Incident Reports

आचारसंहिता विपरीत चुनाव प्रचारमा बालबालिकाको प्रयोग l

2013-11-02

Shiva Prasad Dhungana ओखलढुङ्गा । ०७० कात्तिक १६ गते, चुनावी प्रचारमा राष्ट्रिय स्वाभिमान पार्टीले बालबालिका प्रयोग गरेर आचारसंहिता उल्लङ्न गरेको पाइएको छ । चुनावको पर्चा वितरण तथा मत माग्ने काममा कात्तिक १६ गते शनिवारे बजारमा दिनभरि राष्ट्रिय स्वाभिमान पार्टीले बालबालिका प्रयोग गरेको हो । आचारसंहिता र निर्देशिका विपरीत बालबालिका चुनावमा प्रयोग गर्दा पनि सरोकारबाला मौन बसेका छन् । यस अघि चुनावी प्रचार कार्यक्रममा कात्तिक ११ गते एमाओवादीले बालबालिकाहरूलाई जुलुसमा झण्डा बोकाएर प्रयोग गरेको थियो । चुनावमा बालबालिकालाई रमाइलो र ठट्टाका रुपमा प्रयोग गरिएको छ । संविधानविधानसभा निर्वाचन ०७० को परिच्छेद १ को दफा ३२ मा बालबालिकालाई जुलुस, र्‍याली, आभसभा, बैठक, भेलामा सहभागी गराउन तथा निर्वाचन प्रचारप्रसार निर्वाचनसँग सम्बन्धित कुनै पनि काम वा गतिविधिमा प्रयोग गर्न, गराउन नहुने उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय बालकल्याण समितिले जारी निर्वाचन सन्दर्भमा जारी गरेको निर्देशिका ०७० को परिच्छेद एकको दफा एकको विभिन्न उपदफामा चुनावको कुनै पनि काम बालबालिकालाई प्रयोग गर्न नपाइने उल्लेख गरेको छ । प्रचारप्रसारदेखि श्रमक, चन्दा र सांस्कृतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । बालबालिकालाई प्रयोग गरेकोबारे उजुरी नपर्दा कारबाही नभएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत बासुदेव गजुरेलले बताए । यसैबीच, निर्वाचनमा बालबालिका प्रयोग भए नभएको अनुगमन गर्न जिल्ला बालकल्याणले सात सदस्यीय अनुगमन समिति गठन गरिएको छ । समितिमा इन्सेक प्रतिनिधी, नागरिक समाज, सञ्चारकर्मी सदस्य रहेका छन् । समितिले निर्वाचन अघि, निर्वाचनका दिन र निर्वाचनपछि पनि समितिले अनुगमन गर्ने जिल्ला बाल कल्याण समितिका बाब अधिकार अधिकृत झम्केश्वर ओझले बताए । शिवप्रसाद ढुंगाना

0 Comments