Incident Reports

प्रहरीद्वारा बालकलाई कुटपिट l

2013-12-23

Gandaki, Kaski, Pokhara Lekhnath

पोखरा उमनपा-१८ छिनेडाँडास्थित प्रगति टोलका १२ वर्षीय सुजन नेपालीलाई वडा प्रहरी कार्यालय रामबजारका प्रहरीले कुटपिट र यातना दिएको घटना पुस ८ गते सार्वजनिक भएको छ । सोही ठाउँस्थित शिवालयटोलमा आगो तापेर बसेका पाँच जना बालक मध्ये सुजनलाई प्रहरीले पुस ५ गते राति गिरफ्तार गरी कुटपिट तथा यातना दिएको पीडितकी आमा अश्मि नेपालीले बताइन् । बालकमाथि प्रहरीले ज्यादति गरेको र मानसिक समस्या देखिएको उनले बताइन् । निर्दोष बालकमाथि चरम यातना दिनेलाई कारबाही हुनुपर्नेमा उनले जोड दिइन् । आगो तापेर बसेका बालकहरू प्रहरीको गाडी देख्ने वित्तिकै भागेको र प्रहरीले नियन्त्रणमा लिने क्रममा कान, घाँटी, तीघ्रामा कुटपिट गरेको पीडित बालकले बताए । प्रहरी विना अभियोगमा बालकलाई नियन्त्रणमा लिई चौकीमा एकरात राखेर कुटपिट गरी पुस ६ गते दिउँसो रिहा गरेको बालक हजुरबुवा बलराम विकले बताए । उनले बाकलले कुनै अपराध नगर्दा प्रहरीबाट ज्यादति भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरे । कुटपिटबाट घाइते बालकको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भयो । उनको दायाँ खुट्टाको फिला, तीघ्रा तथा दाया गाला, कान र घाँटीमा निलडाम देखिएको इन्सेकको नेतृत्वमा पुस ८ गते भएको अनुगमनका क्रममा पाइयो । घटनापछि बालकमा मानसिक असर परेको हुनसक्ने पत्रकार श्याम कुँवरले बताए । वडा प्रहरी कार्यालय रामबजारका निरीक्षक रविन्द्र गुरुङले महिला र बालबालिकाका घटनाप्रति संवेदनशील भएको जनाउँदै रातको समयमा आगो तापेर बसेका बालकहरू प्रहरी देखेर भागेका र प्रहरीले नियन्त्रणमा लिन खोज्दा सामन्य बल प्रयोग भएको तर कुटपिट नगरिएको बताए । उनले घटनाको अनुसन्धान भइरहेको र दोषी देखिएमा घटनामा संलग्न प्रहरी जवानलाई कारबाही गरिने बताए ।

0 Comments

Related Reports
Related Trend Analysis