Incident Reports

सप्तरीमा वृद्ध दम्पतिको विभत्स हत्या

2019-02-26

Madhes, Saptari, Khadak, Ward 5

सप्तरीमा एकपछि अर्काे हत्याका घटना भइरहेका छन्। यसै क्रममा मंगलबार बिहान जिल्लाको खड्क नगरपालिका–५, खरचुहिया बजारमा एक दम्पति हत्या गरिएको अवस्थामा फेला परेका छन्। स्थानीय ७० वर्षीय सबुरी साह र उनकी पत्नी ६५ वर्षीया बेचनी साह आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएका हुन्। असोजयता सप्तरीमा भएको यो चौथो हत्या घटना हो।

घरमा आगो लागेको तथा शवहरू पनि डढेको अवस्थामा फेला परेपछि सुरुमा आगलागीमा परी साह दम्पतिको मृत्यु भएको अनुमान गरेको थियो। तर अनुसन्धान गर्दै जाँदा कसैले उनीहरूको हत्या गरेको निश्कर्षमा प्रहरी पुगेको हो। दुवैको हत्या गरी शवलाई कपडाले बेरेर आगो लगाई हत्याराहरू फरार भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको सप्तरीका प्रहरी प्रमुख– एसपी राजेन्द्र विष्टले बताए।

बिहान ८ बजे साहको घरमा नियमित दूध दिन आउने व्यक्तिले ढोका ढकढक्याउँदा नखुलेपछि झ्यालबाट हेर्दा धुवाँ आइरहेको देखेपछि स्थानीय भेला भएका थिए। त्यसपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगोले दुवै शव अधिकांश जलेको अवस्थामा फेला परेको एसपी विष्टले बताए। यो समाचार तयार पार्दासम्म घटनास्थलबाट शव उठाइएको छैन। कुकुरसहित प्रहरीको फोरेन्सिक टिम घटनाको बृहत् अनुसन्धानमा जुटेको उनले जानकारी दिए।

‘फोरेन्सिक टिमले घटनाको प्रारम्भिक मुचुल्का उठाएको छ,’ एसपी विष्टले भने, ‘पूर्वक्षेत्रीय प्रहरी आवासीय माध्यमिक विद्यालय (धरान)बाट तालिमप्राप्त कुकुरसमेत ल्याई टोली घटनाको थप अनुसन्धानमा जुटेको छ।’ सादा पोसाकमा खटिएका प्रहरीहरू अहिले घटनास्थलमा स्थानीयहरूसँग सोधपुछ गर्दै घटना अनुसन्धानमा जुटेको उनले जानकारी दिए। एसपी विष्टले भने, ‘सबै एंगलबाट हामीले अनुसन्धान गरिरहेका छौं, जसरी पनि हत्यारा पत्ता लगाउने प्रयास भइरहेको छ।’ घटनास्थलमा रगतका छिटासमेत देखिएको प्रहरीले जनाएको छ।

घरमा वृृद्ध साह दम्पति मात्रै बस्ने गरेका थिए। उनीहरूका दुई छोरा छन्। दुवै इन्जिनियर छन्। यसकारण उनीहरू आफ्नो कामको सिलसिलामा जिल्ला बाहिरै बस्ने गरेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार एक छोरा सत्यनारायण साह उदयपुरको गाईघाटमा कार्यरत छन् भने अर्का तेजुलाल साह धरानमा कार्यरत छन्। आर्थिक रूपले सम्पन्न साह परिवारले गाउँघरमा ब्याजमा पैसा लगाउने गरेको थियो। सोही लेनेदन तथा ब्याजका विषयमा विवाद हुँदा साह दम्पतिको हत्या भएको हुनसक्ने अुनमान स्थानीयले गरेका छन्।

लागुऔषध तथा तस्करी नियन्त्रणमा सप्तरी प्रहरीले उल्लेख्य सफलता हासिल गरे पनि पछिल्लो समय जिल्लामा एकपछि अर्को हत्या हिंसाका घटना हुन थालेपछि सर्वसाधारण त्रसित भएका छन्।

गत कात्तिक १ गते राति सप्तरी जिल्ला प्रहरी कार्यालय छेउमै रहेको घरमा एकल महिलाको विभत्स हत्या भएको थियो। प्रहरी कार्यालयको दक्षिणतर्फ पर्खालसँगै टाँसिएर रहेको घरमा ५० वर्षीया आशा देवको हत्या भएको हो। इँटाले हानेर हत्या गरिएको उनको टाउकामा ६ इन्च लामो र ४ इन्च गहिरो चोट लागेको अवस्थामा भोलिपल्ट कात्तिक २ गते बिहान उनको शव प्रहरीले फेला पारेको थियो।

यस्तै गत असोज २४ गते सदरमुकाम राजविराजमै १२÷१३ जनाको समूहले धारिलो हतियारले हानेर एक युवकको हत्या गरेको थियो। राजविराज नगरपालिका–१ निवासी नेकपाका नेता भन्नालाय यादवका २१ वर्षीय छोरा प्रेमकुमार यादवको यसरी हत्या भएको हो।

त्यस्तै गत पुस १ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पाले २५ वर्षीय परशुराम मिश्रलाई लागूऔषध प्रयोगकर्ता युवाको समूहले कुटपिट गरी हत्या गरेको थियो।



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Fire
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
National/Online Media , Local Newspaper - Saptari , Local Newspaper - Morang

0 Comments

Related Reports