Incident Reports

बाबुसँग रिस उठेपछि प्रधानाध्यापकले छोरालाई स्कुलबाट निकालिन्

2020-02-25

Gandaki, Baglung, Dhorpatan, Ward 4

बागलुङको एक विद्यालयका प्रधानाध्यापकले अभिभावकसँगकाे मनमुटावका कारण स्कुलबाट विद्यार्थी निष्कासित गरेकी छन्।

ढोरपाटन नगरपालिका– ४ धिरीस्थित श्री धिरी आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्ने विद्यार्थी जगन छन्त्याल स्कुलका प्रअ र अभिभावकबीचको झगडाका कारण ६ महिनादेखि विद्यालय जानबाट वञ्चित भएका छन्।

विद्यालयकी प्रधानाध्यापक मनदेवी बुढाथोकीले १४ वर्षीय बालक जगनलाई विद्यालयमा अनुशासनहीन काम गरेको आरोपमा गत असोज १ गते विद्यालयबाट निस्कासित गरेकी हुन्। त्यसयता अभिभावको पटक पटकको आग्रह, ढोरपाटन नगरपालिका र जिल्ला शिक्षा समन्वय शाखा बागलुङको निर्देशन अवज्ञा गर्दैै प्रअ बुढाथोकीले बालकलाई विद्यालय आउन दिएकी छैनन्। उनले राष्ट्रिय मानवअधिकार आयोगको स्पष्टीकरण पत्रलाई समेत बेवास्ता गरेकी छन्।

विद्यार्थीका बुबा इन्द्रमान छन्त्यालले बारम्बार बच्चालाई विद्यालय पठाएपनि प्रधानाध्यापक बुढाथोकीले कक्षामा बस्न नदिएको गुनासो गरे। उनले प्रअ र वडाअध्यक्ष तिलक पुनसँग आफ्नो सामान्य मनमुटाव रहेका कारण विद्यार्थीमाथि अन्याय गरिएको दु:खेसो पोखे। प्रअ बुढाथोकी वडाअध्यक्ष पुनकी पत्नी हुन्।

बच्चाले लामो कपाल पालेको र काँटा लगाएको आरोपमा ६ महिनादेखि विद्यालयबाट निस्कासित गरिएको छन्त्यालले बताए। उनले भने, ‘न स्कुलले बच्चा पढाउँछ, न सर्टिफिकेट दिन्छ। सामान्य निहुँमा बच्चाको भविष्य बर्बाद पार्न खोजियो।’

उनले बच्चालाई जीआई पाइपले कुटिएको दाबीसमेत गरे। कुटपिटबाट बच्चाको खुट्टामा निलडाम लागेको उनको भनाइ छ।

प्रअ बुढाथोकीले भने विद्यालयबाट बच्चालाई निष्कासित नगरिएको दाबी गरिन्। बच्चाले अनुशासनहीन काम गरेकाले सम्झाइबुझाई गरेको तर बच्चा आफैँ विद्यालय नआएको उनले बताइन्। उनले बच्चामाथि कुटपिटसमेत नगरिएको बताइन्।

प्रधानअध्यापक बुढाथाेकीले भनिन्, ‘बच्चा अराजक खालको हो। उसले लामो लामो कपाल पाल्ने, काँटा लगाउने, शिक्षकसँग दुर्व्यवहार गर्ने गरेकाले हामीले सम्झाइ बुझाइ गरेर पठाएका हौँ। अभिभावकलाई बोलाएर सम्झाउन भनेका हौँ तर अभिभावक नै विद्यालयमा आएनन्।’

प्रधानाध्यापकले विद्यार्थीलाई कक्षामा छिर्न नदिएपछि बालकका अभिभावकले मानवअधिकार आयोग गुहारेका छन्। मानव अधिकार आयेगलेसमेत यसबारे प्रअलाई पत्र पठाएकाे छ।

विद्यालयको समस्या समाधान गर्न ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले समेत पहल गरेका थिए। तर, बारम्बार सम्झाउँदा पनि प्रअले अटेर गरेको मेयर नेपालीले बताए। नेपालखबरसँग मेयर नेपालीले भने, ‘बच्चाले सामान्य कमजोरी गर्न सक्छ। तर, त्यसैलाई आधार बनाएर विद्यार्थी ‘निष्कासित’ गर्नु र विद्यालयमा आउनै नदिनु सरासर प्रअको अन्याय हो।’

उनले विद्यालयमा आफैँ पुगेर प्रअ बुढाथोकीलाई सम्झाउने प्रयास गरेपनि अटेर गरेको बताए। मेयर नेपालीले नगरपालिकाले प्रअलाई स्पष्टीकरण सोधिसकेको बताउँदै विद्यार्थीलाई तत्काल पढ्ने व्यवस्था नमिलाए थप कारबाही गर्ने प्रतिबद्धता जनाए।

यता, जिल्ला शिक्षा समन्वय इकाइ बागलुङले पनि प्रअ बुढाथोकीलाई स्पष्टीकरण सोधेको छ। समन्वय इकाइ प्रमुख कुश्माराज उपाध्यायले आफू विद्यालयमै गएर बच्चालाई स्कुलमा आउन नदिनुको कारण सोधेको नेपालखबरलाई बताए। ‘म आफैँ गएर प्रअलाई यसबारे स्पष्टीकरण सोधेको छु। बच्चालाई स्कुलमा ल्याउन के कति पहल गर्नुभयो भनेर सोधेँ। तर उहाँले कुनै पहल गरेको देखिएन,’ उनले भने।

शिक्षा प्रमुख उपाध्यायले प्रअ बुढाथोकीलाई स्पष्टीकरणले मात्रै नपुग्ने भएकाले थप कारबाही गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘प्रअलाई कारबाही गर्नेबारे नियम, विधिमा के छ, त्यो हामी हेर्दैछौं। प्रअ बुढाथोकीलाई अब थप कारबाही गर्छौं।’

वडाअध्यक्ष तिलक पुनसँगको सम्बन्ध र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थगामीले साथ दिएकाले प्रअ बुढाथोकीले आयोग तथा शिक्षा शाखालाई समेत अटेर गरेकी हुन्। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थगामीले पनि प्रअ बुढाथोकीले जस्तै बच्चालाई स्कुलबाट निष्कासित नगरेको दाबी गरे।

बच्चाको आमा र हजुरआमा विद्यालयमै गएर बच्चा ननिकाल्न आग्रह गरेका थिए। तर, प्रअ र अध्यक्षले टेरेनन्। उनीहरुले बच्चाको बुबा र काका नै स्कुलमा आएर माफी माग्नुपर्ने अड्डी कसेका छन्।

एक स्थानीयका अनुसार वडाअध्यक्ष पुन, प्रअ बुढाथोकी र व्यवस्थापन समितिका अध्यक्ष थगामीसँग बच्चाका बुबा इन्द्रमान र काकाकाे झगडा भएको थियो।

'बच्चालाई निष्कासन गरेर उनीहरुले अभिभावकलाई झुकाउन खोजेका हुन्,' ती स्थानीयले भने, 'अभिभावक र प्रअ र वडाअध्यक्षकाे चेपुवामा बालक परेका छन्।'

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Banishment/shunning
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
National/Online Media

0 Comments