Incident Reports

प्रहरीद्वारा भूमिगत समूहका नाइके भगतसिंह सार्वजनिक l

2013-11-30

Lumbini, Banke, Rapti Sonari

Binod Pandey तराईमा सक्रिय रहेको सशस्त्र भुमिगत समूह जनतान्त्रिक तराई मधेस मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष भगत सिंह भनिने अर्जुनसिंह सरदारलाई मङ्सिर १५ गते प्रहरीलले भेरी अञ्चल प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रकाश मल्लको कमाण्डमा भेरी अञ्चल प्रहरी कार्यालय र बाँके प्रहरी टोलीले सिंहलाई मङ्सिर १४ गते नेपाल-भारत सीमास्थित रुपैडिया क्षेत्रमा रहेको घरबाट गिरफ्तार गरेको हो । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका डिआइजी राजेन्द्रसिंह भण्डारीले डेढ वर्षअघि युद्धविराम गरेर सरकारसँग वार्ता गरे पनि गत असोज ११ गते वार्ता भङ्ग भएको घोषणा गरेर सशस्त्र गतिविधि सञ्चालन गरिरहेको सूचनाको आधारमा भगत सिंहलाई गिरफ्तार गरिएको बताए । भगत सिंह माथि हत्या, अपहरण, बम विष्फोट लगायतका करिब २० ओटा मुद्दा रहेको पत्रकार सम्मेलनमा डिआइजी भण्डारीले बताए । डिआइजी भण्डारीले शान्ति वार्तापछि सरकारले मुद्दा फिर्ता लिने अवस्था नदेखेपछि विचलित भएर आपराधिक घटनाका लागि आफ्नो समूहलाई सक्रिय पार्न खोजेको बताए । सिंहलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल, अपहरण तथा शरीर बन्धक लिने महल र हातहतियार खरखजाना तथा बिष्फोटक पदार्थ सम्बन्धि ऐन अनुसार कारबाही हुने भेरी अञ्चल प्रहरी कार्यालयका एसएसपी मधुप्रसाद पुडासैनीले बताए । भगतसिंह गिरफ्तार परेपछि क्षेत्रीय प्रहरी कार्यालयले विशेष अनुसन्धान टोली गठन गरेको जनाएको छ । सार्वजनिक कार्यक्रममा सिंहले कुनै पनि खाले हत्या हिंसाबाट मधेसको मुक्ति सम्भव नभएको भन्दै हिमाली, पहाडी र मधेसी सबै नेपाली मिलेर बस्नुपर्ने बताएका थिए । उनले विगतमा भएका घटनाको आत्मालोचन गर्दै सरकारसँग वार्तामा आइसकेको भन्दै मुद्दा फिर्ता लिन र गिरफ्तार परेका कार्यकर्ताहरू रिहाईको माग गरेका छन् । यसैबीच, सिंहका परिवारले भने उनको पार्टी शान्ति प्रक्रियामा आइसकेका उनको जीवनरक्षाका लागि भन्दै मङ्सिर १५ गते इन्सेक लगायत मानवअधिकारवादी सङ्घ संस्थामा निवेदन दिएका छन् । सिंह समूहले हतियार बुझाए पनि उनी विरुद्धका सरकारले मुद्दा फिर्ता गरेको छैन । यस अघि वार्ता मार्फत आफू र जेलमा रहेका कार्यकर्ताको मुद्दा फिर्ता गरी संविधानसभा निर्वाचनमा भाग लिने वातावरण बनाउन माग गर्दै जिल्ला प्रशासन अगाडि धर्ना समेत दिएका थिए । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis