Incident Reports

दोषीलाई कानुनी कारबाहीको माग गर्दै प्रहरी कार्यालय घेराउ l

2013-12-05

Lumbini, Rupandehi, Tillotama

Amrit Giri लागुऔषधको कुलत छुटाउन सुधार गृहमा पठाइएका व्यक्तिको कुटपिटबाट मृत्यु भएपछि परिवारले दोषीलाई कानुनी कारबाहीको माग गरेका छन् । करहिया गाविस-८ का २३ वर्षीय एकराज शर्मा पौडेलका परिवारले घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै मङ्सिर २० गते प्रहरी कार्यालय घेराउ गर्नुका साथै धर्ना दिएका थिए । पौडेललाई लागु औषधको कुलत छुटाउने भन्दै केरवानी गाविस-८ सिंघा भन्ने स्थानमा रहेको देबदह फेलोसिप फाउण्डे्सन नामको सुधार गृहमा राखिएको थियो । पौडेलको १९ गते बिहान संस्थाका कर्मचारी रिह्याब इन्चार्ज सन्दीप श्रेष्ठको कुटाईका कारण ज्यान गएको आरोपमा मृतकका परिवारले सोही दिन इलाका प्रहरी कार्यालय बुटवलमा किटानी जाहेरी दिएका थिए । केन्द्रका कर्मचारीले भने कक्षा लिने क्रममा बेहोस भएकाले शर्मालाई अस्पतालमा भर्ना गरिएको दाबी गरेका थिए । उनीहरुले अस्पतालबाट आफन्तलाई फोनमा खबर गरेका थिए । खबर गरेर फरार भएका सुधार गृहका सञ्चालकहरुलाई स्थानीय र प्रहरीले केहीबेरमै नियन्त्रणमा लिएका थिए । कुटपिटमा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही थाल्न दवाव दिँदै २० गते मृतकका आफन्त तथा स्थानीय बासिन्दाले इप्रका बुटवलमा घेराउ गर्दै दबाब दिए । उनीहरुले न्यायका लागि पहल गरिदिन मानवअधिकारवादीहरुलाई पनि आग्रह गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), रुपन्देही, जवाफदेहीता निगरानी समिति रुपन्देहीलगायतका संस्थाका प्रतिनिधिलाई भेटेर न्यायका लागि पहल गरिदिन आग्रह गरेका हुन् । सुधार केन्द्रका कर्मचारीको कुटपिटबाट छोराको मृत्यु भएको भन्दै बाबु थानेश्वर पौडेलले कर्मचारी सन्दीप श्रेष्ठ, विशाल क्षेत्री, अमृत अर्याललगायतका केन्द्रका पाँच जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता गराएको बताए । घटनामा संलग्नलाई कारबाही र क्षतीपूर्ति नहुँदासम्म शव नबुझ्ने अडानमा रहेका आफन्तहरु सहमतिपछि बेलुका शव बुझेका थिए । शव लुम्बिनी अञ्चल अस्पताल पोष्मार्टमपछि आफन्तलाई बुझाइएको हो । यसैबीच, इलाका प्रहरी कार्यालय बुटवलले घटनामा संलग्नहरुलाई पक्राउ गरी छानबिन सुरु गरिएको बताएको छ । कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले घटनामा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको र अन्य दुई जनाको खोजी भइरहेको बताए । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis