्वपूर्ण कुरा सो बेवारिसे बालिकाको लाशको पनि कुम, कुहिनो, हातका पञ्जालगायत सबै जोर्नीहरू जबरजस्ती भाँचिएका थिए। पोष्टमार्टम हुन नसकेकोले जबरजस्ती करणी भए–नभएको खुल्न सकेन। यो घटनामा पनि पूर्वअपराधका ‘मोडस अपरेण्डी’ देखिएकोले एउटै हत्यारा हुनुपर्ने विश्वास भयो। यस्तै, २०७३ साल भदौ १० गते पुनः अर्को घटना भयो। हाल मौलापुर नगरपालिका (साबिकः रौतहट, मर्यादपुर गाविस १) निवासी हिरामन मुखियाकी ६ वर्षीया छोरी शिलाकुमारी मुखिया आफ्नै घरको बिछ्यौनाबाट गायब भइन्। गरूडा नगरपालिका ५ शिवनगरमा जे भएको थियो, सोही तरिकाले ती बालिकालाई हजुरआमाको काखबाट कसैले उठाएर लग्यो। यसपटकको घर चाहिँ गरूडाको भन्दा अलि सम्पन्न परेको रहेछ। किनकि, बालिकाको घरमा एक नयाँ साइकल थियो। चाबी नलगाएको सो साइकल पनि अपराधीले लगेछ। अब बालिका उपर हुने डरलाग्दो अपराध र पानीको स्रोतनजिक लाश फेला पर्ने परिस्थिति लगभग अनुमान भयो। सम्भावित घटना हुन नदिन यथासम्भव प्रयास भयो। भएभरका स्थानीय प्रहरी, सहयोगी युवा र पीडितका नातेदारहरू सघन रुपमा परिचालन गरियो। प्रहरी, स्थानीय युवा पीडितका नातेदारको अलग्गै र संयुक्त टोलीले व्यापक खोजतलास गर्यो। बालिका हराएको घरबाट बहाब भएको पानीको स्रोततर्फ पैदल, साइकल, मोटरसाइकल र गाडीबाट खोजतलास भइरह्यो। सोही स्थानको बाटोको छेउछाउका एकान्त स्थानमा विशेष निगगरानी भयो। यसपटक साइकल पनि हराएकोले मुलतः साइकल चढेर हिँड्दै गरेको जोसुकैलाई पनि समात्ने काम भयो। तत्काल विभिन्न ६–७ स्थानमा मानिस मात्रै र तीन स्थानमा साइकलसहितका मानिस फेला परे। त्यसमध्ये रौतहट जिल्लाको दक्षिण पश्चिमछेउको सिमाना बारा जिल्लाको कचोर्बानजिकै साइकलसहित फेला परेको एक जना ‘लठेब्रो’जस्तो मानिस शंकास्पद भेटियो। सहजै अपराधीको अनुमान हुन नसक्ने ‘लठेब्रो’ कहाँबाट आएको र कहाँ जाने बताउनै सकेन। मुख्य कुरा साइकल कसको हो भन्नेर सोध्दा ऊ चुप रह्यो। फेला परेको साइकल पीडितका परिवारबाट सनाखत गराउँदा ती बालिका हराएकै घरको खुल्न आयो। पछि उक्त साइकलको नम्बर र खरिद गर्दाको बिल हेर्दा सोही कुरा खुल्यो। दिउँसो घटनास्थलको वरपर देखिएको उक्त मानिसले बालिका लगेको अनुमान सामान्यतः कसैले गर्ने सक्तैनथे। सबुत प्रमाणसहित फेला परेपछि पनि सुरूमा अनेक बहाना गरेको उक्त ‘अर्धपागल’ स्पष्ट सबुत प्रमाण देखिएपछि अन्ततः सबै कुरा बताउन राजी भयो। बालिकालाई घरबाट उठाएर हिँडेको अपराधीले कुकर्म गरेको ठाउँ पनि देखायो, जहाँ रगत लतपतिएको र मडारिएको थियो। अपराध र अपराधीका सबै पाटाहरू खुले। अपराधीले दिएको सूचना बमोजिम नै जबरजस्ती गरेपश्चात बालिकालाई जिउँदै फालेको स्थानबाट करिब पाँच किलोमिटर दक्षिण तत्कालीन रौतहट इनरवा गाविस १ हनुमान मन्दिरनजिकै लालबकैया बाँध नजिकैबाट बालिकाको लाश बरामद गरियो। लाशको अवस्था उस्तै थियो। जबरजस्ती करणी भएको र हातका जोर्नीहरू सबै भाँचिएका थिए। बृहत् अनुसन्धानबाट खुल्न आएअनुसार रौतहटको तत्कालीन कटहरिया नगरपालिका १ हर्षाहाका ३० वर्षीय बालकिशोर चौरसिया सुरूदेखि नै एकोहोरो र आपराधिक मनोवृत्ति रहेको व्यक्ति रहेछ। मुलतः मौका मिल्नासाथ चोरी गर्ने बालकिशोरलाई २०७१ साल पुस २३ गते १७ वटा चोरीको साइकलसहित पक्राउ गरी प्रहरीले मुद्दा चलाएको रहेछ। जिल्ला अदालत रौतहटबाट कैद सजाय भएछ। गौर कारागारमा डेढ वर्ष सजाय भुक्तान गरी २०७३ जेठमा रिहा भएपश्चात पनि नसुध्रिएकोले उसलाई घर परिवारले मतलब नगरेको र घरसँग कुनै सम्बन्धमा नभएको रहेछ। जेलबाट रिहा भएलगत्तै गाउँमा गएका चौरसिया महिला देखेमा तिनीहरूको पछिपछि लाग्दो रहेछ। बिहानै मैदान बस्न (दिसा गर्न) जाने तराईको प्रचलन अनुरूप महिलाहरू दिसा बस्न गएको अवस्थामा ऊ पनि नजिकै जाँदो रहेछ। केही महिलाले उसको सातो खाएका पनि रहेछन्। जहाँ जे पायो त्यही खाने र सुत्ने। ऊ सहज निशाना खोज्ने क्रममा दिनभर स्थानीय क्षेत्रमा डुलिरहने। एकान्तको घर, गरिब परिवार, दिनभर परिश्रमले थकित हुने अभिभावक, पुरूषको अनुपस्थिति केलाउँदो रहेछ। साना बालिका भएको घरमा बाहिरै सुत्ने प्रचलन भएको वा कमजोर ढोका वा भित्र–बाहिर गर्न सहज स्थान हेर्दो रहेछ। दिनभरको परिश्रमले थकित आमा वा हजुरआमासँगै सुत्ने बच्चीलाई निशाना बनाई निद्रामै उठाएर लैजाने योजना र तयारी गर्दो रहेछ। टार्गेट छानिसकेपछि करिब रातको ११–१२ बजेतिर बालिका सुतेको घरमा गई निगरानी गर्दो रहेछ। सबैतर्फ सुरक्षित भएपछि अभिभावकसँग सुतिरहेको बालिकालाई थाहै नदिई निद्रामै उठाई काँधमा राखी बाहिर आउने रहेछ। निदाएकै अवस्थामा काखमै राखी एकान्तमा लैजाने रहेछ। जबरजस्ती गर्ने क्रममा बालिकाको मुखमा कपडा कोच्ने र हातका जोर्नीहरू भाँच्ने, उखेल्ने गर्दो रहेछ। ‘काम सकेपछि’ बालिकालाई जिउँदै सबैभन्दा नजिकको पानीको बहाब भएको स्थानमा फाल्ने गर्दो रहेछ। नदी, नहर जेसुकै होस्। नरपिचासलाई समातेकोमा सन्तुष्टिको सीमा नै थिएन। अपराधीले तीन बालिकालाई आफैंले अपहरण गरेको र जबरजस्ती गरी मारेको कुरा प्रहरीको बयानमा स्वीकार्यो। यही कुरा अदालतमा पनि स्वीकार्यो। उसलाई चार वर्षीया बबिताकुमारी रामउपरको अपराधमा अदालतले अपहरण तथा शरीर बन्धक मुदामा १७ वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना, जबरजस्ती करणी मुदामा १५ वर्ष कैद तथा कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित २० वर्ष कैद गरी ५२ वर्ष जेल सजाय सुनायो। अरू दुई वटा मुद्दा सायद अदालतमा विचाराधीन छन्। जेठको अन्त्यमा जेलबाट छुटेको मानिसले साउनको सुरूबाट ‘रेपिष्ट’ र ‘किलर’ बनेर एउटा ‘सिरियल’ नै चलायो। साइकल चोरेको कारणबाट उसलाई तेस्रो पटकमा समात्न सफल भइयो। अन्यथा त्यो ‘सिरियल’ अझै लामो जाने थियो। अरू अबोध बालिकाउपर पनि सोच्नै नसकिने हुने थियो। हेर्दा अनुमानै गर्न नसकिने मानिस छ ऊ। यस प्रकारका अपराध र अपराधमा संलग्न ‘लुनाटिक’ मानिसको चर्चा हुँदा त्यो अपराधीलाई झल्झली सम्झिन्छु। त्यो मानिस किन यतिधेरै आपराधिक? भेटिएका धेरै अपराध विशेषज्ञ र आपराधिक मनोविज्ञानविदलाई सोध्ने गर्दथें। जवाफ आउँथ्यो– कतिपय मानसिक रूपमा विछिप्त व्यक्तिहरू आफूलाई अरू कसैले गरेको अनादर र दुर्व्यवहारको बदला लिन पनि आफूभन्दा कमजोरमाथि अपराध गर्दछन्। एक पटक सफल भएपछि बानी पर्छ। त्यसमाथि प्रकृतिप्रदत्त यौनइच्छा सबैमा हुन्छ नै। फरक क्षमताका व्यक्तिहरूमा पनि। विकृत दिमागले उनीहरू उचित, अनुचित छुट्याउन सक्तैनन्। अरूले थाहा पाउँदैनन् र आफूलाई भौतिक आक्रमण हुँदैन भन्ने विश्वासमा जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन्। यसलाई विभिन्न हलिउड फिल्ममा सचित्र उतारिएको छ। अब ‘लठेब्रो’ बालकिशोर चौरसियामाथि बाँकी दुई मुद्दामा हुने सजाय जोड्दा कमसेकम एक सय वर्ष जेल अवश्य हुनेछ। विगतमा ‘लठेब्रो’ वा एक हिसाबले मानसिक सन्तुलन गुमाएको व्यक्तिबाट यस्ता अपराध हुन्छन् भन्ने कल्पनै नगरेको म त्यो व्यक्तिलाई सजाय दिलाउँदा अत्यन्त सन्तुष्ट भएको थिएँ र छु। सायद, यस्तो व्यक्ति र अपराधको कुनै सीमा हुँदैन।
National/Online Media

0 Comments

Related Reports
Related Trend Analysis